सडक र सदन एकातिर सेलिब्रेटी अर्कातिर

मोडलमाथि शृंखलाबद्ध बलात्कार प्रकरण



काठमाडौं । 

एक मोडल युवतीमाथि भएको बलात्कार प्रकरणमा सडक र सदन एकातिर तथा सेलिब्रेटीहरू अर्कोतिर देखिएका छन् ।
आठ वर्षअघि आफूमाथि भएको बलात्कारको घटनालाई सामाजिक सञ्जालको भिडियो बयानमार्पmत सार्वजनिक गरेपछि सो घटनालाई लिएर सडकदेखि सदनसम्म तातेको छ ।

ती मोडल युवतीले १६ वर्षको उमेरमा ब्युटी कन्टेस्टका आयोजक तथा नयाँ बानेश्वरस्थित थापागाउँको मोडल ग्लोबल भिसाज कन्सलटेन्सीका सञ्चालक मनोज पाण्डेले मिस ग्लोबल इन्टरनेसनल २०१४ नामक प्रतियोगितामा सहभागी हुन लगाएको तथा त्यस अवसरमा पाँचतारे होटल एभरेस्टमा सक्सेज पार्टी आयोजना गरी झुक्याएर नशालु पदार्थ सेवन गराई बलात्कार गरेको टिकटकमा भिडियो पोस्ट गरी जानकारी गराएकी थिइन् । फस्ट रनर्सअप भएका कारण आयोजक पाण्डेले सक्सेज पार्टीमा बोलाएको र लामो समयसम्म पार्टी शुरू नभएको, पाण्डेले दिएको नशालु पदार्थ मिसाइएको लमोनेट पिएका कारण शारीरिक रूपमा असहज भएकाले पाण्डेकै सल्लाहमा सहभागीहरूलाई आराम गर्न व्यवस्था गरिएको भनिएको सोही होटलको कोठामा गएर आराम गर्दा बेहोस अवस्थामा आफूलाई बलात्कार गरेर भिडियो बनाई त्यही भिडियो सार्वजनिक गरिदिने धम्की दिएर लगातार ६ महिनासम्म बलात्कार गरेको उनले टिकटक भिडियोमा जानकारी गराएकी छन् ।

सडकदेखि सदनसम्म उठ्यो न्यायको आवाज

विभिन्न भागमा शृंखलाबद्धरूपमा सार्वजनिक टिकटिक भिडियोअनुसार आठ वर्षदेखि विभिन्न समयमा पाण्डेसँगै अन्यबाट पनि पाइला पाइलामा बलात्कार पर्दै आएकी उनको न्यायका लागि बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडिदेखि माइतीघर मण्डलासम्म प्रदर्शन भएका छन् भने सदनमा समेत चर्को आवाज उठेको छ । माइतीघर मण्डलका प्रदर्शनकारीले बलात्कारी होस् तँ भन्दै घटनाकी पीडित युवतीलाई न्याय दिलाउन सबैलाई अपिल गरेका छन् । उनीहरूले दोषीलाई कारबाही गर्नुपर्ने तथा बलात्कार र यौनजन्य घटनाको तत्काल निर्णय गर्न छुट्टै अदालतको स्थापना हुनुपर्ने, बलात्कारसम्बन्धी घटनाको न्याय निरुपणमा हदम्याद खारेज गर्नुपर्नेजस्ता माग पनि अघि सारेका छन् ।

बलात्कारको हदम्यादमा पुनर्विचार गर्न माग

सडकमा भएको प्रदर्शनदेखि सदनसम्म बलात्कारको घटनामा समयको हदबन्दीमाथि पुनर्विचार गर्नुपर्ने आवाज चर्किएको छ ।
शुक्रबार किशोरी बलात्कारको घटनाबारे सभामुखको ध्यानाकर्षण गराउँदै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बलात्कारको अपराधमा विद्यमान हदबन्दीमाथि पुनर्विचार गर्न माग गरे । ‘सभामुखज्यूमार्फत नेपाल सरकारले तत्कालै अभियुक्तलाई अनुसन्धानमा ल्याउन माग गर्दछु । साथै यसै संसद्ले बनाएको बलात्कारसम्बन्धी कानुन फौजदारी संहिताको खास गरी हदम्यादसम्बन्धी विषयका सन्दर्भमा पुनर्विचार गर्न सरकारलाई निर्देशन दिन माग गर्दछु’, थापाको मागपछि सभामुख अग्निप्रसाद सापकोटाले घटनाको छानबिन गर्न रुलिङसमेत जारी गरे । संघीय संसद् प्रतिनिधिसभाका अन्य सांसदले पनि पीडित युवतीलाई न्याय दिन र दोषीमाथि तत्काल कारबाही गर्न सरकारसँग माग गरेका छन् ।
यसैबीच घटनबारे छानविन गर्न गृह मन्त्रालयले वरिष्ठ प्रहरी उपरीक्षक वसन्त कुँवरको संयोजकत्वमा समिति गठन गरेको छ । समितिले शनिबारबाटै काम शुरू गरिसकेको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्तिमार्पmत जानकारी गराएका छन् । घटनाको छानविनका क्रममा प्रहरीले विभिन्न सम्बन्धका नाममा विभिन्न व्यक्तिबाट लगातार बलात्कार र यौन शोषणमा परेका कारण वर्षौंदेखि डिप्रेसन भई औषधि सेवन गर्दै आएकी पीडित युवतीलाई निवासमै पुगेर सम्पर्क गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी वसन्तबहादुर कुँवरले उनको घरमा पुगेर वास्तविकताबारे अनुसन्धान भइरहेको जानकारी गराएका छन् ।

पीडितको कुरा नसुनेको माल्भिकाको स्वीकारोक्ति

पीडित किशोरीले सोही समयमा सहयोगका लागि गुहार माग्दा पूर्वनेपाल सुन्दरी माल्भिका सुब्बाले गैरजिम्मेवारपूर्वक जवाफ फर्काएर पन्छिएका कारण उनको तीव्र आलोचना भएको छ ।आलोचना बढ्न थालेपछि सुब्बाले आफूलाई पीडित किशोरीले फोन गरेर सहयोग मागेको स्वीकार गर्दै क्षमायाचना गरेकी छन् । यो अक्षम्य छ र मैले तिमीबाट माफीको अपेक्षा गरेको छैन । तिम्रो कुरा राम्ररी नसुनेकोमा, तिमीलाई विश्वास नगरेकोमा र तिमीलाई सहयोग नगरेकोमा अत्यन्तै ग्लानि महसुस गरेकी छु । मैले महसुस गर्नुपथ्र्यो कि जब मैले हल्लाहरू (उनीहरू अफेयरमा छन् भन्ने) सुन्न थालेँ, त्यस बेला तिमी केवल १६-१७ वर्षकी थियौ । मैले आयोजकसँग कुरा गर्नुपथ्र्याे र दृढ अडान लिनुपथ्र्याे । तर, मैले त्यसो नगर्ने निर्णय लिएँ । समयसमयमा महिला अधिकारको चर्को वकालत गर्ने माल्भिकाले सामाजिक सञ्जालमा उल्लेख गरेकी छन् ।

महिलाका विषय आउनासाथ अघि सरेर आवाज उठाउने थुप्रै अभिनेत्री तथा नेपाल सुन्दरीले भने यस मामलामा सुब्बाको पक्ष लिएका छन् । उनीहरूले सामाजिक सञ्जालमा माल्भिकाले माफी मागिसकेको उल्लेख गर्दै उनलाई नआत्तिन र हिम्मत नहार्न शक्ति मिलोस् भन्ने प्रतिक्रिया दिएका छन् । अभिनेता असिफ शाहले भने नेपाली सेलिब्रेटीले सुब्बालाई प्रोत्साहन गर्नु गलत भएको उल्लेख गरेका छन् । डबल स्ट्यान्डर्ड नेपाली सेलिब्रेटी भनाउ“दाहरू मोर पावर टु यु दिदीको नारा लाउँदै छन् । वाहियातहरू, गल्ती स्वीकार्दैमा गल्ती कम हुन्छ ? जिरो टोलेरेन्स (शून्य सहनशीलता) का नाटककर्ताहरू । नो पावर टू यू ।

पीडित युवतीले आफू पटकपटक बलात्कृत भएपछि मद्दतका लागि फोन गर्दा माल्भिकाले ‘यो मेरो समस्या होइन । मलाई किन सुनाइरहेको छौ ? तिमी रेप भएको हो, त्यो तिम्रो समस्या हो भनेर फोन राखेको जनाएकी छन् । पीडित युवतीले धेरैजसो अंग्रेजी भाषामा बोलेर कहिले आक्रोश पोख्दै र कहिले रोदन छर्दै बनाएको भिडियोका कतिपय प्रसंगमा अमर्यादित शब्दसमेत प्रयोग गरेकी छन् ।आयोजकको आग्रहमा मोडलको फोटोसुट गरिदिएका सञ्चारकर्मी तथा फोटो पत्रकार श्रीधर पौडेलले तथ्य नबुझी सामाजिक सञ्जालमा आफ्नो तस्बिर दुरुपयोग गर्दै चरित्रहत्या गरिएको भन्दै प्रहरीको साइबर ब्युरोमा निवेदन दिएका छन् । पौडेलले गालीगलौज र झुटो लाञ्छना लगाउने फेसबुक, इन्स्टाग्राम तथा टिकटकका अकाउन्टको विवरणसहित आप्mनो तस्बिर प्रयोग गरेको आरोपका साथ ब्युरोमा ठाडो उजुरी दिएका हुन् ।

पाण्डे पक्राउ

देशैभरि हलचल मच्चाएको सौन्दर्य प्रतियोगिताको आडमा भएको बलात्कार काण्डमा नाम मुछिएका सोही प्रतियोगिताका आयोजक मनोज पाण्डे शनिबार काठमाडौंको स्वयम्भुबाट पक्राउ परेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालय स्वयम्भुबाट खटिएको टोलीले पाण्डेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक पाण्डेले सन् २०१५ मा मिस ग्लोबल इन्टरनेसनल नामक प्रतियोगिता आयोजना गरेको र प्रतियोगिता सकिएपछि ‘सक्सेस पार्टी’ का लागि भन्दै बानेश्वरको एभरेस्ट होटलमा बोलाएर बलात्कार गरेको पीडितको आरोप छ । त्यति मात्र होइन, पाण्डेले त्यस दिन तस्विर र भिडियो खिचेर छ महिनासम्म ब्ल्याकमेल गर्दै जबरजस्ती करणी गरेको पनि पीडितको भनाइ छ ।

बुधबार पीडितले सामाजिक सञ्जालमार्फत आफू नाबालिग छँदा पाण्डेले आफूमाथि बलात्कार र यौन शोषण गरेको आरोप लगाएपछि यो विषय राष्ट्रिय चासोको मुद्दा बनेको हो । पीडितले पोस्ट गरेको भिडियोबारे चासो देखाउँदै गृहमन्त्री बालकृष्ण खाँणले घटनाको अनुसन्धान गरी आवश्यक कारबाही गर्न निर्देशन दिएका थिए ।सोही निर्देशनअनुसार प्रहरी प्रधान कार्यालयले शुक्रबार प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरको नेतृत्वको समितिमा प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुडाल, प्रहरी नायव उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का सम्मिलित पाँच सदस्यीय समिति गठन गरेको छ ।

संसद्मा समेत शुक्रबार यो विषयमा ध्यानाकर्षण गराइएपछि सभामुख अग्निप्रसाद सापकोटाले यससम्बन्धमा छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्