उत्कृष्ट अनुवादका लागि सिद्धान्तअनुसारको अभ्यासमा जोड

0
Shares

काठमाडौं । 

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले साहित्यको वैश्विक आदानप्रदानका लागि अनुवाद आवश्यक रहेको र नेपाली भाषा–साहित्यलाई विश्वस्तरमा लैजान नेपाल प्रज्ञा–प्रतिष्ठानले अनुवाद कार्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको छ ।

उहाँले सो कुरा ‘नेपालमा अनुवादका समस्या र निराकरणका उपायहरू’ विषयक विचार–गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै बताउनुभएको हो । कुलपति उप्रेतीले भन्नुभयो– ‘चिनियाँ भाषाका साहित्यिक कृति नेपाली भाषामा र नेपाली भाषाका साहित्यिक कृति चिनियाँ भाषामा अनुवाद भइरहेका छन् ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदन दुई किसिमले चीनमा अनुवाद भइरहेको छ । सन् २०१९ मा बेइजिङमा भएको सम्मेलनले एसियाका प्राचीन ग्रन्थको अनुवाद गर्ने निर्णय गरेको थियो, त्यसअनुसार चीनले व्यवस्थित कार्यक्रम बनायो । जसमा एसियाका १६ देशका ग्रन्थ अनुवाद हुँदै छन् ।’

त्यसै गरी उहाँले विश्वेश्वरप्रसाद कोइरालाको कथासङ्ग्रह ‘दोषी चश्मा’, भानुभक्त आचार्यको ‘रामायण’, बाबुराम आचार्यको ‘नेपाल, तिब्बत र चीन’ चिनियाँ भाषामा अनुवाद भइरहेको बताउनुभयो ।

उहाँले आधुनिक नेपाली कविताको सङ्ग्रह ‘भ्वाइस अफ नेपाल’ पनि चिनियाँ भाषामा अनुवाद भएको तथा पाकिस्तान र बङ्गलादेशले पनि आफ्ना भाषामा अनुवाद गरिरहेको बताउनुभयो । उहाँले अनुवादलाई अझै गुणस्तरीय बनाउन तालिम र कार्यशाला आवश्यक छ भन्ने निष्कर्षमा प्रज्ञा–प्रतिष्ठान पुगेको विचार व्यक्त गर्दै विश्वेश्वरप्रसाद कोइरालाको उपन्यास ‘हिटलर र यहुदी’ इजरायलको प्रस्तावमा अङ्ग्रेजी भाषामा अनुवाद गरी हिब्रु भाषामा अनुवादका लागि पठाइएको बताउनुभयो ।

विभागका प्रमुख एवम् कार्यक्रम संयोजक प्रा.डा. उषा ठाकुरले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै साहित्यको वैश्विक प्रतिस्पर्धाका लागि अनुवाद आवश्यक रहेको बताउनुभयो । उहाँले वि.सं. २०७५ पछि २७ ओटा अनुदित ग्रन्थ तयार भएको जानकारी गराउनुभयो ।

प्रा. जगत्प्रसाद उपाध्यायले अनुवादका काम वि.सं. २०१६ देखि गर्न थालिएकामा २०६६ सालमा साहित्य (अनुवाद) विभागको स्थापना भएपछि कामले अझ तीव्रता पाउन थालेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘अनुवादमा महत्वपूर्ण काम भने २०७१ सालपछि हुन थालेको हो । शुरूवाती चरणमा प्रज्ञा–प्रतिष्ठानले संस्कृत, अङ्ग्रेजी र रुसी भाषा साहित्यका पुस्तक अनुवाद गरेको थियो । प्रतिष्ठानले २०७४ मा ‘अनुवादक कोश’, २०७७ सालमा अनुवाद सन्दर्भ ग्रन्थ प्रकाशन गरेको छ । अनुवादका क्षेत्रमा भएका राम्रा कामको प्रोत्साहनका लागि नेपाल प्रज्ञा अनुवाद पुरस्कार पनि स्थापना गरिएको छ ।’

कार्यक्रममा प्रा.डा. मोहन लोहनीले अनुवादकमा भाषाका साथै सांस्कृतिक ज्ञानको पनि आवश्यकता पर्ने बताउनुभयो । अनुवादको सिद्धान्त ग्रहण नगरी गरिएको अनुवादमा गुणस्तरीयता नहुने उहाँको विचार थियो ।कार्यक्रमका सभाध्यक्ष प्रा.डा. अभि सुवेदीले अनुवादका लागि विश्व दृष्टिकोण आवश्यक पर्ने बताउनुभयो ।

अन्य क्षेत्रजस्तै अनुवादमा पनि सिद्धान्त र व्यवहारको द्वन्द्व पहिल्यैदेखि हुँदै आएको उहाँको विचार थियोे । ‘भानुभक्तजस्ता प्रतिभाशाली अनुवादक मैले आजसम्म भेटेको छैन, यो कुरा अध्यात्म रामायणबाट थाहा हुन्छ । भाषा अनुवाद गरेर मात्र हुँदैन, दृष्टिकोण अनुवादमा आउनुपर्छ, संस्कृतिलाई धान्ने अनुवादले नै हो’ – सुवेदीले भन्नुभयो ।

डा. बलराम अधिकारीले ‘नेपालमा साहित्य अनुवादका समस्या र निराकरणका उपायहरू’ विषयक गोष्ठीपत्र प्रस्तुत गर्दै अनुवादको व्यावसायिक सम्पादन नहुँदा गुणस्तरीयतामा ह्रास आएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘६० प्रतिशत अनुवाद अङ्ग्रेजीबाट नेपालीमा हुने गरेको छ । अन्तर्राष्ट्रिय पाठकलाई सोचेर नेपालमा अनुवाद हुन सकेको छैन ।’

प्रा.डा. कृष्णचन्द्र शर्माले नेपाली साहित्यको शुरूवात नै अनुवादबाट भएको उल्लेख गर्दै विश्वविद्यालयमा औपचारिक रूपमा पढाइ शुरू भने दुई दशकअघि मात्र भएको बताउनुभयो ।

प्रज्ञा भवनको देवकोटा सभाकक्षमा आयोजित विचार–गोष्ठीमा सहभागी वक्ताहरूले उत्कृष्ट अनुवादका लागि सिद्धान्तअनुसारको अभ्यास गर्नुपर्नेमा जोड दिएका थिए ।कार्यक्रममा प्रा.डा. योगेन्द्रप्रसाद यादव, भाषा आयोगका सदस्य गोपाल अश्क, प्रा. डा. कुमारप्रसाद कोइरला, रामबहादुर पहाडी, विक्रममणि त्रिपाठी, सालिकराम तिमल्सिनालगायतले गोष्ठीपत्रमाथि जिज्ञासा राख्नुभएको थियो ।

Skip This