परियार हत्याप्रति कांग्रेसको ध्यानाकर्षण



हेटौंडा  । 

नेपाली कांग्रेस वागमती प्रदेश अधिवेशन प्रतिनिधि अनिल परियारको आइतबार राति अज्ञात समूहद्वारा भरतपुरमा धारिलो हतियार प्रयोग गरी भएको हत्याप्रति नेपाली कांग्रेस वागमती प्रदेश समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।वागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले विज्ञप्ति जारी गर्दै यस्तो आपराधिक क्रियाकलापको प्रदेश समिति निन्दा गर्दै दोषीलाई कारबाहीको माग गर्नुभएको हो ।

‘स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेसका जुझारु सदस्य परियारको हत्या हुनु लोकतन्त्र, आवधिक निर्वाचन, वाक स्वतन्त्रताप्रतिको प्रहारमात्र नभई वर्तमान गठबन्धनविरुद्ध समेत प्रहार भएको हाम्रो ठहर छ । नेपाली कांग्रेस र गठबन्धनलाई कमजोर बनाउन गरिएको यस्तो आपराधिक क्रियाकलापको प्रदेश समिति निन्दा गर्दछ ।’ –विज्ञप्तिमा भनिएको छ ।

नेपाली कांग्रेस वागमती प्रदेश समितिले यस्ता घटना दोहोरिन नदिन सुरक्षा निकाय चनाखो रहनुपर्नेतर्फ सचेत गराउँदै निर्बाध ढंगले चुनावी अभियान  सञ्चालन गर्दै भयरहित, स्वतन्त्र र निष्पक्ष ढंगले निर्वाचन सम्पन्न गर्ने वातावरणका लागि सम्बन्धित सबै पक्षसँग आग्रह गरेको छ । आइतबार राति करिब ७ः३० बजे भरतपुर–१२ निवासी परियारको भरतपुर–७ कृष्णपुरको फुटबल मैदाननजिक हत्या भएको थियो ।

प्रशासनले दोषी पत्ता नलगाएको र पार्टी नेतृत्वले घटनालाई गम्भीरतापूर्वक नलिएको आरोप लगाउँदै मृतक परियारनिकट युवाले प्रदर्शन गरेका थिए ।नेपाल प्रहरीले चितवनमा नेपाली कांग्रेसका नेता परियारको हत्या घटना निर्वाचनसँग सम्बन्धित नभएको बताएको छ । घटना व्यक्तिगत रिसइबीका कारण भएको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट खुलेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्