रसुवाका मतदान केन्द्रमा पुगे कर्मचारी



रसुवा । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि रसुवाका मतदान केन्द्रमा निर्वाचन सामाग्रीसहित कर्मचारी पुग्न थालेका छन् । मतदान गर्न समय चार दिन बाँकी छँदा हिँडेर जानुपर्ने स्थानका मतदान केन्द्रमा निर्वाचन सामाग्रीसहित कर्मचारी पुग्न थालेका हुन् ।

हालसम्म जिल्लाका १३ वटा मतदान केन्द्रमा निर्वाचन सामाग्रीसहित कर्मचारी पुगेको जिल्ला निर्वाचन कार्यालय रसुवाका निर्वाचन अधिकारी श्रीराम थापाले जानकारी दिए ।

गोसाईंकुण्ड गाउँपालिकाको लाङटाङ र नौकुण्ड गाउँपालिकाको १२ वटा मतदान केन्द्रमा निर्वाचन सामाग्रीसहित कर्मचारी पुगेको उनले बताए । सोमबार मतदान सामाग्रीसहित लाङटाङ हिँडेका कर्मचारी र सुरक्षा निकायको टोली मंगलबार पुगेका छन् ।

बाँकी मतदान केन्द्रमा निर्वाचन गराउन खटिएका कर्मचारीहरूले पनि निर्वाचन सामाग्री बुझ्न थालेको उनले बताए । मंगलबार बेलुकीसम्ममा निर्वाचन सामाग्री सहित कर्मचारी मतदान केन्द्रमा पुगिसक्ने उनले बताए ।

मतदान केन्द्रहरूमा पुगेका कर्मचारीहरूले मंगलबारबाटै निर्वाचनको आवश्यक प्रक्रिया सुरु गर्ने बताएका छन् । मतदान केन्द्रहरूमा सूचना टाँस गर्ने, चार किल्ला तोक्ने लगायतका गतिविधिहरू सुरु गर्ने भएका छन् ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि रसुवामा २ सय ५५ जना कर्मचारी खटाइएको छ । निर्वाचन गराउन खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई शनिबार र आइतबार तालिम प्रदान गरि खटाइएको हो । जिल्लामा ३४ वटा मतदानस्थल र ५१ वटा मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्