मौन अवधि जारी



काठमाडौं । 

स्थानीय तह निर्वाचनको मौन अवधि मंगलबार मध्यरातिबाट जारी भएको छ । हिजो मध्यराति १२ बजेदेखि मतदानको दिन वैशाख ३० गते १२ बजेसम्मको अवधिलाई मौन अवधि मानिएको छ ।

मतदान हुने ४८ घण्टा अघिदेखि मतदानको काम पूरा नभएसम्म निर्वाचित हुने पदका लागि कुनै उम्मेदवारको पक्ष र विपक्षमा मत लिने वा दिने उद्देश्यले कुनै किसिमको प्रचारप्रसार गर्न नदिने प्रावधान रहेको छ । यो अवधिमा निर्वाचनलाई प्रभावित पार्ने कुनै पनि कार्यमा संलग्न नहुन निर्वाचन आयोगले सबैलाई आग्रह गरेको छ ।

मौन अवधिभर कुनै पनि प्रकारका अन्तरक्रिया, सम्मेलन, कार्यशाला, गोष्ठी वा निर्वाचनसँग सम्बन्धित छलफल वा सामूहिक मस्तिष्क मन्थन आदि गर्न नहुने निर्वाचन आचारसंहितामा उल्लेख गरिएको छ । मौन अवधि शुरू भएपछि कुनै पनि दल, उम्मेदवार भएका व्यक्ति, नागरिक समाज, मतदाता तथा सञ्चारमाध्यमहरूले समेत चुनाव प्रचार–प्रसार गर्न नपाउने निर्वाचन आयोगका प्रवक्ता शालिकराम पौडेलले जानकारी दिनुभयो ।

आयोगले मौन अवधिमा सामाजिक सञ्जालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसारका सामग्री पोस्ट वा सेयर गर्न वा सामाजिक सञ्जालमार्फत मत माग नहुने प्रावधान रहेको छ । त्यस्तै, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम प्रयोग गरेर मत माग्न र निर्वाचन प्रचार गर्नसमेत रोक लगाएको छ ।आयोगका प्रवक्ता पौडेलका अनुसार सामाजिक सञ्जालहरूबाट गरिएका प्रचार सामग्री हटाउन पनि राजनीतिक दललाई निर्देशन दिइएको छ । निर्वाचन सामग्री हटाए-नहटाएको तथा नयाँ प्रचार सामग्री राखे-नराखेको सम्बन्धमा निगरानी गर्ने जिम्मेवारी प्रहरी र सेनाको साइबर ब्युरोलाई दिइएको छ ।

आयोगले उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिन्ह अंकित पहिरन टोपी, स्टिकर, लोगो, झोलाजस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न वा प्रदर्शन गर्न पनि रोक लगाएको छ ।आयोगका अनुसार मौन अवधि शुरू हुनुभन्दा अगाडि मतदान केन्द्रको ३ सय मिटर वरपर राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारका सामग्री हटाउनुपर्नेछ । मौन अवधिमा सञ्चारमाध्यमले पनि उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन प्रसारण गर्न नपाउने आयोगले जनाएको छ । मौन अवधि लागू हुनु पूर्व मंगलबार राजनीतिक दल र उम्मेदवारले घरदैलो कार्यक्रमसँगै विभिन्न स्थानमा चुनावी सभा गरेर प्रचारप्रसार कार्यक्रम टुंग्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्