लिभरपुलले क्रिस्टल प्यालेसलाई हरायो



लन्डन, (एजेन्सी) । 

प्रि–सिजन टुरअन्तर्गत सिंगापुरमा भएको मैत्रीपूर्ण खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई हराएको छ । शुक्रबार राति भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई २–० गोलअन्तरले हराएको हो । केही दिनअघि म्यानचेस्टर युनाइटेडसँग ४–० गोलअन्तरले पराजित भएको लिभरपुलले क्रिस्टल प्यालेसलाई पूर्ण दवाबमा राख्दै जितको नतिजा निकालेको हो ।

लिभरपुललाई जित दिलाउन जोर्डन हेन्डरसन र मोहमद सलाहले समान एक–एक गोल गरे । खेलको १२औं मिनेटमा हेन्डरसनले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि, खेलको ४७औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई २–० को जित दिलाए ।

खेलमा भर्जिल भान जिक र फाबियो कार्भाल्होले लिभरपुलको गोलसंख्या बढाउने थुप्रै अवसरलाई चुकाएका थिए । अर्कोतिर क्रिस्टल प्यालेस भने लिभरपुलको रक्षापंक्तिलाई तोड्न भरमग्दुर प्रयास गरे पनि सफल हुन सकेन । यस जितसँगै लिभरपुलले स्टान्डर्ड चार्टर्ड सिंगापुर ट्रफीसमेत जितेको छ ।

प्रतिक्रिया दिनुहोस्