महानगरवासीको आशा निराशामा बदलियो



बिहान घरबाट निस्किसकेपछि बेलुका सद्धे फर्किन्छ कि बाटोमै केही हुने हो ? यस्तो चिन्ता बोकेर हिँड्नुपर्ने बाध्यता छ, काठमाडौंमा । न ठाउँ–ठाउँमा जेब्रा क्रस छ । भएका जेब्रा क्रसको पनि सेतो धर्को सबै मेटिसकेको छ । आकाशे पुल पनि धेरै छैनन् । भएका पनि अधिकांश जीर्ण छन् ।

पसल पनि पुलमै छ । आकाशे पुलमा दिसापिसाब गन्हाएर हिँडिसाध्य छैन । फुटपाथमा भएको मोटरसाइकल पार्किङ र पसलले आवतजावत गर्न सक्ने स्थिति छैन । अव्यवस्थित पोल पनि सबै फुटपाथमै छन् । खम्बाले टेलिफोन, नेटलगायतका तार थेग्न नसकेर लत्रिसकेको देखिन्छ । आफूमाथि नै पो खस्ने हो कि भनेर त्रासमा हिँड्नुपर्छ ।

यो सँगै अर्को समस्या हो घरको छतमा राखेको गमला । कतिखेर खसेर कसको टाउको फुट्ने हो अत्तोपत्तो छैन । यता, पानी पर्दा छतमा जमेको पानी फुटपाथमा खसाल्ने प्रवृत्ति हामीकहाँ छ । यसले धेरै सर्वसाधारण प्रभावित बनेका छन् । सार्वजनिक शौचालयको समस्या काठमाडौंमा अझै पनि छ । एउटै घरमा दर्जनसम्म होर्डिङ बोर्ड झुन्ड्याइएको छ । यसले गर्दा शहर कुरुप बनेको छ । काठमाडौंका बासिन्दालाई यो सबै बानी परिसकेको छ । तर, बाहिरी जिल्ला र विदेशी नागरिकलाई यसले निकै नै सताइरहेको छ ।

बाटो कताबाट काट्ने भनेर घण्टौं अलमल्ल परेर हेर्नुपर्ने बाध्यता छ । राजधानी भने पनि यहाँको हाल बेहाल छ । सडकमा खाल्डाखुल्डी अनगिन्ती छन् । फोहोर व्यवस्थापनको किचिलो अझै पनि समाधान हुन सकेको छैन ।बाटोमा मागेर खानेलाई व्यवस्थित गर्न महानगर चुकेको छ । बाहिरी जिल्ला र विदेशी नागरिकले यस्तो पनि शहर हुन्छ ? भनेर सोच्छन् । कहीँ कतै व्यवस्थापन छैन । यो माग्नेको शहर हो भन्ने छाप सबैमा परेको छ । काठमाडौंमा खुल्ला ठाउँ छैन । चारैतिर घर जोडिएको छ । ताजा हावा खान पनि यहाँ धौधौ छ । प्रदूषणका कारण महानगरवासी रोगी बन्दै गएका छन् । यहाँ हेरी गाउँ निकै सुःखी, खुसी र समृद्धि छ ।

आफ्नो हातका नङग्रा खियाएर सन्तुष्टि र निरोगी जीवन बाँचिरहेका छन् । तर, काठमाडौंमा ठ्याक्कै यसको उल्टो छ । यहाँका बासिन्दाका एउटै आम्दानीको स्रोत भनेको घरभाडा हो । खेतीपाती गर्ने जग्गा यिनीहरुसँग छैन । घर भाडामा लायो महिनैपिच्छे सुतीसुती भाडा खायो ।बहालमा बस्नेले सडकमा चिया बेचेर हुन्छ कि चट्पटे, भाडा तिरिरहेका छन् । धुवाँधूलो र फोहोर परेका यस्ता खानेकुराले कति रोग निम्त्याइरहेको छ । बेच्नेले सर्वसाधारण मारेर बेच्छ, यता घरधनीलाई लगेर पोस्छ । बाहिरी जिल्लाका जनता आएर शहर अव्यवस्थित बनाइदिएका छन् ।

सडकमा फुटपाथ पसल थाप्ने पनि उनीहरु नै हुन् । सडकपेटी ढाकेर पैदलयात्रीलाई सडकको बीचबाट हिँड्न बाध्य पार्ने पनि तिनै हुन् । शहर अस्तव्यस्त बनाउन उनीहरुको ठूलो योगदान छ । तर, यसको फाइदा राज्यले होइन, घरधनीले उठाइरहेका छन् । काठमाडौंमा रोजगारी छ, सेवासुविधा छ भनेर गाउँघरबाट काठमाडौं भित्रिन्छन् । तर, यहाँ आएपछि ठगिन्छन् ।काठमाडौंलाई राम्रो र व्यवस्थित शहर बनाउनका लागि २०६९ सालमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले शहरी विकास मन्त्रालय खडा गरे । शहरी विकास मन्त्रालय स्थापना भएको पनि एक दशक बित्यो । यति धेरै वर्षमा धेरै जना मन्त्री भए ।

तर, कसैले पनि काठमाडौंलाई सुन्दर र व्यवस्थित शहर बनाउन सकेनन् । साधारण मापदण्ड र ऐन कानुन पनि बन्न सकेन । शहरीमन्त्रीहरुलाई तलबभत्ता र सेवासुविधा लिँदै ठिक्क भो । मन्त्रालयका कर्मचारीहरुले केही काम नै गर्न चाहेनन् । मन्त्रालयले उपत्यका विकास प्राधिकरणसमेत स्थापना ग¥यो । तर, त्यहाँ पनि तलबभत्ता र सरकारी गाडी चढ्ने काम मात्र भयो । अहिले पनि एक÷दुई आनामा घर बनाउनका लगि नगरपालिका र वडाले स्वीकृति दिइरहेको छ ।

धमाधम नक्सा पास गर्ने कार्य भइरहेको छ । पुरानै मापदण्डमा टेकेर भकाभक भवनहरु ठडिरहेका छन् । मन्त्रालयले नयाँ ऐन कानुनको निर्माण गर्न चासो देखाएको छैन । सडकको संरचना कस्तो हुनुपर्ने हो ? सम्बन्धित निकायलाई नै ज्ञान छैन । बाटोमा हिँड्दा कतिखेर सवारीसाधन ठक्करमा परेर घाइते हुनुपर्ने हो टुंगो छैन । कतिखेर पछाडिबाट आएर कुकुरले टोक्ने हो भन्ने त्रास छ । काठमाडौंको अवस्था झन्–झन् नाजुक बन्दै गएपछि महानगरवासीको अपेक्षा बालेन्द्र शाहमा आएर अडियो । भारी मतका साथ मेयरमा उनलाई निर्वाचित गराउने महानगरवासी हुन् ।

तर, मेयर महानगरवासीको अपेक्षामा खडा हुन सकेनन् । मेयर बालेनले आफ्नो तलबबाट काठमाडौंमा गायक यमबुद्धको शालिक बनाउने घोषणा गरेका छन् । उता, जनताले तिरेको करबाट एक करोड रुपियाँ ई–स्पोर्टसमा लगानी गर्ने उनको योजना छ । भोट माग्ने बेलामा उनले तलबभत्ता लिन्न, सरकारी गाडी चाहिँदैन भनेर बाचा गरेका थिए । तर, अहिले आएर उनले केही पनि छोडेनन् । जनताले तिरेको कर कसैको नाममा शालिक बनाउने, कसैलाई करोड रुपियाँ दिने । मेयर पदमा छु भनेर जे पनि गर्न पाइन्छ ? मेयरको यस्तो पाराले काठमाडौंवासी वाक्कदिक्क भएका छन् ।

मेयरले राजीनामा दिनुपर्छ भनेर मागसमेत उठ्न थालिसकेको छ । पप–गीत गाउने व्यक्तिले त्यही नै ठीक थियो भनेर बहस चलेको छ । उनको क्षमतामा यति बेला प्रश्नसमेत उठ्न थालिसकेको छ ।काठमाडौंलाई राम्रो बनाउन न मन्त्रालयले ध्यान दिन्छ न प्राधिकरणले । महानगर आफ्नो मनोमानी चलाउँदै हिँडेको छ । भन्नलाई शहर भनिन्छ तर यहाँका बासिन्दासँग अलिकति पनि चेतना छैन । आफू सुकिला बन्छन्, घरभित्रको फोहोर सडकमा ल्याएर फ्याँक्छन् । यस्तालाई पनि बुद्धिजीवी भन्ने ? पढ्न लेख्न जानेको छ तर कर्तव्य भनेको थाहा छैन । आफ्नो कारणले अरुलाई कति अप्ठ्यारो परेको छ ? अलिकति पनि मतलब छैन ।

काठमाडौं फोहोर शहर हो भनेर विदेशीहरुमा परिसकेको छ । घुम्न आएका पनि हतारहतार फर्किन्छन् । प्रदूषण नदेखेका विदेशीहरु यहाँ आएर अचम्मित पर्छन् । गाउँबाट आएकाहरु यता दुई दिन पनि टिक्न सक्दैनन् । यस्तो गएगुज्रिएको ठाउँलाई सरकारले राजधानी घोषणा गरेको छ । राजधानीको हालत यस्तो हुन्छ र ? प्रश्न उठ्न थालेको छ । काठमाडौं सिटी भनिएको छ तर कताबाट सिटी भन्ने ? जिल्लाको सदरमुकाम पनि यहाँभन्दा सफासुग्घर छ । यो ठाउँ शोषकीहरु बस्ने ठाउँ हो । बिहान एउटै सडकमा दुई थरीका मानिसहरु भेटिन्छन् । एउटा खाएर टन्न भएका मर्निङ वाकमा निस्किएका हुन्छन् ।

अर्को बिहान–बेलुका छाक टार्नका लागि कामको खोजीमा हिँडेका हुन्छन् । बाउ हेर्ने र छोराले खाने ठाउँ हो यो । काठमाडौंमा मानवता छैन । भाडामा बस्नको समस्या घरधनीले बुझ्दैनन् । बहालमा बस्नेलाई रोजगारीको व्यवस्था महानगरले गर्न सकेको छैन । घरधनीलाई करको दायरामा ल्याउन पनि महानगर चुकेको छ । साँझ परेपछि फुटपाथमा हाटबजार लाग्छ । सटर बहालमा लिएर व्यापार गर्नेले सडकमै ल्याएर सामान तेस्र्याउँछन् ।

कि काठमाडौंमा अन्य जिल्लाका जनतालाई आउनबाट रोक लगाउनुप¥यो, कि त रोजगारीको प्रबन्ध मिलाएर फुटपाथ व्यवसाय हटाउनुप¥यो । मेयरबाट महानगरका जनताले धेरै आशा गरेका थिए, जुन निराशामा बदिलिसकेको छ । ६१ हजार ७६७ भोट खेर गएको छ । मेयर बालेनको विरोधमा आवाज उठ्न थालिसकेको छ ।

युवा पुस्ता भनेर भोट त दिइयो तर नतिजा शून्य छ । जनताको गुनासो नसुन्ने, सञ्चारमाध्यमदेखि टाढा बस्ने अनि महानगरका लागि केही काम नगर्ने । सुःख पाइन्छ भनेर भोट दिए तर दुःख पाएको महसुस गरेका छन्, महानगरवासीले । स्वतन्त्रले चुनाव जितेको देखेर रवि लामिछानेले पार्टी खोले । केही गरी लामिछानेले चुनाव जिते पनि जनताले दुःखबाहेक केही पाउँदैनन् । जो आए पनि यस्तै हो ।
– अनुसा थापा ।

प्रतिक्रिया दिनुहोस्