सिन्धुलीका निर्वाचित ९ पालिका प्रमुखले लिए सपथ

अधुरा काम पुरा गर्ने देखि, द्धन्द्धका पिडितहरुको घाउँमा मलमपट्टी लगाउने योजना



सिन्धुली ।

सिन्धुलीका ९ स्थानीय तहका प्रमुख-अध्यक्षहरुले सपथ ग्रहण गर्नुभएको छ । सिन्धुली जिल्ला अदालतमा शुक्रवार आयोजित एक कार्यक्रमका बीच उनीहरुलाई सिन्धुली जिल्ला अदालतका न्यायाधीश महेन्द्र बहादुर कार्कीले सपथ ग्रहण गराउनुभएको हो ।

विहीवार राती सम्म जिल्लाको ९ वटै स्थानीय तहको मत गणनाको कार्य सकिएर अन्तिम नजिता आएपछि सपथ ग्रहण गराईएको हो । शुत्रवार सपथ लिनेहरुमा कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र पोखरेल, दुधौली नगरपालिकाका प्रमुख दिनेश अधिकारी दनुवार, तिनपाटन गाउँपालिका अध्यक्ष कर्ण बहादुर मगर, फिक्कल गाउँपालिका अध्यक्ष पार्वती सुनुवार, गोलन्जोर गाउापालिका अध्यक्ष शंकरराज बराल, सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहाल, घ्याङलेख गाउँपालिका अध्यक्ष जगत बहादुर भोलन, मरिण गाउँपालिका अध्यक्ष विमर्श मोक्तान(प्रख्यात) र हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाईबा रहनुभएको छ ।

सपथ लिएका अध्यक्षहरुले आ–आफ्नो पालिकाको उपप्रमुख, वडा अध्यक्षहरु र वडा सदस्यहरुलाई सपथ ग्रहण गराउने जिल्ला न्यायाधीश कार्कीले बताउनुभयो । स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५५ बमोजिम ५ वर्षे कार्यकालको लागि निर्वाचित जनप्रतिनिधिहरुले आईतवारदेखि जिम्मेवारी सम्हाल्नेछन् । सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै रमेश न्यौपानेले जनताको अपेक्षा अनुसार कार्य सम्पादन गर्नलाई नवनिर्वाचित प्रमुख-अध्यक्षहरु समक्ष आग्रह गर्नुभएको छ । त्यस्तै सिन्धुलीका मुख्य निर्वाचन अधिकृत ध्रुव प्रसाद सापकोटाले उम्मेदवार, राजनितिक दल र कर्मचारीहरु, सुरक्षा कर्मी र मतदाताहरु लगाएत सबै पक्षको प्रभावकारी समन्वय र सहयोगले शान्तिपुर्ण तरिकाले निर्वाचन सम्पन्न भएको बताउनुभयो ।

उहाँले निर्वाचित प्रमुख-अध्यक्षहरुले जनताको आवश्यकता अनुसारको काम गर्दै पाँच बर्षे कार्यकाल सम्पन्न गर्न सफलता मिलोस् भन्ने शुभकामना दिनुभयो । सपथ ग्रहण पश्चात जिल्लाका सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिदै नवनिर्वाचित पाकिला प्रमुख-अध्यक्षहरुले नागरिकको आवश्यकताहरुलाई मध्येनजर गर्दै शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी सिर्जना लगाएतलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ । दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएकी सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहालले पहिलो कार्यकालमा पुरा नभई अधुरा रहेका योजनाहरुलाई पुरा गर्न पहिलो प्राथमिकता दिने बताउनुभयो ।

उहाँले कृषिसँग सम्बन्धित विभिन्न योजनाहरु बनाएर पालिकाका नागरिकहरुलाई आयआर्जनमुलक क्षेत्रमा जोड्ने बताउनुभयो । उहाँले सुनकोशी गाउँपालिकाका युवाहरुलाई गाउँमै रोजगारी सिर्जना गरी विदेशीनु पर्ने बाध्यताबाट मुक्त बनाउने योजना रहेको बताउनुभयो । उहाँले महिला हिँसा र महिला स्वतन्त्रताका लागि महिलाहरुलाई आर्थिक रुपमा बलियो बनाउनु पर्ने भएकाले त्यस किसिमका कार्यक्रमहरु पालिकाले संचालन गर्ने बताउनुभयो । मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान(प्रख्यात)ले कृषिलाई आधुनिकीकरण गर्दै सिँचाई लगाएत अन्य कुराहरुको सुविधा दिई उत्पादन वृद्धि गर्ने अभियानमा लाग्ने बताउनुभयो ।

उहाँले पालिका भित्र निःशुल्क शिक्षा गर्न प्रयास गर्ने, गरिव र विपन्न नागरिकहरुको निःशुल्क स्वास्थ्य बिमा गर्ने, सडकहरुको स्तरउन्नती गर्ने बताउनुभयो । उहाँले आफुँ माओवादीको एक पुर्व लडाकु भएकाले पालिका भित्रका सहिद परिवार, घाईते, अपाङ्गहरुलाई भत्ताको व्यवस्था गर्ने बताउनुभयो । पुर्व लडाकुहरुको जिविको पार्जनकालाई आयआर्जन मुलक क्षेत्रमा लगानी गर्ने गरी सहुलियत कर्जा लगाएतको व्यवस्था गरेर द्धन्द्ध पिडित परिवारको घाउमा मलमपट्टी लगाउने खालका कार्यक्रम र योजना ल्याउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्