स्थानीय निर्वाचन : कांग्रेस खुसी, एकीकृत समाजवादी बेखुसी



 काठमाडौं ।

स्थानीय तहको निर्वाचनअन्तर्गत मतपरिणाम आउने क्रम जारी छ । एक सातादेखि जारी मतगणनामा अधिकांश गाउँपालिका र नगरपालिकाहरूको मतपरिणाम सार्वजनिक भइसकेको छ भने महानगर र उपमहानगरपालिकाको मतगणना जारी नै छ ।
यो समाचार तयार पार्दासम्म करिब ६ सय ६३ स्थानीय तहको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ, जसमा नेपाली कांग्रेसले ३ सय ५, नेकपा एमाले १ सय ८८, नेकपा माओवादी केन्द्रले १ सय २०, जनता समाजवादी पार्टीले २४, नेकपा एकीकृत समाजवादीले १७ र लोकतान्त्रिक समाजवादी पार्टीले १० स्थानीय तहमा विजयी हासिल गरेका छन् ।

गत स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी बनेको नेकपा एमालेले यस पटकको निर्वाचनमा विरासत जोगाउन सकेन । यता सत्ता गठबन्धन बनाएर स्थानीय तहको निर्वाचनमा सहभागी भएको पाँच दलीय गठबन्धनभित्र भने चुनावी परिणामको विषयलाई लिएर असन्तुष्टि चुलिएको छ । गठबन्धनको लाभ सबैभन्दा बढी नेपाली कांग्रेसलाई पुगेको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा २ सय ६६ स्थानीय तहको निर्वाचन जितेको कांग्रेसले यसपटक ३ सय ६ स्थानीय तहमा जित हासिल गरेको छ ।

यता माओवादी केन्द्रले पनि गठबन्धनबाट अपेक्षाकृत सफलता हात पार्दा नेकपा एकीकृत समाजवादी भने रुष्ट बनेको छ । एकीकृत समाजवादीले कांग्रेस र माओवादीले गठबन्धनमा अपेक्षाकृत रूपमा सहयोग नगरेको बताएको छ । एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठले सत्ता गठबन्धनका दलहरूबीच चुनावी तालमेल भएको स्थानीय तहमा इमान्दारीताको साथ गठबन्धनका उम्मेदवारलाई मतदान नगरेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो– ‘सत्ता गठबन्धनका उम्मेदरलाई जिताउन जसरी सत्ता गठबन्धनभित्रका दलहरू तयार हुनुपर्दथ्यो, त्यसो हुन सकेको देखिएन ।’ यसको बारेमा समीक्षा हुन आवश्यक रहेको विषय आफूहरूले पार्टीमा उठाएको श्रेष्ठले बताउनुभयो ।
गठबन्धनकै कारण मकवानपुरको हैटाैंडा उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीकी मिना कुमारी लामा नगरप्रमुखमा निर्वाचित हुनुभएको छ । त्यसै गरी पोखरा उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले अग्रता कायमै राख्दै आउनुभएको छ ।

नेपाली कांग्रेसका नेता राजन केसीले भने सत्ता गठबन्धन भएको ठाउँमा इमान्दारपूर्वक नै पार्टीले भूमिका खेलेको दाबी गर्दै भन्नुभयो– ‘गठबन्धन भएको ठाउँमा पार्टीले गठबन्धनका उम्मेदवार जिताउन भूमिका खेलेको छ ।’स्थानीय तहको चुनावी परिणामप्रति नेकपा माओवादी केन्द्र भने खुसी देखिएको छ । माओवादीले गत स्थानीय तहको निर्वाचनमा भन्दा यसपटकको निर्वाचनमा राम्रो सफलता हात पारेको छ । गत स्थानीय तहमा माओवादीले ७ सय ५३ स्थानीय तहमध्ये १ सय ६ वटा स्थानीय तहमा जितेको थियो ।

नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले गठबन्धन गरेर पार्टीले अपेक्षा गरेअनुसार नै पालिका जित्न सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो–‘नेकपा एमालेमा अहमता धेरै थियो, त्यो तोडिएको छ, हामीले पनि राम्रो संख्यामा चुनाव जित्न सफल भएका छौं ।’ गत निर्वाचनमा २ सय ९४ पालिकाको नेतृत्व जितेको एमालेले भने यसपटक १ सय ८८ स्थानीय तहमा मात्र जित हासिल गरेको छ । यद्यपि, अझै पनि केही स्थानीय तहमा मतगणना हुन बाँकी नै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्