बलिउड र क्रिकेटको गहिरो सम्बन्ध



काठमाडौं । 

बलिउड यस्तो हिन्दी फिल्म उद्योग हो कि त्यहाँ हरेक कलाकार चर्चामा आउने गर्छन् । ग्लेमरको संसार भनेर परिचित बलिउड भारतमा मात्रै होइन विश्वका कुना काप्चामा पुगेको छ । बलिउड स्टारलाई पछ्याउनेको संख्या पनि त्यतिकै छ । नेपालकै कुरा गर्ने हो भने बलिउडले नेपाली फिल्म उद्योगलाई छायाँमा पारिरहेको छ ।

यही ग्ल्यामर बलिउडको क्रिकेटसँग भने गहिरो सम्बन्ध रहेको पाइएको छ । पहिल्यैदेखि केलाउँदा पनि बलिउड र भारतीय क्रिकेटरको सम्बन्ध निकै गहिराइमा पुगेको देखिन्छ । अहिले यसै विषयलाई सार्थकता दिँदै एक जोडी विवाह बन्धनमा बाँधिन लागेको छ । यी जोडी क्रिकेटर केएल राहुल र अभिनेत्री अथिया शेट्टी हुन् ।

तर, उनीहरूको यो वर्षचाहिँ विवाह गर्ने कुनै योजना नभएको बताइएको छ । उनीहरूको विवाह यसै वर्षको नोभेम्बर वा डिसेम्बरमा हुन लागेको हो । तर, उनीहरूले अर्को वर्ष २०२३ को जनवरी वा फेबु्रअरीमा विवाह गर्न लागेका छन् । राहुल भारतका चर्चित विस्फोटक ब्याटर हुन् भने अथिया बलिउड अभिनेता सुनील शेट्टीकी छोरी हुन् ।

राहुल र अथिया एक अर्कासँग पछिल्लो ३ वर्षदेखि डेटिङ गरिरहेका छन् । अथिया अक्सर राहुलसँग भारतीय टोलीको अन्तर्राष्ट्रिय क्रिकेट खेल हेर्न गइरहेकी हुन्छन् । यसअघि, भारतकै चर्चित ब्याटर विराट कोहलीको विवाह बलिउड अभिनेत्री अनुष्का शर्मासँग भएको थियो । उनीहरू पनि एक अर्कासँग यस्तै क्रिकेट प्रतियोगितामा डेटिङ गर्दै विवाह बन्धनमा बाँधिएका हुन् । तर, उनीहरूको विवाह ५ वर्षअघि इटालीमा भव्यताका साथ भएको थियो ।

यो क्रममा विगतमा हेर्ने हो भने पनि धेरै यस्ता सम्बन्धहरू पाइन्छ । भारतीय क्रिकेट टोलीका पूर्व क्रिकेटर मोहम्मद अजरुद्दिनले बलिउड अभिनेत्री संगीता बिजलानीसँग विवाह गरेका थिए । तर, वर्तमान समयमा उनीहरू अलग भइसकेका छन् । अजरुद्दिनले संगीताको प्रेममा पागल भएर उनकी पहिलो श्रीमतीसँग सम्बन्ध विच्छेद गरेका थिए । जबकि, संगीताको यो विवाह हुन अघि बलिउड सुपरस्टार सलमान खानसँग गहिरो सम्बन्ध थियो ।

विगतमा हेर्ने हो भने सन् १९६७ मा रिलिज भएको एन इभिनिङ इन पेरिसमा बिकिनी लगाएर तहलका मच्चाएकी अभिनेत्री शर्मिला टैगोरले पनि क्रिकेटरसँगै विवाह गरेकी थिइन् । शर्मिलाले क्रिकेटर मन्सुर अली खान पटौडीसँग विवाह गरेकी थिइन् । उनीहरूको विवाह हुँदा त्यतिबेला हिन्दि फिलिममा निकै ठूलो समाचार बनेको थियो । तर, यिनीहरूका छोरा सैफ अली खानले भने क्रिकेट नरोजी उनकी आमाले झै फिलिम करियर रोजे ।

यसैगरी, अभिनेत्री नीना गुप्ता भने अन्य बलिउड अभिनेत्री भन्दा एक कदम अघि बढेकी थिइन् । नीनाको प्रेम भने कुनै भारतीय क्रिकेटरसँग नभएर वेस्ट इन्डिजका दिग्गज क्रिकेटरसँग भएको थियो । भिभियन रिचर्डसँग सम्बन्ध गाँसेकी नीनाको एउटी छोरी रहेकी छन् । उनीहरूको प्रेम सम्बन्ध नीना गर्भवती भएपछि मात्रै मिडियामा बाहिर निस्केको थियो ।

यसै कडीमा बलिउडकी नागिन अभिनेत्रीको रूपमा चर्चित रीना रायले पनि क्रिकेटरसँगै विवाह गरेकी थिइन् । रीनाका श्रीमान् पाकिस्तानी क्रिकेटर मोहसिन खान थिए । हाल उनीहरूको सम्बन्ध विच्छेद भइसकेको छ । मोहसिनले रीनाको सहयोगमा केही हिन्दी फिलिममा पनि प्रमुख भुमिकामा खेलेका थिए । उनले बँटवारा, साथी, मेडम एक्स र फतहमा राम्रो अभिनय गरे पनि उनको करियर बलिउडमा लामो समयसम्म टिक्न सकेन । उनी पछि फेरि पाकिस्तानमै फर्केपछि रीनाले भारतमै बस्ने मनसायले सम्बन्ध विच्छेद गरेकी हुन् ।

विवाह हुन नसकेको सम्बन्ध

भारतीय क्रिकेटर र भारतीय अभिनेत्रीबीचको सम्बन्धको चर्चा बेला–बेलामा आइरहेकै हुन्छ । कोही विवाह बन्धनसम्म बाँधिए त कोही भने रोमान्ससम्म मात्रै रहेको सम्बन्ध रह्यो । केही न केही कारण उनीहरूको सम्बन्ध विवाहमा परिणत हुन सकेन । यसमा अमृता सिंह र रवि शास्त्री, दीपिका पादुकोण र महेन्द्रसिंह धोनी, युवराज सिंह र किम शर्मा, सारिका र कपिल देवको प्रेम सम्बन्ध विवाहसम्म नपुगेको थियो ।

यसमध्ये दीपिका र धोनीको प्रेम प्रसँग भने निकै चर्चा भएको थियो । धोनी र दीपिका एक अर्कालाई निकै मनपराउने गर्थे । उनीहरू फेसनको ¥याम्पमा पनि भाग लिन्थे । शुरु–शुरुमा धोनीको कपाल लामो थियो । पछि यो छोटो हुनुमा पनि दीपिका नै कारण थियो । भनिन्छ, दीपिकालाई धोनीको लामो कपाल मननपरेको कारण धोनीले कपाल कटाएका थिए । उनीहरूको प्रेम सम्बन्ध दिगो नहुनुको कारण अर्का एक क्रिकेटरको आगमन थियो ।

प्रतिक्रिया दिनुहोस्