म गलत गर्दिनँ, तपाईंहरु पनि गलत नगर्नुस् : सहरी मन्त्री मेटमणि चौधरी



काठमाडौं । सहरी विकास मन्त्री मेटमणि चौधरीले राजनीतिक दलहरुले मानसिकता बदल्न जरुरी भएको बताएका छन् ।

नेपाल नगरपालिका संघले आइतबार होटेल ¥याडिसनमा नव निर्वाचित नगर प्रमुख, उपप्रमुख एवं प्रशासकीय अधिकृतका लागि आयोजना गरेको अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्दै मन्त्री चौधरीले भने, ‘जनताले खासखास ठाउँहरुमा प्रमुख दलहरुलाई चुनौति दिएका छन् । यो राम्रो पनि हो । र अब पनि दलहरुले मानसिकता परिवर्तन नगर्ने हो भने भविष्य छैन । हामी अब सुध्रिन जरुरी छ । हाम्रा व्यवहारहरु सुध्रिनु जरुरी छ ।’

प्रशिक्षणात्मक मन्तव्य राख्दै मन्त्री चौधरीले मेयर उपमेयरहरुलाई भने, ‘तपाईँहरु जनताका घरघरसँग जोडिनुभएको छ । साँचो अर्थमा संघीयता कार्यान्वयन गर्ने ठाउँमा हुनुहुन्छ । अब पनि मेयर उपमेयर भएर जनतालाई थर्काउने, पुलिसलाई थर्काउने, काममा ढिलाई गर्ने र भ्रष्टाचारमा रम्ने हो भने जनताले सहदैनन् । तपाईँहरु दलका प्रतिनिधि हुनुहुन्छ । दलहरुको औचित्य पुष्टि गर्नुस् ।’

अहिले जनताको मानसिकता बदलिसकेकाले जनप्रतिनिधिबाट उनीहरुले धेरै आसा र अपेक्षा गरेको बताउँदै मन्त्री चौधरीले थपे, ‘म सुध्रिन्छु, तपाईँहरु पनि सुध्रिनुस् । म गलत गर्दिनँ, तपाईँहरु पनि गलत नगर्नुस् ।’

सहरी मन्त्री चौधरीले भौगोलिक, आर्थिक, सामाजिक एवं विविध कारणले पछाडि परेका नगरपालिकाहरुलाई समान ढंगले विकासको मार्गमा अघि बढाउन मन्त्रालय तयार रहेका बताए । हरेक नगर पालिकामा कम्तिमा ३ जना अर्बन प्लानरको व्यवस्था गरेर व्यवस्थित सहर बनाउने उनले आफ्नो योजना समेत सुनाए ।

अभिमुखिकरण कार्यक्रममा बागमती प्रदेशका नवनिर्वाचित मेयर, उपमेयर एवं प्रशासकीय अधिकृतहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्