इंग्ल्यान्ड र इटालीले अंक बाँडे



एजेन्सी । 

यूईएफए नेसन्स लिग ‘ए’ ग्रुप ३ मा इंग्ल्यान्ड र इटालीले बराबरी खेल्दै अंक बाँडेका छन् । युरो च्याम्पियन इटाली र उपविजेता इंग्ल्यान्डले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । इंग्ल्यान्डमा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलमा घरेलु टोलीले पाहुना टोलीमाथि केही दबाब सिर्जना गरेपनि गोल गर्न नसक्दा बराबरीमा रोकिन पुग्यो ।

यो नतिजापछि अपराजित रहेको इटाली समूहमा तीन खेलबाट ५ अंक जोडेर शीर्षस्थानमा रहेको छ । इंग्ल्यान्ड दुई अंक जोडेर पुछारमा रहेको छ । यही समूहको अर्काे खेलमा हंगेरी र जर्मनीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । हंगेरीका सल्ट नागीले गोल गर्दा जर्मनीका जोनास होफमानले बराबरी गोलफर्काए । बराबरीपछि हंगेरी तीन खेलबाट चार अंक जोडेर दोस्रो तथा तीन अंक जोडेर जर्मनी तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै, शनिबारै भएको अर्को खेलको इन्ज्युरी समयमा फरवार्ड मेम्फिस डिपाए पेनाल्टीमा चुक्दा नेदरल्यान्ड्स यूईएफए नेसन्स लिग ‘ए’ ग्रुप ४ मा पोल्यान्डविरुद्ध बराबरीमा रोकिन बाध्य बन्यो । खेलमा २–० ले पछि परेको नेदरल्यान्ड्सले पुनरागमन गरे पनि डिपाएले पेनाल्टी चुकाउँदा खेल २–२ गोलको बराबरीमा सकिएको हो । फेइजेनुर्डमा भएको उक्त खेलमा पोल्यान्डका म्याटी कास र पिओटर जिलेन्स्कीले गोल गर्दा घरेलु टोलीका डेभी क्लासेन र डेन्जेल डेम्फ्रेजले बराबरी गोल फर्काए ।

प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको १८औं मिनेटमा म्याटी कासको गोलबाट पोल्यान्डले शुरुवाती अग्रता लिएको थियो । उनले निकोला जलेवक्सीको पासमा गोल गर्न सफल भएका थिए । दोस्रो हाफको शुरूमै ६ मिनेटको अन्तरमा तीन गोल सम्भव हुँदा नेदरल्यान्डले बराबरी गोल फर्काउन सफल भयो ।

खेलको ४९औं मिनेटमा पिओटर जिलेन्स्कीले गोल गर्दै पोल्यान्ड खेलमा २–० ले अघि बढेको थियो । तर, पोल्यान्डले त्यो अग्रतालाई जोगाउन सकेन । ५१औं मिनेटमा डेभी क्लासेनले गोल गर्दै डच टोलीलाई खेलमा फर्कने संकेत दिए । उनले डाले ब्लिन्डको पासमा गोल गर्न सफल भएका थिए । ५४औं मिनेटमा डेन्जेल डम्फ्रेजले मेम्फिस डिपाएको पासमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा डिपाए पेनाल्टीमा चुक्दा डच टोली जितबाट वञ्चित बन्यो । यो बराबरीसँगै अपराजित रहेको नेदरल्यान्ड्स तीन खेलबाट सात अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । पोल्यान्ड चार अंक जोडेर तेस्रो स्थानमा रहेको छ । यस समूहमा बेल्जियम दोस्रो तथा वेल्स पुछारमा रहेको छ । यही समूहको अर्काे खेलमा वेल्स र बेल्जियमले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । बेल्जियमका युरी टिलेमान्सले गोल गर्दा वेल्सका ब्रेननान जोनसनले बराबरी गोल फर्काए ।

प्रतिक्रिया दिनुहोस्