जनताले पत्याए चार स्वतन्त्र उम्मेदवारलाई



लमजुङ । 

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन–२०७९ मा लमजुङका विभिन्न चार स्थानीय तहमा चार वडाध्यक्षसहित नौ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । लमजुङमा पालिका प्रमुखदेखि वडा सदस्यसम्मको पदका लागि १ हजार ४१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका थिए ।

जसमध्ये स्वतन्त्र उम्मेदवार वनेका ४ जना वडाध्यक्ष र दुई वडा सदस्य एक महिला सदस्य र एक दलित महिला सदस्य निर्वाचित भएका हन् । जिल्लाको राइनास नगरपालिका–३ मा दलीय राजनीतिलाई चुनौती दिँदै स्वतन्त्रको प्यानल नै निर्वाचित भएको छ । त्यस्तै, बेंसीशहर नगरपालिका–६ दोर्दी ३ र दूधपोखरी गाउँपालिका–३ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

राइनास नगरपालिका–३ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार देउवहादुर पौडेलको प्यानल विजयी भएको हो । पौडेलले ४ सय १३ मत ल्याएर नेपाली कांग्रेस र एमालेका उम्मेदवारलाई हराउनुभयो । वडा सदस्यमा कृष्णप्रसाद सापकोटा, विष्णुवहादुर पराजुली, महिला सदस्य सरस्वती पराजुली र दलित महिला सदस्यमा सञ्जु विक निर्वाचित हुनुभएको थियो ।वडाध्यक्ष पदका लागि बेंसीशहर–६ मा प्रकाश थापाले उम्मेदवारी दिनुभएको थियो । थापाले एमालेका नरवहादुर रिमाल, कांग्रेसका उद्धव बस्नेत र राप्रपाका धनप्रसाद गुरुङलाई हराउँदै ४ सय ६० मत ल्याएर वडाध्यक्षमा विजयी हुनुभएको हो । दोर्दी गाउँपालिका–३ मा स्वतन्त्र उम्मेदवार कृष्णवहादुर गुरुङ ५ सय ३० मत ल्याएर वडाध्यक्षमा निर्वाचित हुनुभयो ।

दूधपोखरीमा पनि एक जना मात्र स्वतन्त्र उम्मदेवार निर्वाचित भएका छन् । दूधपोखरीको वडा नं. ३ मा स्वतन्त्र उम्मेदवार श्याम गुरुङ निर्वाचित हुनुभएको हो । गुरुङ माओवादी केन्द्रका औतराम तामाङ र एमालेका मानवहादुर घलेलाई हराउँदै २ सय २८ मत ल्याएर निर्वाचित हुनुभएको हो ।जिल्लामा स्वतन्त्र उम्मेदवारी दिएकामध्ये ९ जनालाई मतदाताले ५ वर्षका लागि चुनेका हुन् । निर्वाचनमा स्वतन्त्र उम्मेदवार वनेका धेरैजसो दलले टिकट नदिएपछि स्वतन्त्रबाट निर्वाचनमा सहभागी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्