पर्सामा एमालेको वर्चस्व, माओवादी केन्द्र शून्य, मुस्किलको पौरखले अन्य पार्टीको जोगियो साख !

वीरगन्जमा एमालेलाई जित्न गाह्रो



वीरगन्ज । वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम अद्यावधिक हुनेक्रम जारी छ । पछिल्लो अद्यावधिक मरिणामअनुसार वीरगन्जमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को वर्चस्व हाबी भएको छ ।

यद्यपि यसअघिको निर्वाचन (२०७४)को तुलनामा यसपटक पर्सामा भने एमालेले उल्लेख्य सुधार गरेको छ । जिल्लाका १४ स्थानीय तहमध्ये वीरगन्ज महानगरपालिका बाहेक १३ पालिकाको मतपरिणाम अद्यावधिक भएको छ । अद्यावधिक परिणामअनुसार अधिकांश पालिकामा एमालेका प्रत्यासी विजयी भएका छन् ।

उसले ५ वटा पालिकामा विजय हासिल गर्दा नेपाली कांग्रेसले ४, जनता समाजवादी पार्टी (जसपा)ले ३ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले १ स्थानीय तहमा विजय गरेको छ ।

एमाले २ नगरपालिका र ३ गाउँपालिकामा विजयी हुँदा कांग्रेस ४ गाउँपालिकामा विजयी भएको छ । जसपा १ नगरपालिका सहित २ वटा गाउँपालिकामा विजयी हुँदा १ गाउँपालिकामा लोसपाले विजय हसिल गरेको छ ।

पर्सागढी र पोखरिया नगरपालिका र ठोरी, छिपहरमाई तथा सखुवाप्रसौनी गाउँपालिकामा एमालेका प्रत्यासीहरू विजयी भएका छन् । जिराभवानी, पकाहामैनपुर, जगरनाथपुर र पटेर्वासुगौली गाउँपालिकामा भने कांग्रेसले विजय हासिल गरेको छ ।

बहुदरमाई नगरपालिका सहित धोबिनी र कालिकामाई गाउँपालिकामा जसपा विजयी हुँदा बिन्दवासिनी गाउँपालिकामा लोसपाले विजय हासिल गरेको छ ।

यसअघिको निर्वाचनमा जगरनाथपुर, छिपहरमाई गाउँपालिकामा विजयी भएको माओवादी केन्द्र यसपटक शून्यमा सिमित हुनुपर्यो । माओवादी केन्द्रबाट विजयी भएका छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोजकुमार गुप्ता यसपटक एमालेबाट पुनः अध्यक्ष पदमा विजयी भएका छन् ।

वीरगन्जमा जित्न गाह्रो

पर्सामा पहिलो पार्टी बनेको नेकपा (एमाले)लाई वीरगन्ज महानगरपालिका विजय हुन निकै कठिन हुने अवस्था देखिएको छ । महानगरपालिमाका केही वडामा अहिले पनि मतगणना जारी रहेको छ ।

एमालेका प्रत्यासी विजय सरावगीभन्दा गठबन्धनका साझा प्रत्यासी राजेशमान सिंहको फराकिलो मतान्तरले अग्रता छ । महानगरमा एमाले विजयी हुने सम्भावना न्यून रहेको नेताहरूले आकलन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्