३३ हजार ६ सयभन्दा बढी जनप्रतिनिधि निर्वाचित



काठमाडौं  ।

स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रममा आइतबारसम्म देशभर ३३ हजार ६ सयभन्दा बढी जनप्रतिनिधि निर्वाचित भइसकेका छन् ।

७ सय ५३ वटै स्थानीय तहमा गरी ३५ हजार २ सय २१ पदका लागि भएको निर्वाचनमा प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्यका लागि १ लाख ४५ हजार ११ जनाले उम्मेदवारी दिएका थिए । निर्वाचन आयोगको आइतबार साँझसम्मको मतपरिणामको तथ्यांकअनुसार स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी नेपाली कांग्रेसका उम्मेदवारले जितेका छन् । त्यसपछि नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवारले जितेका छन् ।

कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका १३ हजार २ सय उम्मेदवार विभिन्न पदमा निर्वाचित भइसकेका छन् । प्रमुखमा १ सय २८, अध्यक्षमा १ सय ८६, उपप्रमुखमा १ सय १, उपाध्यक्षमा १ सय ९०, वडा अध्यक्षमा २ हजार ५ सय ६४, महिला सदस्यमा २ हजार ५ सय ६, दलित महिला सदस्यमा २ हजार ४ सय ५२ र सदस्यमा ५ हजार ८९ जना कांग्रेसका उम्मेदवार विजयी बनेका छन् ।

कांग्रेसपछि दोस्रो ठूलो संख्यामा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । आयोगका अनुसार विभिन्न पदमा हालसम्म एमालेका ११ हजार ३ सय ८० जना उम्मेदवार विजयी बनेका छन् । विजयी हुने एमाले उम्मेदवारमा प्रमुख पदमा ७१, अध्यक्षमा १ सय २१, उपप्रमुखमा ९५, उपाध्यक्षमा १ सय २२, वडा अध्यक्षमा २ हजार ५६, महिला सदस्यमा २ हजार २ सय ४१, दलित महिला सदस्यमा २ हजार ४ सय ५२ र सदस्यमा ४ हजार ४ सय ९६ जना रहेका छन् ।

माओवादीका हालसम्म ४ हजार ९ सय ३० जना उम्मेदवार विजयी बनेका छन् । प्रमुखमा २४, उपप्रमुखमा ३२, अध्यक्षमा ९६, उपाध्यक्षमा ९५, वडा अध्यक्षमा १ हजार ३२, महिला सदस्यमा ९ सय ४०, दलित महिला सदस्यमा ९ सय ४९ र सदस्यमा १ हजार ७ सय ६४ जना माओवादी उम्मेदवारले जित निकालेका छन् ।

जसपा नेपालका ३ हजार ३ सय ९१ जना उम्मेदवारले जितेको आयोगले जनाएको छ । यीमध्ये अध्यक्षमा २०, उपप्रमुखमा ११, उपाध्यक्षमा १८, वडा अध्यक्षमा २ सय ८०, महिला सदस्यमा २ सय ७४, दलित महिला सदस्यमा २ सय ७२ र सदस्यमा ५ सय ४६ जनाले जित निकालेका हुन् ।आयोगका अनुसार हालसम्म अन्य साना दल र स्वतन्त्र उम्मेदवारी दिने २ हजार ६ सय ९१ जना विजयी बनेका छन् ।

अन्य दल र स्वतन्त्रका २७ जनाले प्रमुखमा, २९ जनाले अध्यक्षमा, २० जनाले उपप्रमुखमा, २७ जनाले उपाध्यक्षमा, ५ सय ६२ जनाले वडा अध्यक्षमा, ५ सय जनाले महिला सदस्यमा, ४ सय ८५ जनाले दलित महिला सदस्यमा र १ हजार ३२ जनाले सदस्यमा जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्