भक्तपुरका चारवटै नगरको नतिजा सर्वजनिक : दुई नगरमा कांग्रेस,एकमा एमाले र एकमा नेमकिपा विजयी

कुन पार्टीले कति वडा जिते ?



भक्तपुर ।

भक्तपुरका चार वटै नगरपालिकामा भएको स्थानीय तह निर्वाचनको मतगणनाको नतिजा सर्वजनिक भएको छ । बुधबार बिहानै सूर्यविनायक नगरपालिकाको नतिजा आएसंगै जिल्लाका सबै स्थानीय तहको नतिजा आएको हो ।
पछिल्लो नतिजा अनुसार, सूर्यविनायक नगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेद्वार वासुदेव थापा विजयी भएका छन् । उनी निवर्तमान नगरप्रमुख पनि हुन् ।
गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उमेदवार निशान ढुंगेललाई पराजित गर्दै थापा निर्वाचित भएका हुन् ।

यसैगरी उपप्रमुखमा एमालेकै उमेदवार सरिता भट्टराईले १४ हजार ७८५ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम् प्रतिद्धन्द्धी गठबन्धनको तर्फबाट नेकपा एकिकृत समाजवादीका श्याम सुन्दर बस्नेतले ६ हजार ६ सय ४१ मत पाएका छन् ।

मत परिणाम अनुसार जिल्लाका चार नगरपालिका मध्ये नेपाली कांग्रेसले दुई वटामा नगर प्रमुख जितेको छ । कांग्रेसले मध्यपुर थिमि र चाँगुनारायण नगरपालिकाको प्रमुख जितेको हो ।

२०७४ को निर्वाचनमा कांग्रेसले मध्यपुरको उप प्रमुखमा मात्र चित्त बुझाएको थियोे । त्यसैगरी नेकपा एमालेले सुर्यविनायकको नगर प्रमुख र उप प्रमुख तथा चाँगुनारायणाको उप प्रमुखमा जित हात पारेको छ ।

५ बर्ष अघि चाँगुनारायणमा पनि एमालले प्रमुख र उपप्रमुख जितेको थियो ।

यसैगरी नेपाल मजदुर किसान पार्टीले भक्तपुर नगरपालिकाको प्रमुख र उप प्रमुखमा जित हात पारेको छ भने माओवादी केन्द्रले कांग्रेससँगको गठबन्धनबाट मध्यपुर थिमिको उपप्रमुखमा जित हात पारेको छ ।

मध्यपुरमा कांग्रेस –माओवादी केन्द्र गठबन्धन अन्तर्गत प्रमुखमा कांग्रेसबाट सुरेन्द्र श्रेष्ठले जितेका छन् भने माओवादी केन्द्रबाट बिजयकृष्ण श्रेष्ठले ।
उता चाँगुनारायण नगरपालिकामा प्रमुखमा कांगे्रसका जीवन खत्री र उपप्रमुखमा एमालेबाट रमेश बुढाथोकीले बिजय हासिल गरेका छन् ।

भक्तपुर नगरपालिकामा पुरानो जितलाई अझ बलियो मतले निरन्तरता दिंदै नेपाल मजदुर किसान पार्टीले नगरप्रमुखमा सुनिल प्रजापति र उपप्रमुखमा रजनी जोशीलाई जिताउँदै १० वटै वडामा सेट सहित शतप्रतिशत रुपमा स्थानीय सत्ताको साँचो हातमा लिएको छ ।यसैकारण यहाँ अन्य दलको आवाज विगतमा जस्तै सुनिने कुनै गुन्जायस छैन ।

जिल्लाका ३८ वटा वडामध्ये नेपाली काँग्रेसले सबैभन्दा बढी १५ वटा वडामा जित हात पारेको छ । काँग्रेसले सूर्यविनायक नगरका १० मध्ये पाँच वडा अध्यक्ष जितेको छ । त्यस्तै मध्यपुरका ९ मध्ये १, २, ३, ५, ६ र ९ गरी छ वटा वडामा विजय भएको छ । त्यसैगरी चाँगुनारायणका नौ मध्ये १, २, ५ र ८ गरि चार वटामा जित हात पारेको छ ।

त्यसैगरी मजदुर किसान पार्टीले भक्तपुरका १० वटा सबै, मध्यपुरको ८ र चाँगुनारायणको ९ गरि १२ वडा जितेको छ ।
नेकपा एमालेले सूर्यविनायकका १, ५, ७, ८ र १० गरि पाँचवटा, मध्यपुर थिमिका ४ र ७ गरि दुईवटा र चाँगुनारायणका ३ र ४ गरि नौ वटा वडा जित्न सफल भएको छ ।

यसैगरी स्थानीय तहमा पहिलोपटक राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि चाँगुनारायण नगरपालिकाका ६ र ७ नं. वडामा जित दर्ता गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्