प्रचण्ड र आरजु निर्वाचन आयोगको स्पष्टीकरणमा



काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवालाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । भरतपुरमा चुनावी सभालाई सम्बोधन गर्ने क्रममा प्रचण्डले दिएको अभिव्यक्ति र आरजुले पार्टीका विभिन्न सार्वजनिक कार्यक्रममा अभिव्यक्त गरेको अभिव्यक्तिमाथि केन्द्रित रहेर आयोगले २४ घन्टे स्पष्टीकरण सोधेको हो ।

सत्ता गठबन्धनले आयोजना गरेको चितवनको भरतपुर महानगरपालिकामा प्रचण्डले चुनावी सभामा रूखवालाले हँसिया हतौडामा भोट हालिँदैन भन्यो भने देश दुर्घटनामा जान सक्छ भन्ने अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिमाथि आयोगले स्पष्टीकरण दिन भनेको छ ।

यस्तै नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवालाई पनि आयोगले स्पष्टीकरण सोधेको छ । आरजुले सुदूरपश्चिमका केही जिल्लामा आयोजित कांग्रेसका चुनावी सभालाई सम्बोधन गर्दै चार पाँच जनाका दरले वैदेशिक रोजगारीमा युवालाई पठाउने, कांग्रेसलाई मेयर नजितेका ठाउँमा बजेट नपठाउने जस्ता अभिव्यक्ति दिएकी थिइन् । उक्त अभिव्यक्तिलाई लिएर निर्वाचन आयोगले मंगलबार २४ घन्टे स्पष्टीकरण सोधेको छ ।

प्रतिक्रिया दिनुहोस्