सरकारको दुईदिने बिदा कार्यान्वयन गर्न सकिँदैन

निजी शिक्षण संस्थाको एउटै स्वर



काठमाडौं । 

हप्तामा दुई दिन बिदा दिने निर्णय व्यावहारिक नभएको भन्दै निजी विद्यालयका तीन संस्थाले दुई दिन बिदा लागु नगर्ने जनाएका छन् । तर, शिक्षक महासंघले भने सरकारले गरेको निर्णय कार्यान्वयन गर्नुपर्ने बताएको छ ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले अव्यावहारिक बिदा कार्यान्वयन नगर्ने स्पष्ट पारेको छ । प्याब्सन र राष्ट्रिय प्याब्सन (एन प्याब्सन)ले सरकारको निर्णय कार्यान्वयन गर्न मुस्किल हुने जनाएको छ । प्याब्सनका अध्यक्ष डिके ढुंगानाले अव्यावहारिक विषयमा छलफल गरेर मात्र निर्णय गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘अधिकांश विद्यालयका विद्यार्थी हिँडेरै विद्यालय पुग्ने गरेका छन् । शहरका केही विद्यालयमा मात्र सवारी साधनको व्यवस्था देखिएको छ । त्यसैले इन्धन खपतकै कारण देखाएर दुई दिन बिदा दिन हुँदैन ।’ उहाँले दुई दिन बिदा दिँदा पठनपाठन, परीक्षालगायत सबै विषयमा समस्या पर्ने बताउनुभयो ।एन प्याब्सनका सहअध्यक्ष सुवास न्यौपानेले पाठ्यभारको विषयमा निर्णय नगरी दुई दिन बिदा दिने निर्णय गर्नु उचित नभएको धारणा राख्दै भन्नुभयो– ‘सरकारले यस्तो निर्णय गर्दा छलफल गरेर मात्र गर्नुपर्छ । हचुवाको भरमा सरकारी कार्यालयजस्तो शिक्षण संस्थाको मूल्याङ्कन गर्नु उचित हुँदैन ।’

हिसानका अध्यक्ष रमेश सिलवालले दुई दिन बिदाले विद्यार्थीको पढाइमा गम्भीर असर पार्ने ठोकुवा गर्दै सरकारको यस्तो अव्यावहारिक बिदा कार्यान्वयन नहुने स्पष्ट पार्दै भन्नुभयो– ‘हामी शनिबार बिदा दिन सक्छौं, दुई दिन सम्भव छैन । दुई दिने बिदाले सरकारले लागु गरेको पाठ्यभार पूरा हँुदैन र शैक्षिक सत्र सक्न पनि मुस्किल हुनेछ ।’सरकारले पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै सबै सरकारी निकाय र शिक्षण संस्था दुई दिन बिदा दिने निर्णय गरेको थियो । सो निर्णय यही जेठ १ गतेबाट लागु हँुदैछ । दुई दिन बिदाका कारण जेठमा लगातार चार दिन बिदा हुने भएको छ ।

नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरले सरकारले गरेको निर्णय कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । तर, अधिकांश सामुदायिक विद्यालयको सवारी साधन नभएको अवस्थामा इन्धन खपत गर्ने भन्दै बिदा दिनु ठिक हो त ? भन्ने प्रश्नमा उहाँले भन्नुभयो– ‘हामी छलफल त गरौंला तर महासंघको भनाइ सरकारको निर्णय कार्यान्वयन गर्र्नुपर्ने देखिन्छ ।’१ सय ८० दिन पढाउनुपर्ने व्यवस्थाको बारेमा उहाँले भन्नुभयो– ‘यो विषयमा सोचौंला । अधिकांश प्रधानाध्यापकले दुई दिने बिदा दिनु उचित नभएको धारणा व्यक्त गरेका छन् । के निर्णय गर्ने ? भन्ने विषयमा केही दिनपछि सोचौंला ।’ उहाँले बिहान चाँडै विद्यालय खोलेर कक्षा सञ्चालन गर्दा कुनै समस्या नपर्ने बताउनुभयो ।

अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारीले दुई दिने बिदाको विषयमा अभिभावकले मिश्रित धारणा व्यक्त गर्न थालेको बताउँदै भन्नुभयो– ‘पाठ्भार नघटाई बिदा दिँदा शैक्षिकसत्र पूरा गर्न समस्या हुन्छ । यस विषयमा छलफल गरेर मात्र निर्णय गर्नु उचित हुन्छ ।’ उहाँले दुई दिन बिदा दिने वा नदिने विषयमा निर्णय गर्न स्थानीय सरकारलाई जिम्मा दिनुपर्ने बताउनुभयो । शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाले सवारी साधन प्रयोग गर्ने विद्यालयको संख्या नगण्य मात्रामा रहेको र त्यसैको आधारमा इन्धन खपत बच्ने बहाना बनाएर बिदाको निर्णय गर्नु गलत भएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो– ‘सामुदायिक र ग्रामीण भेगका विद्यालयलाई दुई दिन बिदा दिनुको कुनै औचित्य छैन । उहाँले पाठ्यभार, परीक्षा र शैक्षिक सत्रलाई आधार मानेर मात्र बिदाको निर्णय गर्नु उचित हुनेछ । शिक्षा नियमावलीमा सामान्यतया एक शैक्षिक सत्रमा कम्तीमा २ सय २० दिन विद्यालय खुल्नैपर्ने र १ सय ८० दिन पठनपाठन हुनुपर्ने व्यवस्था छ ।विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ ले आधारभूत तह (कक्षा १—३) को वार्षिक कार्यघण्टा ८ सय ३२ र साप्ताहिक २६ पाठ्यघण्टा तोकेको छ । त्यसै गरी कक्षा ४–१० सम्म नै वार्षिक कार्यघण्टा १ हजार २४ र साप्ताहिक पाठ्य घण्टा ३२ तोकेको छ ।

सरकारले परीक्षणका लागि भन्दै जेठ १ गतेदेखि लागु हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शैक्षिक सत्र २०७९ मा ४३ दिन सार्वजनिक बिदा दिने निर्णय सरकारले गरिसकेको छ । गत फागुन २८ मै राजपत्रमा सूचना जारी गरी सरकारले २०७९ सालको बिदा सार्वजनिक गरिसकेको छ ।

यो वर्ष ५२ ओटा शनिबार परेका छन् । यसरी हेर्दा आइतबार पनि सोही संख्यामा पर्न आउँछन् । वर्षभरिमा सार्वजनिक बिदा १ सय ४७ दिन हुन जान्छ । यसबाहेक विद्यालयले हिउँदे र बर्खे बिदा ४५ दिन र स्थानीय पर्व बिदा ५ दिन गरेर ५० दिन बिदा गर्न पाउँछ । यो अवस्थामा दुई दिन बिदा पाएमा शैक्षिकसत्र करिब १ सय ६५ दिन मात्र हुने देखिएको छ ।

छलफल गर्दैछौं: प्रवक्ता शर्मा 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले शिक्षण संस्थालाई दुई दिने सार्वजनिक बिदा दिने निर्णयको विषयमा छलफल गरेर निर्णय गरिने बताउनुभयो । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘शैक्षिकसत्र जेठमा शुरू हुनेछ । केही दिन बाँकी भएका कारण छलफलकै क्रममा रहेका छाैं ।’

उहाँले सबै सरोकारवालासँग छलफल गरेर मात्र केही जानकारी दिन सकिने बताउँदै सरकारले गरेको निर्णय सबैले कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । शिक्षण संस्थाको हकमा फरक किसिमको निर्णय गर्नु आवश्यक रहेको जिकिर गर्दै उहाँले भन्नुभयो– ‘पाठ्यभार, शैक्षिकसत्र, परीक्षा प्रणालीलगायतका विषयमा अध्ययन गरेर मात्र निर्णय गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्