स्कटल्यान्डसँग नेपाल सहजै पराजित



काठमाडौं । आईसीसी विश्व कप लिग २ अन्तर्गत स्कटल्यान्डविरुद्धको खेलमा नेपाली टोली सहजै पराजित भएको छ । आइतबार स्कटल्यान्डको ग्लासगो मैदानमा भएको खेलमा नेपाललाई घरेलु टोलीले ८ विकेटले हराएको हो । नेपालले पहिले ब्याटिङ गरेर १ सय २९ रनको लक्ष्य दिएकोमा स्कटल्यान्डले २ विकेटको क्षतिमा १९ औं ओभरमै लक्ष्य पुरा गरेको हो । यो सँगै नेपालको स्कटल्यान्ड भ्रमणमा चार खेलमा एक खेलमा मात्रै सुखद नतिजा आत्मसात भयो ।

नेपालले आईसीसी विश्व कप लिग २ को यस चरणमा मात्र २ अंक जोडेको छ । साथै पाँचौ चरण समाप्तिसम्म नेपालले २० खेलमा १७ अंक जोडेको छ । सात राष्ट्र सहभागि यो प्रतियोगिताको अंकतालिकामा नेपाल छैटो स्थानमा रहेको छ । नेपाल भन्दा तल पपुआ न्युगिनी (२ अंक) मात्रै छ ।

नेपाली टोलीले यसअघि पहिलो खेलमा स्कटल्यान्डलाई ५ विकेटले हराएर सनसनी मच्चाएको थियो । यो नेपालको स्कटल्यान्डमाथि पहिलो जित समेत हो । तर, शनिबार नामिबियासँगको खेलमा हारेपछि नेपालको पाँचौ स्थान पनि चिप्लियो । यस शृंखलाअन्तर्गत नेपालले नामिबियासँगको पहिलो खेलमा पनि हारको सामना गरेको थियो ।

स्कटल्यान्डका कप्तान रिची बेरिंगटनले टस जितेर पहिले ब्याटिङ गर्न नेपाललाई निम्तो दिए । नेपालले ३५.५ ओभरमा १ सय २८ स्कोर बनायो । नेपालका लागि ओपनर आसिफ शेखबाहेक अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । आसिफले सर्वाधिक ४० रन योगदान दिए । अर्का ओपनर कुशल भुर्तेल ३ रनमै आउट भए ।

शुरुदेखि नै दवावमा खेपेको नेपालको लागि देव खनाल र रोहित पौडेलले पनि निरास पारे । उनीहरु समान १०–१० रन बनाएर फर्केपछि दीपेन्द्र सिंह ऐरी र आरिफ शेखमाथि रन बढाउन जिम्मेबारी थपियो । दीपेन्द्र र आरिफ पनि पुरै फ्लप ब्याटर साबित भए । दीपेन्द्रले ७ रन बनाए भने आरिफले त रन पनि बनाउन सकेनन् ।

यसपछि विनोद भण्डारीबाट पनि रन बर्सन सकेन । त्यसो त उनले २ चौका प्रहार गरेर नेपाललाई केही आस दिलाए । तर, उनको विस्फोटक ब्याटिङले लय समाउन सकेन । उनी १३ रनमा पभेलियन फर्के र नेपालको बचेको झिनो आस पनि सकियो ।

सोमपाल कामी र कप्तान सन्दीप लामिछानेले टोलीको ब्याटिङमा उर्जा थप्न कोशिस गरे । ९९ रनमा नेपालको आठांै विकेट गुमेपछि उनीहरुले स्कोर १ सय १९ सम्म पु¥याए । सोमपाल ७ रन जोडेर आउट भएका थिए । यसपछि कप्तान सन्दीप २२ रन जोडेर आउट भएपछि नेपाल १ सय २८ रनमा खुम्चिएको थियो ।

नेपालका लागि ओपनिङ बलरमा करण केसी र सोमपाल आएका थिए । करणको बलिङ किफायती रह्यो । सोमपालको २ ओभरमा स्कट टोलीका ओपनरले रन लुटेपछि उनलाई सन्दीपले रिप्लेस गरे । ता पनि काएल कोएजर र क्रिस्टोफर मेकब्राइडले ५ ओभरमै ३२ रन बटुलेर नेपालको बलिङलाई फिक्का बनाइरहे ।

त्यसो त सन्दीपले मेकब्राइड (१० रन) लाई एलबीडब्ल्यूको धरापमा पारेर यो जोडी तोड्न सफल भए । उनीहरुको साझेदारी ४२ रनसम्म पुगेर खतरनाक बनिरहेको थियो । तर, यसपछि विकेट लिन नसकेपछि नेपालले हार स्विकार गर्नु बाहेक अरु विकल्प रहेन । कोएजर र क्यालम मेकलीयोडले दोस्रो विकेटका लागि ८२ रनको साझेदारी गर्दै जिततिर डो¥याएका थिए ।

मेकलीयोडको विकेट सोमपालले लिएका थिए । यतिन्जेल निकै ढिलो भइसकेको थियो । मेकलीयोडले २९ बलमा १० चौका र ३ छक्का प्रहार गर्दै ६४ रन बनाए । कोएजर ४४ रनमा नटआउट रहे ।

प्रतिक्रिया दिनुहोस्