कांग्रेसले धोका दिँदैन भन्ने सन्देश दिनुस् : प्रधानमन्त्री देउवा

0
Shares

विराटनगर । 

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्रीले गठबन्धन राष्ट्रिय आवश्यकता भएको भन्दै गठबन्धनमा आँच आउने गरी काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

नेपाली कांग्रेस मोरङले विराटनगरमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका देउवाले भन्नुभयो– ‘कांग्रेसले धोका दिँदैन भन्ने सन्देश दिनुस् । उचाल्ने–पछार्ने धेरै हुन्छन्, यस्ताको पछि नलाग्नू ।’ गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन उहाँले आग्रह गर्नुभयो । कांग्रेस नेतृत्वको सरकारले ६५ वर्षदेखि नै वृद्वभत्ताको प्रबन्ध गर्ने उहाँले बताउनुभयो । अन्तर्राष्ट्रिय स्टान्र्डर्डअनुसार उक्त व्यवस्था लागू गरिने देउवा बताउनुहुन्छ ।

नेपाली कांग्रेसका युवा नेता नागेश कोइरालालाई विराटनगर महानगरपालिकाको मेयरको टिकट दिएर यसपटक आफूले न्याय गरेको उहाँको कथन छ । देउवाले पार्टीमा लाग्दा ढिलो–छिटो न्याय हुन्छ भन्ने नागेशको सन्दर्भले पुष्टि हुने उल्लेख गर्नुभयो । ‘अघिल्लोपटक पनि नागेश मेयरको आकांक्षी थिए, त्यसपछि प्रदेश सांसदको पनि टिकट दिन सकिनँ’, देउवाले भन्नुभयो– ‘तर, यसपटक टिकट दिएर मैले नागेशमाथि न्याय गरेको छु । नागेशसहित गठबन्धनका उम्मेदवारले अत्यधिक मतले जित्नेछन् ।’

देउवाले नागेश र गठबन्धनबाट उपमेयरका उम्मेदवार अमरेन्द्र यादव दुवै जना युवा भएकाले विराटनगरवासीले चाहेअनुसार नै विकास हुने बताउनुभयो । उहाँले भन्नुभयो– ‘दुवै जना युवा हुनुहुन्छ, दुवै पढे–लेखेका र विराटनगरका लागि केही गरौं भन्ने सोच छ हुनुहुन्छ । त्यसो भएकाले उहाँहरूलाई भोट माग्न म तपाईंहरूका माझ आएको हुँ ।’ नेकपा एमालेको दम्भ र घमण्डलाई परास्त गर्न कांग्रेसहितका गठबन्धनका उम्मेदवारले जित्नुपर्नेमा देउवाको जोड थियो ।

सभामा वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन आग्रह गर्नुभयो । त्यस्तै, नेता डा. शेखर कोइरालाले आगामी प्रदेश र संघको चुनावलाई ध्यानमा राखेर स्थानीय तहमा कांग्रेसलाई जिताउनुपर्नेमा जोड दिनुभयो । ‘स्थानीय तहमा कांग्रेसले जितेन भने आगामी प्रदेश र संघको चुनाव जित्न निकै गाह्रो हुन्छ’, कोइरालाले भन्नुभयो– ‘त्यसो हुनाले विराटनगर मात्रै नभएर देशभर कांग्रेसलाई जिताउने अभियानमा लाग्न म सबैलाई आग्रह गर्दछु ।’

त्यसै गरी, सभामा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले घोषणापत्रमा नेकपा एमालेले अग्ला भवन र भ्युटावरलाई प्राथमिकतामा राखेको तर कांग्रेसले मान्छेलाई प्राथमिकता दिएको बताउनुभयो । त्यस्तै, नेता महेश आचार्य, डा. मीनेन्द्र रिजाल, केन्द्रीय सदस्य डा. डिला संग्रौला, अमृत अर्याल, भीम पराजुली, मोरङ कांग्रेसका सभापति डिकबहादुर लिम्बु, विराटनगरका मेयरका उम्मेदवार नागेश कोइराला, उपमेयरका उम्मेदवार अमरेन्द्र यादवलगायतले सम्बोधन गर्नुभएको थियो ।