मुगुको सोरु गाउँपालिकामा बर्खायाम सुरु हुनै लाग्दा पनि खानेपानीको हाहाकार



वीरबहादुर बम मुगु । जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिकाको पालिकामा खानेपानीको समस्या परेको छ । उक्त पालिकाको वडा नम्बर ६ का बासिन्दालाई खानेपानीका समस्या परेको हो ।

वर्षायाम सुरु हुनै लाग्दा पनि सोरु गाउँपालिकाको सोरुकोट पालिका केन्द्रका ५० भन्दा बढी दलित घरधुरीका बासिन्दाहरू वर्षौदेखि खानेपानीका लागि समस्या झेलिरहेका छन् ।

सोरुकोटमा गाउँपालिका केन्द्र भएको ६ वर्ष पुगिसक्दा पनि धित मर्ने गरी प्यास मेटाउन पाएका छैनन् । व्यवस्था बदलिए पनि पनि सोरुकोट बासीलेअवस्था नफेरिएको उनीहरु गुनासो गर्छन् ।

निर्वाचनका बेला नेताहरूले खानेपानीलाई चुनावी नारा बनाउने गरेका छन् । अहिलेसम्म पनि गाउँपालिकाको केन्द्र सोरुकोटमा आवश्यकता अनुसारको खानेपानी उपभोग गर्न नपाएको सोरुकोटमा पसल व्यवसाय गर्दै आएकी कमलदेवी शाहीले बताइन् ।

सोही टोलकी कमली मल्ल घर नजिकैको धारापानीले वस्तुभाउलाई खान त परै जाओस् आफूहरूका लागि करिब एक घण्टा लगाएर खानेपानी उपभोग गरिरहेको उनी बताउँछिन् ।

करिब ५० भन्दा बढी घरधुरीले उपभोग गर्दै आइरहेको एउटा धारो छ । त्यही पनि पानी कहिले चुहिन्छ भनेर पखाईमा बस्ने गरेका छौं । धारामा पानी नआए हामीहरूलाई बिहान बेलुका छाक टार्न पनि समस्या हुन्छ’ उनले भनिन् ।

धारामा पानी नआए एक घण्टा समय लगाएर सोरुकोट गाउँको फेदीमा पर्ने जडेपानी, धुपीगाउँ गएर पानी बोक्नुपर्ने समस्या रहेको मल्लको भनाइ छ । डोकोमा गाग्री बोकेर पानी ल्याउने, लुगा धुने र नुहाउने थलो पनि त्यही एक धारा मात्रै रहेको छ । सोरुकोटमा पानी पनि बिहान ६ बजेदेखि ८ बजेसम्म आउँछ भने साँझ त्यही ५ बजेबाट एक दुई घण्टा आउँछ ।

सोरुकोट गाउँमा तीनवटा धारा छन् । तर, पानी झर्दैन । एक गाग्री पानी लिन धारामा घण्टौँ कुर्नुपर्छ । त्यसमा पनि आलो कतिबेला आउँछ भन्ने निश्चित नै हुँदैन । नेताहरूले चुनावका बेला बाटो निर्माण, खानेपानीलगायत योजनाका कुरा गरेर जनता फकाउने मात्र काम गरेको स्थानीयकल बहादु, कार्किले नेपाल समाचारपत्रसँग आफ्नो गुनासो सुनाए ।

पालिकाका अध्यक्ष धर्मबहादुर शाहीका अनुसार समग्र सोरु बासीको मुहार फेर्नको लागि बृहत् खानेपानी आयोजना भइरहेको उनले बताए । यो आयोजनाले यहाँका स्थानीयले सहजै रूपमा खानेपानी उपभोग गर्न पाउने अध्यक्ष शाहीको भनाइ छ । टेण्डर प्रक्रिया पनि अगाडी बढेको उनी बत्ताउँछन् ।

सोरुकोटमा खानेपानीको हाहाकार भएपछि विशेष गरेर महिलालाई सास्ती हुने गरेको छ । सोरुकोटमा पानीको हाहाकार हुँदा महिनावारी भएको बेला महिलालाई सरसफाइदेखि लिएर लत्ता कपडा धुन पनि सास्ती हुने गरेको हो ।

महिनावारी भएको बेला समय समयमा सरसफाइ गरी रहनुपर्छ भनेर चिकित्सकहरूले बताए पनि पानी अभावले सरसफाइमा समस्या हुने गरेको गोर्ख बहादुर मल्लको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्