घर बनाउँदा कस्ता कुरामा ख्याल गर्नुपर्छ ?



घर जीवनमा एकपटक बनाइन्छ । त्यसैले, आफ्नो घर सुन्दर र आकर्षक होस् भन्ने सबैको चाहना हुन्छ । पहिलोपटक घर बनाउने हुनाले गल्तीहरू धेरै हुन सक्छन् । कहाँ–कहाँ गल्ती भयो भन्ने कुरा घर बनाइसक्दा मात्र थाहा हुन्छ । जीवनभरिको कमाइबाट जीवनमा एकपटक बनाइने घरलाई मानिसहरू निकै हतार गरेको देखिन्छ । त्यसले घर बनाउँदा केही जोश र उमंग भए पनि घर बनिसकेपछि पछुताउनुपर्ने हुन्छ ।

इन्जिनियर डिल्लीप्रसाद ढकालका अनुसार घर बनाउँदा आममानिसले गर्ने केही गल्तीहरू र त्यसलाई निराकरण गर्ने प्रयासलाई जानकारी र सिकाइको रूपमा लिन सकिन्छ । गल्ती नगर्ने गरी आफूलाई तयार राखे मात्र पनि निकै पैसा बचाउन सकिन्छ । यी गल्तीहरू सिकाइको पाटो पनि बन्न सक्छन्् । घर बनाउँदाको यी गल्तीले जीवनभरि पछुताउनुपर्ने हुन्छ ।

परामर्शदाताको सही छनोट
घर बनाउन शुरू गर्नुअघि नक्सा डिजाइनको काम गर्नुपर्ने हुन्छ । कन्सल्टिङ कम्पनीहरूले नक्सा डिजाइनको काम गर्छन् । घर बनाउँदा नक्सा डिजाइन र सही कन्सल्टिङ अत्यन्तै महत्वपूर्ण हुन्छ । घर बनाउँदा हुने सबैभन्दा ठूलो गल्तीमा राम्रो कन्सल्टिङ नहुनु हो । खासगरी, नक्सा डिजाइनको काममा निकै हतार गर्ने बानी हुन्छ । डिजाइनरले पाँच दिनमै डिजाइन तयार गरिहाल्छन् भन्ने बुझाइ हुन्छ । तर, एउटा घर बनाउन एक वर्ष लाग्छ भने डिजाइनको काम गर्न राम्रो कस्टलटेन्सीले ३५ देखि ४० दिनसम्म लगाउँछन् । परामर्शदाताको सही छनोटले मात्रै घरलाई आकर्षक र बलियो बनाउँदछ ।

नक्सा पास नहुँदै घर बनाउने हतार

जीवनभरिको कमाइबाट जीवनमा एकपटक बनाइने घरलाई मानिसहरू निकै हतार गरेको देखिन्छ । कतिपयले नगरपालिकामा नक्सा पास नहुँदै घर निर्माण सुरू गर्दै पछि नक्सा पास गर्ने भनेर निर्माण थालनी गर्छन् । त्यसो गर्नु गल्ती हुने इन्जिनियर ढकालको सुझाव छ । कहिलेकाहीँ नक्सा पास नहुँदै घर निर्माण थालनी गर्दा समस्या आउन सक्छ । तपाईंले जग खनेर पिलर हालिसक्नुभएको हुन सक्छ, उता नगरपालिकाले तपाईंले पेस गरेको नक्सा नमिलेको भन्दै परिवर्तन गर्न भन्न सक्छ ।
सरकारी मापदण्ड र कानुनको बेवास्ता
सबै मापदण्ड पूरा भए, आवश्यक सबै कागजातहरू पेस भए घर निर्माण समयमै र सजिलै हुन्छ । सरकारी स्तरबाट अनुमति र स्वीकृति लिने काम वास्तवमै झन्झटिलो हुने गर्छ । यो काममा समय र पैसा दुवै खर्च हुन्छ । तर, सबै मापदण्ड पूरा नगरी र सरकारी निकायबाट अनुमति नलिई घर निर्माणमा जुट्दा नक्सा पास नहुने र भवन निर्माण सम्पन्नको प्रमाण पत्र पनि नपाइने समस्या हुन सक्छ । निर्माण सम्पन्नको प्रमाणपत्र नभए सबैतिर कानुनी अड्चन शुरू हुन्छ ।

घरको थ्रिडी डिजाइन नखोज्नु

नक्सा पास गर्दा घरको थ्रिडी डिजाइन र भिडियो बनाउनुपर्छ । यसो गर्दा आफ्नो घर कस्तो बन्दै छ भनेर पहिले नै जानकारी हुन्छ । प्रायः मानिसले नक्साको डिजाइन गरेपछि थ्रिडी फोटो वा भिडियो खोज्दैनन् । तपाईंले आफ्नो घर बाहिरबाट हेर्दा कस्तो बन्दैछ भनेर पहिल्यै थाहा पाउनु राम्रो हुन्छ । यदि, डिजाइनरले थ्रिडी फोटो दिन्न भन्यो भने दुई पैसा बढी तिरेर भए पनि लिनुपर्छ । तर, धेरै ग्राहकले पैसा खर्च हुने लोभमा थ्रिडी बनाउन नखोज्ने उनको अनुभव छ । यदि, डिजाइन नै राम्रो छैन भने जतिसुकै राम्रो ठेकेदार वा निर्माण सामग्री प्रयोग गरे पनि घर राम्रो बन्दैन । घरको जस्तो डिजाइन तयार हुन्छ त्यस्तै घर बन्ने हो । त्यसैले, घरको डिजाइनमा पर्याप्त समय र मिहेनत लगाउनुपर्छ ।

 ठेकेदार छनोटमा ध्यान नदिनु

तपाईंले बनाएको घरको सुन्दर डिजाइनलाई मूर्तता दिने कन्स्ट्रक्सन (ठेकदार) कम्पनीले हो । घर निर्माण शुरू गरेदेखि नसकिँदासम्म कुनै पनि ठेकेदारसँग महिनौँसम्म काम गर्नुपर्ने हुन्छ । आफ्नो सपनाको घरलाई साकार रूप दिनका लागि अनुभवी कन्ट्रयाक्टर छनोट गर्नुपर्ने हुन्छ । कम रकममै ठेक्कामा काम गर्ने मान्छे होइन कि राम्रो काम गर्ने अनुभवी कन्ट्रयाक्टर छनोट गरेर घर निर्माणको जिम्मा लगाउनुपर्छ ।

निरीक्षणका लागि प्राविधिक नराख्नु

तपाईंले आँखाले हेरेर पिल्लर सीधा छ कि छैन, वाल सीधा छ कि छैन भनेर त हेर्न सक्नुहोला । तर, डण्डी काट्ने र बाँध्ने, सिमेन्ट, बालुवा र गिट्टीको घोल बनाउने, पिल्लर र बिम बाँध्नेलगायत प्राविधिक काम थाहा हुँदैन । ठेकदार कम्पनीले राम्रोसँग काम गरिरहेको छ कि छैन भनेर निरीक्षण गर्न विश्वसनीय र अनुभवी प्राविधिक राख्नुपर्ने हुन्छ, जुन कुरा अधिकांश घर निर्माताले छुटाएका हुन्छन् ।

 डोकोबाट ढलान गर्नु

धेरैजसो ठेकेदार कम्पनीले घर ढलान गर्दा सस्तो पर्ने भएकोले डोकोबाट ढलान गर्छन् । ‘डोको त कुनै ठूलो हुन्छ कुनै सानो हुन्छ, ढलान गर्दा ब्यालेन्स मिल्दैन । बक्सबाट ढलान गर्दा क्वालिटी मेन्टेन गर्न सकिन्छ । तर, हामीले यस्ता कुरामा त्यति ध्यान नदिए ठेकेदार कम्पनीले पनि आफूलाई जे सहज हुन्छ त्यही तरिकारले काम गरिदिन्छन् ।

इलेक्ट्रिकल र प्लम्बिङको डिजाइन नगर्नु

सबैले घरको स्ट्रक्चर डिजाइनमा धेरै मेहेनत गर्छन् । घरमा इलेक्ट्रिकल र प्लम्बिङको डिजाइन गर्न छुटाइरहेका हुन्छन् । सम्बन्धित क्षेत्रको दक्ष इन्जिनियरहरूबाट इलेक्ट्रिकल र प्लम्बिङको डिजाइन गरेपछि घरमा विद्युत् चुहावट भएर हुने आगलागीदेखि पानी चुहिने समस्यासम्म कम हुन्छन् । राम्रोसँग डिजाइन गरेर वायरिङ र प्लम्बिङ गरे सजिलै प्वाइन्ट पत्ता लगाउन सकिन्छ र, मर्मत सम्भारका लागि पनि समस्या हुँदैन ।

ठेकदारको भर परी आफू निष्क्रिय बस्नु

घर निर्माण प्रक्रियामा सबै कुराको जिम्मा र निर्णय लिने काम ठेकेदारलाई छोडेर निष्क्रिय बस्नु राम्रो हैन । निर्माणको कामको हरेक चरणमा आफू प्रत्यक्ष सहभागी हुनुपर्छ । तपाईं चनाखो हुनुभयो भने कसैले पैसाको दुरूपयोग गर्न र सामग्रीको गुणस्तरमा प्रश्न खडा रहँदैन । यस्तै, घरको भित्री संरचना जस्तै घरको बाहिरी भागको निर्माण काममा र रंगरोगनमा पनि उत्तिकै ध्यान दिनुपर्ने हुन्छ ।

आवश्यकता भन्दा ठूलो घर बनाउनु

आवश्यकता भन्दा ठूलो घर बनाउनु अर्को गल्ती हो । कतिपयले एक तला घर बनाउँदा पुग्ने भए पनि समाज र आफन्तलाई देखाउन ठूलो घर बनाउन खोज्छन् । त्यो घर भाडामा लगाउन सके त फाइदा होला नत्र त आर्थिक दबाब पर्न जान्छ । त्यसैले, आफूलाई जति आवश्यक हो त्यति तला बनाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्