दुःखले कमाएको सम्पत्ति लहैलहैमा लागेर नडुबाऔं



सधैँ भीडभाड हुने मालपोत र यातायात कार्यालय केही समययता सामसुम भएको छ । घरजग्गा र गाडी किन्ने सर्वसाधारणको संख्या स्वाटै घटेपछि यी दुई कार्यालय रित्तिएको हो ।

जबसम्म बैंक, फाइनान्सले कर्जा दिएको थियो तब यी कार्यालयमा खुट्टा टेक्ने ठाउँ हुँदैनथ्यो । तर, अहिले वित्तीय संस्था आफैँ टाट पल्टिएको छ भने कर्जा प्रवाह गर्न सक्ने अवस्थामा छैन । जसका कारण मालपोत र यातायात सुनसान भएको बुझिएको छ । व्यक्तिसँग भएको पैसा घरमै लुकाउन थालिएको छ । वित्तीय संस्थामा लगेर पैसा जम्मा गर्ने शून्य बराबरमा झरेको छ । जसले गर्दा जग्गा र सवारीसाधन कारोबारमा मन्दी आएको हो । तीन महिनाअघि एउटा मालपोतमा दैनिक थुप्रै घरजग्गा नामसारी हुन्थ्यो तर अहिले तीन भागमा एक भाग पनि नामसारी नभएको बताइन्छ । जसले गर्दा राजस्वमा समेत ठूलो धक्का लाग्ने देखिन्छ ।

सास फेर्न भ्याइनभ्याइ हुने मालपोत र यातायातका कर्मचारी फुर्सदिलो भएका छन् । खाजा खानसमेत समय नहुने ती कर्मचारीहरु अहिले कामविहीन बनेका छन् । मालपोत र यातायातमा निवेदन लेख्ने लेखनदासहरुसमेत भौंतारिरहेका छन् । काम नपाएर उनीहरु शिथिल भएका छन् । कोही आइहाल्छन् भन्ने अपेक्षाले मलिन अनुहार पारेर बसेका छन् । छेउछाउ भएका खाजाघर, फोटो स्टुडियो, किराना पसलेको व्यापार पनि स्वाटै ओरालो लागेको छ । ग्राहक नै नभएपछि उनीहरुको व्यापारमा पनि मन्दी आएको हो । ग्राहकहरुको सहजीकरणका लागि खुलेका लेखनदासहरुको आम्दानी ठप्प भएको छ ।

आम्दानी नहुँदा अफिस भाडा तिर्न नसकेको उनीहरुको गुनासो छ । यता, घरजग्गा र सवारीसाधनको मूल्य घटेकाले प्रायजसो चिन्तित भएका छन् । बैंकबाट लिएको कर्जा कसरी तिर्ने होला ? भन्ने पीरले उनीहरुलाई पिरोलिरहेको छ । आफ्नो लगानी डुब्ने हो कि भन्ने डर उनीहरुको अनुहारमै देखिन्छ ।अहिले घरजग्गा बेच्ने यत्तिकै छन् तर किन्ने कोही पनि छैनन् । यता, मालपोतका कर्मचारीहरु अंशवण्डा गर्ने फाट्टफुट्ट मात्र मालपोतमा आउने गरेको बताउँछन् । जग्गा किनबेचकै लागि भनेर कोही नआएको उनीहरुको भनाइ छ । व्यावहारिक कुरा मिलाउने मात्र मालपोतमा आउने गरेको लेखनदासहरु बताउँछन् । घरजग्गाको किनबेच नै ठप्प भइसकेको छ, उनीहरुले भने । जग्गा दलालीहरु पनि कामविहीन भएका छन् ।

बीचमा बसेर पुलको काम गर्ने जग्गा दलालीहरु कमाइ नभएर रन्थनिएर हिँडेका छन् । पहिले पो यता र उता दुवैतिरबाट कमिनि खान पाइन्थ्यो । अहिले त कारोबार नै छैन, कहाँबाट कमिसन खानु ? ६ महिनाअघिसम्म एउटा घरजग्गा मिलाएबापत तीनदेखि १० लाखसम्म कमिसन खान्थे । तर, अहिले कमाइ नभएसम्म उनीहरुसँग चिया खाने पैसा पनि छैन । जग्गाका ठूल्ठूला कारोबारीहरु ऋण तिर्न नसकेर लुकेर हिँडेका छन् । जग्गा प्लानिङ गर्ने अहिले खोजेर पनि भेटिँदैनन् । केही महिनाअघि प्रतिआना एक करोडसम्म बिक्री भएको जग्गालाई २५ लाख लगानी गर्ने पनि कोही पनि छैनन् ।

जग्गाको मूल्य अझ घट्छ भनेर पैसा हुनेले समेत किन्न खोजिरहेका छैनन् । यता, अर्थविद्हरुले बैंकमा तरलता अझै लम्बिन सक्ने अनुमान लगाएका छन् । चुनावपछि मुलुक थप आर्थिक संकटको दलदलमा फस्ने उनीहरुको भनाइ छ । सर्वसाधारणले आफूसँग भएको पैसा वित्तीय संस्थामा लगेर राख्नेवाला छैनन् । बैंकसँग थप कर्जा लगानी गर्न सक्ने क्षमता छैन । त्यसैले, घरजग्गाको मूल्य अझ पनि घट्छ । बीचको केही वर्षमा घरजग्गाले राम्रो मूल्य पायो ।

बैंकले नाफा हुन्जेल घरजग्गामा जथाभावी लगानी ग-यो । तर, देशमा आर्थिक संकट देखिन थालेपछि वित्तीय संस्था आफैँ टाट पल्टियो । जसले गर्दा घरजग्गाको किनबेचमा कमी आयो भने बैंकलाई आफ्नो लगानी उठाउनसमेत हम्मेहम्मे परेको छ । घरजग्गा कारोबार फेरि उही गतिमा आउन अझ १० वर्ष लाग्ने आंशका गरिएको छ । बैंक र सहकारीलाई कडाइ गर्न नसक्दा जथाभावी लगानी गर्ने काम भयो । नेपाल राष्ट्र बैंक, सहकारी विभाग र अर्थ मन्त्रालय हातमा हात बाँधेर बस्दा मुलुक नै तहसनहस बन्यो ।पहिल्यै अंकुशे लगाइदिएको भए यसरी आँखा चिम्लेर लगानी गर्ने काम हुँदैनथ्यो । रातारात धनी बन्नका निम्ति बैंक र सहकारीले निकै गलत काम गरे । बुबाआमाले छोराछोरीलाई आफ्नो अधीनमा राखेनन् भने छोरीछोरी बिग्रिन्छन् ।

बैंक, फाइनान्सलाई सरकारले आफ्नो अधीनमा राख्न नसक्दा उनीहरु पनि गलत बाटो हिँडे । गलत बाटोमा हिँडिसकेको वित्तीय संस्थालाई अब सरकारले कसरी ट्रयाकमा ल्याउँछ ? बैंक र सहकारीले कर्जा उठाउन सकिरहेको छैनन् । उता, धितो लिलाम गर्नलाई किन्ने व्यक्ति पनि कोही छैनन् । मनलाग्दी कर्जा प्रवाह गर्दा बचतकर्ताहरु डुब्ने अवस्थामा आइपुगेका छन् । बचतकर्ताको रकम फिर्ता गर्न नसकेर किस्तामा लैजान आग्रह गरिरहेका छन् । राख्ने कोही छैन, निकाल्ने यत्तिकै छन् । हिजो बढी ब्याज दिन्छु भनेर प्रलोभन देखाई जनताको पैसा लियो । तर, अहिले फिर्ता गर्न सकिरहेको छैन । बजारबाट पैसा उठाउन नसक्दा सहकारीबाट खटाइएका जनप्रतिनिधिहरुको जागिर गइसकेको छ । सहकारीले सबैभन्दा बढी रकम उठाउने भनेकै बजारबाट हो । बजारबाट पैसा उठ्न छाडेपछि सहकारीहरु पनि बन्द हुने अवस्थामा आइपुगेका छन् ।

बैंक र सहकारीको कुल पुँजीको आधाभन्दा धेरै हिस्सा घरजग्गाले ओगटेको छ । घरजग्गाको मूल्य चर्किंदै जान्छ, हामी रातारात धनी बन्छांै भन्ने अंहकार सोचाइले आज उनीहरुलाई नै डुबाएको छ । बजार सधैँ एउटै दिशामा हिँड्दैन । आज बढेको सामानको मूल्य भोलि घट्न सक्छ भनेर वित्तीय संस्थाहरुले सोचेनन् । यस्तै पाराले अबको एक वर्षमा धेरै वित्तीय संस्थाहरु बन्द हुने निश्चित छ । सरकारले पाँच सय र दुई हजारको नोटमा प्रतिबन्ध नलगाउँदा अर्थतन्त्र थप जटिल हुने देखिन्छ । ठूला नोटमा प्रतिबन्ध लगाउने हो भने कालो धन सबै बाहिर आउँछ । उता, व्यक्तिले आफ्नो सिरानमुनि लुकाएर राखेको पैसा पनि बजारमा आउँछ ।

तर पनि, अर्थ मन्त्रालय र राष्ट्र बैंक गुपचुप बसेको छ । व्यापार घाटा बढेको र जनताले कर तिर्न छोडेको कुरा लुकाएर लुक्दैन । पहिले एक वर्षमा हुने व्यापार घाटा अहिले आधा वर्षमै हुन्छ । उता, सरकारी कर्मचारीको तलब र सेवासुविधा आधा कटौती गर्नुपर्ने बेला भएको छ । ज्येष्ठ नागरिकलाई दिने भत्तामा पनि अंकुशे लगाउने पो हो कि ?विदेशी ऋण झन् झन् बढिरहेको छ । ऋण लिएर तलबभत्ता, सरकारी गाडी र सेवासुविधा रोकौं । प्रत्येक दिन नेपालीको टाउकोमा ऋणको भारी थपिँदै गएको छ । अझै पनि ऋण लिएर तलबभत्ता दिने हो भने नेपाल नै नरहने दिन आउन सक्छ ।

अब जनता पनि चनाखो हुनुपर्छ । सरकारले गरेको गलत कामको विरोधमा जनताले औंलो उठाउनुपर्छ । च्याउ उम्रेजसरी वित्तीय संस्था खोल्न दिँदा लाखौं सर्वसाधारण सडकमा आउने भए । एक दर्जन वित्तीय संस्था भए पुग्ने ठाउँमा हजारौं खोल्ने अनुमति दिने सरकार हो । सरकारले गरेको गल्तीको भर्पाइ हामी नेपालीले भोग्नुपर्छ । आफ्नो खातामा भएको पैसा नपाउँदा बचतकर्ताहरुको ‘दिनको भोक र रातको निद्रा’ दुवै हराएको छ । बैंक र सहकारीले विश्वासनीयता गुमाइसकेको छ ।

होडबाजीमा खोलिएको वित्तीय संस्थाका कारण धेरैको उठीबास हुने कुरा छोपेर छोपिँदैन । बढी ब्याज दिने लोभमा नेपाली जनता नपरौं । ब्याजको लोभमा साहु नै जोखिममा पर्ला । घरजग्गा, शेयर र निजी सवारीसाधनको मूल्य बढ्छ भनेर जग्गा दलालीले फसाउन सक्छन् । उनीहरु आफू बच्नका निम्ति नयाँको खोजीमा छन् । आम नागरिक आफैंले पनि ख्याल गर्ने बेला आएको छ । रगत–पसिना गरेर कमाएको सम्पत्ति दलालीको पछाडि लागेर नडुबाऔं । डुबिसकेपछि त्यो फर्केर आउँदैन । त्यसैले, सबैजना यसमा होसियार रहौं ।

– अनुसा थापा, भक्तपुर ।

प्रतिक्रिया दिनुहोस्