भोट हालेर फर्किए ‘परदेशी’



बाँके  । 

नेपालगन्ज नाकामा यति बेला भारततिर जाने नेपालीको भीड छ । किनमेलका लागि जाने नेपालीले गर्दा सधैं भीड हुने यो नाकामा त्योसँगै भोट हालेर पुनः काम फर्किएका नेपालीको भीड देख्न सकिन्छ ।

वैशाख ३० गते भएको चुनावमा भाग लिन भारतमा रहेका नेपाली घर फर्किएका थिए । भोट हालिसकेका नेपाली पुनः काममा फर्किएका हुन् ।नेपालगन्ज पश्चिमको चलनचल्तीको नाका मानिन्छ । यो नाका भएर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका मानिस भारतका विभिन्न शहरमा कामका लागि जाने गर्दछन् । कर्णाली प्रदेशका दैलेख, जाजरकोट, रूकुम, रोल्पा, सल्यानका मानिसको यो नाकाबाट ओहोरदोहोर हुने गर्दछ ।

‘मौसमी’ काममा जाने नेपाली विशेष अवसरहरूमा घर फर्किने गर्दछन् । चाडबाड, खेतीपाती लगाउन र यस्तै चुनावहरूमा आउने र जाने गरिन्छ । चुनावमा भोट हाल्न आएका नेपालीहरू अहिले लर्को लागेर भारततिर फर्किरहेका छन् ।नेपालगन्ज नाकाबाट दैनिक ७ सय बढी मानिस भारत फर्किरहेका छन् । चुनाव सकिएसँगै फर्किनेको लर्को लागेको नाकामा रहेको इलाका प्रहरी कार्यालय, जमुनाहाका इन्चार्ज माधव रिजालले जानकारी दिनुभयो । ‘भोट हाल्न आएका नेपालीहरू धमाधम फर्किरहेका छन्’, जमुनाहाका इन्चार्ज रिजालले भन्नुभयो– ‘दैनिक ७ सय बढी फर्किरहेका छन् । यो संख्या बढ्दो छ ।’

भारतको सिमला, कालापहाड, प्रयाग, चण्डीगढलगायतका ठाउँमा नेपालीहरू बेमौसमी कामका लागि जाने गर्दछन् । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी जिल्लाका मानिस यी ठाउँमा गएर मजदुरी गर्दछन् । कतिपय परिवारसँगै गएका हुन्छन् । पहाडी जिल्लका मानिस समूह नै बनाएर मौसमी कामका लागि जाने गर्दछन् ।

आफ्नै उत्पादनले खान नपुग्नेहरू भारतमा मजदुरी गरेर जोहो गर्ने गर्दछन् । भारत जाने र आउने यस्ता मानिसहरू नेपालगन्ज नाकामा बाह्रैमास देखिन्छन् । फरक यति हो, चाडबाड, खेतीपाती र चुनावहरूमा धेरै देखिन्छन्, अरू बेला कम ।

नेपालगन्ज नाकाबाट विभिन्न शहरमा बससमेत जाने भएकाले यी मौसमी कामका लागि जाने नेपालीको कमाइ सुरक्षित हुने गरेको छ । तथापि, पहाडी जिल्लाका सोझा मानिसहरू नाकादेखि नेपालगन्ज हुँदै घरसम्म पुग्दा ठगिन्छन् ।भोट हालेर फर्किएका मानिस केही समयपछि फेरि घर फर्किन्छन्, खेती लगाउन । खेती लगाएर जानेहरू चाडबाडमा फर्किन्छन् । यो उनीहरूको वार्षिक तालिका नै हो भन्दा हुन्छ ।

प्रतिक्रिया दिनुहोस्