काठमाडौंलाई धार्मिक मौलिकताको पहिचानसहित सुरक्षित नगर बनाउँछु : सिर्जना सिंह



भगवती तिमल्सिना, काठमाडाैं ।
स्थानीय निर्वाचनमा कानुनमा तोकिएको ३३ प्रतिशत महिलाको सिट सुनिश्चित हुनुपर्ने बिषयलाई गठबन्धनका नाममा ठुला राजनीतिक दलहरूले महिलाका कोटा नै हत्याएको गैह्र सरकारी संस्था महासंघका उपाध्यक्ष तुलसालत्ता अमात्यले बताउनुभयो ।

झन्डै ३ सय वटा गैरसरकारी संस्थाहरूको छाता संगठन गैह्र सरकारी संस्था महासंघ, संकल्प, महिला आयोग लगायतका संस्थाहरूले काठमाडौँ र ललितपुर महानगर पालिकाका महिला उम्मेदवारहरुलाई लक्षित गरी सोमबार महिला उम्मेदवारसित महिला सम्बन्धी अन्तर संवाद कार्यक्रममा उक्त भनाई राख्नुभएको हो ।

उहाँले काठमाडौँ र ललितपुरमा स्थानीय निर्वाचनका लागि उम्मेदवारी दिएका मेयर, उपमेयर, वडा अध्यक्षहरूलाई कार्यक्रममा सहभागी गराई महिला बलात्कार र हत्या, आमाको नामबाट नागरिकता पाउनुपर्ने कानुन छ व्यवहारमा उतार्न सक्ने कि नसक्ने ? नेपालमा जन्मिएका सयौँ दिदी बहिनीहरू मानव बेचबिखनमा परि भारतका कालकुठरीमा बसी भागेर नेपाल फर्किएता पनि उनीहरूको नेपाली भएको परिचय नागरिकता नबनेका विषय स्थानीय निर्वाचनमा उम्मेदवारी दिनुभएको महिलाले उठान गर्ने कि नगर्ने ? महिला हिंसाका विषयमा राजनीतिक पार्टीहरूले घोषणा पत्रमा के उल्लेख गरेका छन् र कार्यान्वयन कसरी गर्ने योजना छ भन्ने सवाल उठाउनुभएको थियो ।अन्तर संवादमा सहभागी उम्मेदवारहरुले महिला हिंसा, स्वदेशमै रोजगारी, महिला हिंसाका फैसला हुन बाँकी मुद्दा, जातीय, धार्मिक, सांस्कृतिक, पार्टीगत विभेदको अन्त्य, राजनीतिक संरक्षणका विषयलाई चुनाव जितेर पदभार सम्हालेपछि कसरी सम्बोधन गर्नुहुन्छ भन्ने विषय संवादको मूल एजेन्डा रहेको थियो

सोही अवसरमा टोखा नगरपालिकाबाट नेपाली कांग्रेसका तर्फबाट मेयरको उम्मेदवारी दिनुभएकी रजनी थापाले आफू उमेरले भर्खर ३० वर्षको भएको र यस अघि उपमेयरमा उठेको र अहिले मेयरमा उठेको बताउनुभयो । उहाँले आफू पेशागत रुपमा नर्स भएको र सुरुमा नर्सिङ सेवामा प्रवेश गरी पहिलो डिउटी सम्हालेकै दिन जन्मदिने बाबुद्वारा १० वर्षीय छोरीलाई बलात्कार गरी मृत्युको मुखमा पुराएर अस्पताल ल्याएको अवस्थामा उपचार गर्दादेखि महिला हिंसालाई कसरी न्यूनीकरण गर्ने भन्ने सोच ममा जागेको थियो ।

त्यसरी नै दोस्रो घटना एउटी आमाले छोरी जन्माएको खबर आफू नर्स भएको नाताले खुसी हुँदै हजुरबुबा, हजुर आमालाई सुनाउँदा उहाँहरू छिनभरमै बेपत्ता हुनुभयो, केही छिनमा बाबु बेपता हुनुभयो र अन्तमा एक घण्टा भित्र जन्म दिने आमा नै बेपत्ता हुँदा मेरो मनमा निकै नराम्रो छाप पर्‍यो र मैले छोरी भएर देशकै नीति नियममा सुधार गर्नुपर्ने देखेर राजनीतिमा होमिए भन्नुभयो ।म आफै महिला भएका कारण महिलाका ७० प्रतिशत हिंसा मध्ये पहिलो नम्बरमा रहेको घरेलु हिंसा, कानुनी परामर्श, निःशुल्क स्वास्थ्य सेवा कसरी दिलाउन सकिन्छ भन्ने बारेमा कानुनी बाटो खोज्नेछु थापाले भन्नुभयो ।

त्यसै गरी काठमाडौँ महानगरपालिकाका लागि नेपाली कांग्रेसका तर्फबाट मेयर पदका लागि उम्मेदवारी दिनुभएका सृजना सिंहले आफूले २०३३ सालमा नेपाली कांग्रेसको सदस्यता लिए देखि सक्रिय रूपमा कांग्रेसमा रहेर राजनीति गरेको र विवाह पश्चात् झनै राजनीतिको भण्डार घरकै बुहारी, श्रीमती भएर भित्रिएदेखि राजनीतिका अंश अंश केलाएको बताउनुभयो । उहाँले ससुरा गणेशमान सिंह र सासू मंगलादेवीका सुपुत्र प्रकाशमान सिंहसँग विवाह गर्न पाएर आफूले राजनीतिको विश्व विद्यालयमै हरेक दिन अभ्यास गर्दै आएको बताउनुभयो । सासुले ५ वटा बच्चालाई घरमा छोडेर राजनीति गर्दा जेल, नेल भोगेका घटनालाई प्रत्यक्ष अगाल्नुका साथै आफूले पनि विद्यार्थी राजनीति जीवन देखि नै हनुमान ढोकाको चिसो छिडीमा बिताएका क्षण ताजै छन् ।

मेरी सासू मंगला देवी सिंह नेपाल महिला संघको अध्यक्ष हुनुहुन्थ्यो उहाँको निधनपछि अहिले सम्म पनि म उक्त संघमा प्रमुख सल्लाहकारको भूमिकामा रहेर राजनीतिक जीवन बिताईरहेको छु । गोर्खामा जन्मिए काठमाडौँमा विवाह गरे । गाउँ देखि सहर र जिल्ला देखि केन्द्र सम्मको राजनीतिमा प्रत्यक्ष संलग्न भई आएको छु । राजधानीका महिलालाई राजनीति भनेको अँध्यारोको काग जस्तै भएको छ । मेरो उद्देश्य काठमाडौँका हरेक गल्लीमा हिँड्दा कुनै पनि महिलाले असुरक्षित महसुस गर्नु नपरोस । रोजगारीका लागि विदेश हैन हरेक वडामा कोसेली घर देखि सिपमूलक तालीम र कामको सृजना गर्ने योजना रहेको सिंहले बताउनुभयो । उहाँले सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्नुका साथै भूकम्प र कोभिडका कारण आर्थिक समस्यामा परेकाको पहिचान गरी आर्थिक उपार्जनका काममा लगाउने र आवश्यक सहयोग गर्ने लक्ष्य बनाएको बताउनुभयो ।

 

संविधानमा व्यवस्था भए अनुरूपका सेवा सुविधा दिनका लागि मैले मेयरको जिम्मेवारी पाएको दिन देखिनै लाग्नेछु । कला नै कलाको मौलिक पहिचान बोकेको काठमाडौँ महानगरपालिकालाई सुन्दर बनाउन युवा शक्तिलाई स्वदेशमै स्वरोजगारको व्यवस्था गर्छु । यति मात्र नभै श्रमिक महिलाहरूका बालबालिकाहरूका लागि दिवा सेवा सरकारी विद्यालयमा नै बनाएर काठमाडौँलाई शिक्षा, स्वास्थ्य, स्वरोजगार र सुरक्षित नगरपालिकाका रूपमा विकास गरेर देखाउँछु भन्नुभयो ।विवेकशील साँझ पार्टीबाट काठमाडौँ महानगरपालिकामा मेयरको उम्मेदवारी दर्ता गराउनुभएकी समीक्षा बास्कोटाले पनि काठमाडौँलाई विकसित, सुन्दर र हराभरा बनाउँदै महिला हकहितका विषयमा नमुना काम गरेर देखाउने बताउनुभयो ।

सोही अवसरमा काठमाडौँ महानगरपालिकाका उपमेयरका लागि विवेकशील साझा पार्टीका तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएकी कृति तुलाधर, काठमाडौँ महानगरपालिकामा उपमेयरका लागि राप्रपा नेपालबाट उम्मेदवारी दर्ता गराउनुभएकी विनीता मगैंया, ललितपुर उपमहानगरपालिकामा राप्रपा नेपालबाट उम्मेदवारी दर्ता गराउनुभएकी स्वकीयमा शाक्यले बोल्नुभएको थियो ।सोही अवसरमा नेकपा एमालेका तर्फबाट काठमाडौँ महानगरपालिकामा उपमेयरको उम्मेदवारी दिनुभएकी सुनिता डंगोलले पनि आफूले पार्टीको निर्देशन अनुसार काम गर्ने र महानगरपालिकालाई अझ सुन्दर बनाउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्