नागरिकता विधेयकबारे गृहमन्त्री खाण र कानुनमन्त्री शर्माद्वारा एमाले नेता नेम्वाङसँग छलफल



काठमाडौं । नेपाल सरकारले संघीय संसद्मा पेस गरेको ‘नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ बारे गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङसँग कुराकानी गरेका छन् ।

आइतबार साँझ नेम्वाङ निवास बालुवाटारमा भएको भेटमा सरकारले संसद्मा पेस गरेको नागरिकता विधेयकबारे छलफल भएको गृहमन्त्री खाणले जानकारी दिए ।

नेता नेम्वाङले गृहमन्त्री खाण र कानुनमन्त्री शर्माले संसद्मा पेस भएको नागरिकता विधेयक पास गर्न सहयोग गर्न आग्रह गरेको जानकारी दिए । ‘तपाईंहरूले पहिला ल्याएको नागरिकतासम्बन्धी अध्यादेशमा समावेश गरेका विषयवस्तु समावेश गरेर विधेयक संघीय संसद्मा पेस गरेका छौँ ।

पास गर्नलाई छलफल गरौँ, भने,’ भेटमा भएको कुराकानीबारे नेम्वाङले भने, ‘मैले ठीक छ, हाउसमा विधेयक आएपछि छलफल त हुने नै भयो । हामी नागरिकता विधेयकमा सकारात्मक नै छौ । विधेयकमा के के विषय समेटिएका छन्, त्यो हेर्छौ भने ।’

सरकारले नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ साल साउन २२ गते प्रतिनिधि सभामा दर्ता गरेको थियो । राज्य व्यवस्था समितिले २०७७ असार नौ गते प्रतिवेदनसहित प्रतिनिधि सभामा पेस गरेको थियो । सरकारले त्यो प्रतिवेदन असार २४ गते फिर्ता लिएर त्यसै दिन अर्को विधेयक संसद् सचिवालयमा पेस गरेको छ ।

विधेयेकले अहिले देखिएको नागरिकता समस्यालाई सम्बोधन गर्नेछ । विधेयक पास भएमा नागरिकता नपाएका युवाहरू लाखौँ युवाले नागरिकता पाउनेछन् । ती युवालाई नागरिकता प्रदान गर्न विधेयकले सहयोग पु¥याउने अपेक्षा सरकारको छ ।

नेपालको संविधान २०७२ ले गैर आवासीय नेपाली नागरिकलाई पनि राजनीतिक र प्रशासनीकबाहेकका सामाजिक, आर्थिक र सास्कृतिक अधिकारको उपभोग गर्न पाउनेगरी नागरिकता प्रदान गर्ने व्यवस्था गरेको छ । यो विधेयकमा सरकारले गैरवाआसीय नेपालीलाई नेपाली नागरिकता दिने भन्ने संवैधानिक प्रावधानलाई संवोधन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्