बिनाहातहतियार एनएमबीको एटीएम फोडियो

प्राविधिक र सिस्टम बुझेको व्यक्ति हुनसक्ने अनुमान



पोखरा ।

पोखरामा पछिल्लो समय एकपछि अर्को एटीएम मेसिन फोड्ने घटना बढिरहेका छन् । पोखरामा यो एक हप्ता नबित्दै दोस्रो एटीएम चोरी भएको छ । त्यो पनि बिनाहातहतियार । पोखरा महानगरपालिका–२६ अर्घौंचोकमा रहेको एनएमबी बैंकको एटीएमलाई बिनाहातहतियार खोलेर त्यहाँ भएको नगद चोरी गरिएको छ ।

नेपाली सेनाको ब्यारेक र इलाका प्रहरी कार्यालय शिशुवा, हंसपुरको बीचमा रहेको अर्घौंचोकबाट एटीएम फोडेर रकम निकालिएको हो । यसअघि पोखरा–९ नयाँ बजारमा पनि एटीएम फोडेर चोरीको प्रयास भएको थियो । शुक्रबार मात्रै उक्त घटना घटेको थियो । घटना घटेको ६ दिनमा फेरि अर्को उस्तै घटना भएको हो । दुवै एटीएम रातको समयमा फोडिएको छ । लेखनाथमा भने एटीएमको लक सामान्य तरिकाले नै खोलेर रकम रहेको २ वटा बक्स निकालेर लगेको सीसीटीभी क्यामेरामा स्पष्ट देखिएको छ ।

रकम रहेको बाकस भने विचारी चौतारीमा भेटिएको छ । तर, रकम जति सबै लगिएको छ । उक्त एटीएममा बैंकले सोमबार दिउँसो मात्रै १७ लाख रुपियाँ राखेको र करिब १५ लाख हारहारीमा चोरी भएको हुन सक्ने अनुमान रहेको स्रोतको भनाइ छ । ‘सबै कुरा अनुसन्धानको पाटोमा रहेको छ । यति नै भनेर भन्न मिल्ने अवस्था छैन । एटीएमबाट कति रकम सेवाग्राहीले निकाले भन्ने कुरा पनि अनुसन्धानमै रहेको छ’ –स्रोतले भन्यो । यस विषयमा बैंकका कर्मचारीहरूमाथि समेत अनुसन्धान भइरहेको बुझिएको छ ।

पोखरा महानगरपालिका–८ न्युरोडमा भने एनआईसी एसिया बैंकको एटीएमबाट रकम चोरीको प्रयास भएको थियो । एटीएमबाट रकम निकाल्न एक युवाले एटीएम मेसिन फोड्ने प्रयास गरेका थिए । रुकुम घर भई हाल पोखरा–९ पृथ्वीचोक बस्दै आएका १९ वर्षीय नरेश पुन मगरले गैचीले हानेर एटीएम मेसिन फोड्ने प्रयास गरेका थिए । प्रहरीले उनलाई शनिबार पक्राउ गरेको थियो ।जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् निमित्त प्रहरी प्रमुख डीएसपी सुन्दर तिवारीले घटनाबारे अनुसन्धान भइराखेको जानकारी दिनुभयो । उहाँले प्राविधिक बुझेको या सिस्टमसम्बन्धी ज्ञान भएको व्यक्तिले नै रकम चोरी गरेको हुन सक्ने देखिएको बताउनुभयो ।

पोखरामा घटेका पछिल्ला एटीएम चोरीको प्रयास यो छैटौं रहेको छ । तिवारी डीएसपी भएर जिल्लामा आएपश्चात्को यो छैटौं घटना हो ।यसअघिका पाँच घटनामा भने प्राविधिक ज्ञान नभएका व्यक्ति देखिए पनि यो घटनामा भने प्राविधिक ज्ञान भएको व्यक्ति वा सिस्टम बुझेको व्यक्तिको संलग्न रहेको छ । घटना प्रहरीले ढिला गरी थाहा पाउँदा पक्राउ गर्न समय लागेको उहाँले सुनाउनुभयो । ‘घटना राति २ बजेको रहेछ । हामीले बिहान साढे ६ बजे मात्रै थाहा पायौँ’, तिवारीले भन्नुभयो – ‘ढिला गरी थाहा पाउँदा अनुसन्धानमा समय लागेको हो नत्र भने त समयमै पक्राउ गर्ने थियौँ ।’

पोखरा न्युरोडमा रहेको एनआईसी एसिया बैंकको एटीएम दुईपटक चोरीको प्रयास भएको थियो । पृथ्वीचोकमा रहेको माछापुच्छे« बैंक, बिरौटामा रहेका २ एटीएमसमेत फोडेर चोरी गर्ने प्रयास भएको थियो । प्रहरीले समयमै जानकारी पाउँदा उक्त घटनामा संलग्नलाई छोटो समयमा नै पक्राउ गर्न सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्