रुपन्देहीका ६ पालिकाका जनप्रतिनिधिद्वारा सपथ



बुटवल ।

रुपन्देहीका नवनिर्वाचित जनप्रतिनिधिहरूले सपथ लिनुभएको छ । पछिल्लो पटक नतिजा आएका ६ पालिकाका प्रमुख तथा अध्यक्षले सपथ लिनुभएको हो ।

बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, मर्चवारी गाउँपालिका, सम्मरीमाई गांउपालिका र गैंडहवा गाउँपालिकामा नवनिर्वाचित प्रमुख-अध्यक्षहरुले पद तथा गोपनियताको सपथ लिनुभयो ।

भैरहवाको बालमन्दिरमा सोमबार बिहान आयोजित एक कार्यक्रमकाबीच मुख्य निर्वाचन अधिकृत धनसिंह महराले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सपथग्रहण गराउनुभयो ।

सोमबार सपथ लिनेहरुमा बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेय,सैनामैना नगर प्रमुख फणिन्द्र शर्मा, लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख सजरुद्विन खाँन, मर्चवारी गाउँपालिका अध्यक्ष गयाप्रसाद बरई,सम्मरीमाई गाउँपालिका प्रमुख बिनोदकुमार श्रीवास्तव र गैंडहवा गाउँपालिका प्रमुख सुरेन्द्र पौडेलले सपथ लिनुभएको हो । उहाँहरुले आजै आ–आफ्नो पालिकामा अन्य जनप्रतिनिधिलाइ सपथ गराउने कार्यक्रम समेत छ ।

कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत धनसिंह महराले सबैको सदभाव र सहयोगले निर्वाचनका दौरान रुपन्देहीमा कुनै अप्रिय घटना नभएको बताउनुभयो । उहाँले निर्वाचनमा देखाएको उर्जा काममा पनि लगाउन आग्रह गर्नुभयो । सो अवसरमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जनतालाई केन्द्रमा राखेर कानूनमा रही काम गर्न जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।

उहाँले जनताले अनुभुति गर्ने गरी भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । उहाँले राजनीतिक दल, सुरक्षाकर्मी, पत्रकार लगायतको सहयोगले निर्वाचन सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्