नीति तथा कार्यक्रममाथि गठबन्धन दलको छलफल



 काठमाडौं ।

जेठ १० गते संसद्मा प्रस्तुत हुने नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने विषयमा सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच आइतबार छलफल भएको छ । स्थानीय तहको निर्वाचनपछि पहिलोपटक बसेको प्रधानमन्त्री निवास वालुवाटारमा बसेको शीर्ष नेताको छलफलमा नीति तथा कार्यक्रममा समावेश गर्ने विषयमाथि छलफल भएको हो । जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका तर्फबाट आर्थिक वर्ष ०७९-०८० को नीति तथा कार्यक्रम पेस गर्नुहुने भएको छ ।

बैठकमा सहभागी कांग्रेसका नेता पूर्णबहादुर खड्काले जेठ १० गते संसदमा पेस हुने सरकारको नीति तथा कार्यक्रममाथि सामान्य छलफल र सुझाव दिएको बताउनुभयो । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नीति तथा कार्यक्रम महत्वाकांक्षीभन्दा जनताका समस्या सम्बोधन हुने विषय समेटेर ल्याउन सुझाव दिनुभएको थियो । नेपालको भनाइ उद्धृत गर्दै खडकाले भन्नृुभयो–‘कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी र सामाजिक सुरक्षाजस्ता विषयलाई सरकारको नीति तथा कार्यक्रममा जोड दिनुर्पछ । कृषिलाई प्राथमिकतामा राख्दै अर्थतन्त्रको मेरुदण्डका रूपमा विकास गर्ने योजना निर्माण गर्नुपर्ने सुझाव दिँदै नेपालले निजगढ विमानस्थल पूरा गर्नेलगायतका योजना समेट्नु पर्नेमा जोड दिनुभएको थियो ।

यसैबीच सत्तारूढ दलहरूले स्थानीय तह निर्वाचनमा गरेको गठबन्धनको समीक्षा सबै स्थानको नतिजा आएपछि मात्र गर्ने भएको छ । नेपाली कांग्रेस, नेकपा मओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताको बैठकमा चुनावको नतिजाबारे छलफल नभएको बताइएको छ । स्थानीय तहको चुनावको परिणामलाई लिएर सत्तारूढ दल कांग्रेस र माओवादी सन्तुष्ट भए पनि एकीकृत समाजवादी भने असन्तुष्ट बन्दै आएको छ । एकीकृत समाजवादीले स्थानीय तहको चुनावको मतपरिणामलाई लिएर समिक्षा गर्न आवश्यक भएको बताउँदै आएको छ । सत्ता गठबन्धनबीच चुनावी तालमेल भए पनि कांग्रेस र माओवादी केन्द्रले इमान्दारीपूर्वक आफ्नो पार्टीका उम्मेदवारलाई मत नदिएको एकीकृत समाजवादीको आरोप छ ।

७ सय ५३ वटा स्थानीय तहको निर्वाचनअन्तर्गत हालसम्म प्राप्त मतपरिणामअनुसार नेपाली कांग्रेसले ३ सय १४, नेकपा एमालेले १ सय ९४, नेकपा माओवादी केन्द्रले १ सय २०, जनता समाजवादी पार्टीले २९, नेकपा एकीकृत समाजवादी पार्टीले १७ र लोकतान्त्रिक समाजवादी पार्टीले १४ स्थानीय तहमा चुनाव जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्