हंगेरीसँग इंग्ल्यान्ड पराजित



लन्डन, (एजेन्सी) । 

यूईएफए नेसन्स लिग ए ग्रुप ३ को पहिलो खेलमा इंग्ल्यान्ड पराजित भएको छ ।इंग्ल्यान्ड घरेलु टोली हंगेरीसँग १–० गोलअन्तरले पराजित भएको हो । बुडापेस्टमा शनिबार राति भएको खेलमा इंग्ल्यान्डलाई सनसनीपूर्ण हारको स्वाद चखाउन डोमिनिक सोबोस्लाईले गरेको गोल नै निर्णायक बन्यो । घरेलु टोलीका डोमिनिक सोबोस्लाईले दोस्रो हाफमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बनेको हो । उनले ६६औं मिनेटमा गोल गर्न सफल भएका थिए ।

खेलको सुरुवातदेखि नै घरेलु टोलीलाई दबाबमा राखेको इंग्ल्यान्डले हंगेरीको बलियो रक्षापङ्तिलाई तोड्न सकेन । खेलको पहिलो हाफमा दुवैतर्फबाट गोलका लागि केही राम्रा प्रयासहरू गरेका थिए । तर, गोल भने दोस्रो हाफमा मात्र सम्भव भएको थियो । खेलको ६६औं मिनेटमा डोमिनिक सोबोस्लाईले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । रिस जेम्सले जिसोल्ट नागीलाई फाउल गर्न पुगेपछि प्राप्त पेनाल्टीमा डोमिनिक सोबोस्लाई चुकेनन् । एक गोलले पछि परेको इंग्ल्यान्डले त्यसपछि लगातार आक्रमण बुने पनि सफलता हात पार्न नसक्दा हारलाई स्वीकार्न बाध्य भयो ।

यो जितपछि हंगेरी लिग ‘ए’ ग्रुप ३ मा तीन अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित इंग्ल्यान्ड चौथो स्थानमा छ । समान एक अंक जोडेर जर्मनी र इटाली दोस्रो र तेस्रो स्थानमा रहेको छ । शनिबार भएको अर्को खेलमा इटाली र जर्मनीले पनि ग्रुप ३ को पहिलो खेलमा बराबरी खेल्दै अंक बाँडेका छन् । इटाली र जर्मनीले १–१ गोलको बराबरी खेलेका हुन् ।इटालीको बोलोग्नामा शनिबार राति भएको खेलमा घरेलु टोलीका लागि लोरेन्जो पेलिग्रेनीले गोल गर्दा जर्मनीका योसुवा किम्मिखले बराबरी गोल फर्काए । प्रतिस्पर्धात्मक खेलको दुवै गोल दोस्रो हाफमा भएको थियो । घरेलु टोलीलार्ई दबाबमा राखे पनि जर्मनीले पहिलो गोल बेहोर्न पुगेको थियो ।

७०औं मिनेटमा लोरेन्जो पेलिग्रेनीले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए । उनले डेगनान्ड वेलफ्रेड जिनोन्टोको पासमा गोल गर्न सफल भएका थिए । तर, इटालीको त्यो अग्रता तीन मिनेट पनि टिकेन । ७३औं मिनेटमा योसुवा किम्मिखले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो । यो बराबरीपछि यी दुवै टोलीले समूहमा एक अंक जोडेका छन् । जर्मनी दोस्रो तथा इटाली तेस्रो स्थानमा रहेका छन् । इंग्ल्यान्ड पुछारमा तथा हंगेरी तीन अंक जोडेर शीर्षस्थानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्