काठमाडौंका भित्री शहरका ११ वडाको एकैपटक पदयात्रा



काठमाडौं । 

काठमाडौं महानगरपालिकाका लागि नेकपा (एमाले) को मेयर पदका उम्मेदवार केशव स्थापित, उपमेयर पदकी उम्मेदवार सुनिता डंगोलसहितका उम्मेदवारहरूले शनिबार भित्री शहरका ११ वटा वडामा एकैपटक पदयात्रासहितको घर–दैलो कार्यक्रम गरेका छन् ।
नेकपा काठमाडौं महानगर कमिटीका अध्यक्ष निर्मल देउलाले भित्री शहरका १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ गरी ११ वटा वडामा एकै पटक पदयात्रासहितको घर–दैलो कार्यक्रम गरेको जानकारी दिनुभयो ।

हनुमानढोकास्थित कालभैरव नजिकैबाट शुरू भएको पदयात्रा वसन्तपुर, जैशीदेवल, लगन, भीमसेनस्थान, नरदेवी, असन, क्षेत्रपाटी, बाङ्गेमुढालगायतका स्थानसम्म पुगेको थियो । मतदाताले घर–घर, चोक–चोक र गल्ली–गल्लीमा पदयात्रामा सहभागी उम्मेदवारलाई स्वागत गरेका थिए । केही ठाउँमा सगुन खुवाएर विजयको शुभकामना पनि दिएका थिए ।
जैशीदेवल नजिकै पदयात्रासहितको -याली पुग्दा ७५ वर्र्षीया मोतीदेवी महर्जनले खुशी हुँदै मेयर–उपमेयर पदका उम्मेदवारलाई एकछिन रोकेर सगुनसहित जीतको शुभकामना दिनुभयो । नेवारी संस्कृतिको सगुन अर्थात् अण्डा, माछा, रक्सीसहितले मोतीदेवीलगायतको टीमले स्वागत गर्दा प्यालामा दिएको रक्सी अलिकति मुखमा राखेर मेयर पदका उम्मेदवार स्थापितले भन्नुभयो– ‘आमाको हातबाट सगुन खायौं अब जीत सुनिश्चित भयो ।’

छेवैमा रहेको उपमेयर डंगोलले पनि मेयर पदकै उम्मेदवार स्थापितको बोलीमा लोली मिलाउँदै भन्नुभयो– ‘म वडा–२१ कै मतदाता हुँ, यहाँका मतदाताले देखाएको अपार स्नेह र सद्भावले हामी थप उत्साहित भएका छौं । हाम्रो जीत सुनिश्चित छ ।’नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं महानगर निर्वाचन परिचालन निर्देशक समितिका संयोजक ईश्वर पोखरेलले उद्घाटन गरेपछि शुरू भएको पदयात्रामा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, नेकपा एमाले स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठ, प्रदेशसभा सदस्यहरू डा. अजयक्रान्ति शाक्य, राजेश शाक्यलगायत सहभागी हुनुभएको थियो ।

पदयात्रा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले मेयर र उपमेयरका उम्मेदवारले काठमाडौंलाई सुन्दर र समृद्ध बनाउने सपना बोकेको भन्दै उहाँहरूको सपना पूरा गर्न सूर्य चिह्नमा मतदान गरी एमाले तर्फका सबै उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभयो । उहाँले एमालेले उम्मेदवारहरूलाई घर–घरमा गएर एमालेका नीति, कार्यक्रम र उद्देश्यबारे बुझाउन पनि आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्