मुक्तकण्ठले प्रशंसा गर्दै मन्त्रीले भने- ‘निवर्तमान मेयर विद्यासुन्दर शाक्यलाई इतिहासले बिर्सिन सक्दैन’

470
Shares

काठमाडौं । नेपाल भाषा, संस्कृति र साहित्यको उत्थानमा अतुलनीय योगदान पु¥याएको उल्लेख गर्दै काठमाडौं महानगरपालिका निर्वतमान मेयर विद्यासुन्दर शाक्यलाई सम्मान गरिएको छ ।

वल्ड नेवाः अर्गनाइजेशन नेपाल च्याप्टरले आज (शुक्रबार) राजधानीमा आयोजना गरिएको नेवाः पहिचान र विविध आयाम विषयक राष्ट्रिय गोष्ठीमा उनलाई सम्मान गरिएको हो ।

उक्त कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले दोसल्ला ओढाइ शाक्यलाई सम्मानपत्र प्रदान गरेका थिए । यस अघि नेपाल च्याप्टरका अध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले शाक्यलाई अविरावरण र फूलमाला लगाइ दिएका थिए ।

समारोहमा मन्त्री श्रेष्ठले मातृभाषाको माध्यमबाट पठाउने पाउने कानूनी सुनिश्चितताको लागि सदनमा आवाज उठाउँदै आएको उल्लेख गर्दै सोही कानून प्रावधानलाई समेत शाक्यले नै मेयर हुँदा मुलुकमै पहिलो पटक महानगरपालिकाले ‘येँ देय् म्हसिके’ (काठमाडौं चिनौं) स्थानीय पाठ्यक्रम बनाएर नेपाल भाषाको माध्यमबाट सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा १ देखि ८ सम्म पठनपाठन गराउन कार्यको शुरुआत गरेको बताए ।

कठमाडौं महानगरपालिकाको यो कार्यको सिको गरे देशका हरेक स्थानीय तहले आफ्नो क्षेत्रमा बाहुल्य रहेको स्थानीय भाषाबाट स्थानीय पाठ्यक्रम बनाएर पढाउन शुरु गरेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले पहिचान, भाषा, संस्कृति नै राष्ट्रियता भावना वृद्धि गर्ने महत्वपूर्ण आयाम रहेको पनि धारणा राखेका थिए । मन्त्री श्रेष्ठले शाक्य मेयर छँदा संस्कृति सम्पदा जोगाउन गरेको कामको खुलेर प्रशंसा गरे ।

सोही अवसरमा नेपाल भाषाको आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याउनुभएका नागरिक अभियन्ता शाक्य सुरेन (सुरेन्द्रमान शाक्य)लाई पनि सम्मान गरिएको छ ।

समारोहमा महानगरपालिका निर्वतमान मेयर शाक्यले आफू सानैदेखि भाषिक र सांस्कृतिक समानताको आन्दोलनमा लागेकोले यस क्षेत्रका मुद्दा, भावना चाहनासँग परिचित भएकोले मेयर हुँदा सबैको सामूहिक प्रयासमा त्यसलाई मूर्तरूप दिन अधिकत्तम लचिलो रहेको बताए ।

‘हिजोलाई सम्झिएर, इतिहासलाई बुझेर र भविष्यको आकंलन गरि संस्कृति, सम्पदा, भाषा, साहित्यको क्षेत्रमा नीतिगत रूपमा नै काम अघि बढाएका छौं ।

त्यसैको धरातलमा टेकेर अहिले झन्डै ८० प्रतिशत नीति तथा कार्यक्रममा समेटिएको छ,’ उनले भने, ‘मैले भन्दै आएको जनताको कमन सेन्स, चाहनाको आधारमा नीतिगत रुपमा सम्बोधन गरिसकेको कार्यक्रमलाई उल्टाउने काम गरेमा म चुपचाप बस्दिनँ ।’

महानगरपालिकाका अहिलेका जनप्रतिनिधिले राम्रो काम गर्न चाहेमा आफूले विरोध नभई सहजीकरण गर्न तयार रहेको पनि शाक्यले प्रष्ट पारे । शाक्यले दुई वर्षअघि आफ्नै कार्यकाल बोलपत्र आहवान गरे अनुरूप दुईवटा दमकल एक महिनाभित्र महानगरपालिकामा आइपुग्ने पनि बताए ।

सो अवसरमा नेपाल च्याप्टरका अध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले भाषा, संस्कृतिको लागि अहिलेसम्म भएका आन्दोलनको मर्मको दृष्टिमा शाक्यको पाँच वर्षको कार्यकाल उदाहरणीय र पुस्तौंसम्म सम्झिरहने विश्वास व्यक्त गर्नुभयो ।

Skip This