प्राइम कमर्सियल बैंकको रक्तदान कार्यक्रममा ५२२ जनाले गरे रक्तदान


काठमाडौँ।

प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा देशभरका सात स्थानमा रक्तदान कार्यक्रम आयोजना गरेको छ। बुधबार आयोजित कार्यक्रममा बैंकका कर्मचारी तथा शुभेच्छुक गरी ५२२ जनाले रक्तदान गरेका छन्।

बैंकका अनुसार काठमाडौंको कमलपोखरीस्थित केन्द्रीय कार्यालयसहित कोशी प्रदेश कार्यालय विराटनगर, मधेश प्रदेश कार्यालय वीरगञ्ज, गण्डकी प्रदेश कार्यालय पोखरा, लुम्बिनी प्रदेश कार्यालय बुटवल, कर्णाली प्रदेशअन्तर्गत सुर्खेतको छिन्चु शाखा र सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियो।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत संजीव मानन्धरले रक्तदान गर्ने सम्पूर्ण रक्तदाता तथा प्राविधिक टोलीलाई धन्यवाद व्यक्त गरे। मानव जीवन रक्षाका लागि आवश्यक रगत संकलन गर्ने उद्देश्यले आयोजित कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न पाउँदा खुसी लागेको उनले बताए।

मानन्धरले बैंकले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक सेवाका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

बैंकले आफ्नो वार्षिकोत्सवलाई सामाजिक सेवासँग जोड्दै देशका विभिन्न स्थानमा एकैपटक रक्तदान कार्यक्रम आयोजना गरेको जनाएको छ।