यौन हिंसा कि आर्थिक अनियमितता ?



काठमाडौं । 

नेकपा (एमाले) को तर्फबाट काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितलाई ‘महिलाप्रति अभद्र व्यवहार’ गरेको आरोप लगाएकी रश्मिला प्रजापतिलाई आर्थिक अनियमितता आरोप लगाइएको लिखत सार्वजनिक भएको छ । स्थापित पक्षधरहरूले सोमबार सामाजिक सञ्जालहरूमा २०६० श्रावण ३ गतेका बैठकको निर्णयको लिखत सार्वजनिक गरेका हुन्, जसमा कामपाका पूर्व कर्मचारी प्रजापतिमाथि आर्थिक अनियमितता आरोप लगाइएको छ ।

महानगरपालिकाका पूर्व मेयर स्थापितमाथि यौन हिंसाको आरोप लगाउँदै आएका प्रजापतिले आफूलाई जागिरबाट हटाइएको वास्तविक कारण ढाकछोप गरेको दाबी गर्दै आउनुभएको छ । तत्कालीन मेयर स्थापितले आफूलाई यौन प्रस्ताव राखेको र सो प्रस्ताव नमानेका कारण जागिरबाट हटाइएको उहाँको दाबी छ । तर, त्यतिबेला प्रजापतिले आफ्ना गाडी चालक र अन्य एक कर्मचारीलाई अपशब्द प्रयोग गरी गालीगलौज गर्नुका साथै अनियमित कार्यहरू गरेको भन्दै कर्मचारी युनियनले आन्दोलन गरेका थिए । त्यसै क्रममा उहाँलाई कारबाही गर्नुपर्ने माग राखी कर्मचारीहरूले चार दिनसम्म शहरको फोहोर उठाउन बन्द पनि गरेका थिए । यसै क्रममा आन्दोलनलाई साम्य पार्न आन्दोलनरत कर्मचारी र कामपा प्रशासनबीच २०६० श्रावण ३ गते बैठक बसेको थियो । सो बैठकको पहिलो निर्णय नै प्रजापतिलाई जिम्मेवारीबाट हटाउने भन्ने थियो ।

बैठकले प्रजापतिलाई तत्कालै हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमबाट हटाएर कामपाको अतिरिक्त समूहमा सरुवा गर्ने, निजबाट भए गरेका अनियमितताको छानबिन गर्ने र त्यसका लागि चार कर्मचारी संगठनका प्रतिनिधि २-२ जना र कार्यकारी अधिकृतले खटाएको २ जनासमेतको टोली गठन गरी छानबिन गर्ने र उक्त टोलीले १ हप्ताभित्र प्रतिवेदन बुझाउनुपर्ने निर्णय गरेको थियो । साथै छानबिनबाट देखिएको कसुरको मात्राअनुसार निजलाई कारबाही गर्ने निर्णय पनि बैठकले गरेको थियो । छानबिन समितिले दिएको प्रतिवेदनकै आधारमा प्रजापतिलाई २०६० कार्तिक ३ गते अवकाश दिइएको थियो । उहाँलाई दिइएको अवकाश पत्रमा तत्कालीन निमित्त कार्यकारी अधिकृत गोपालप्रसाद पराजुलीको हस्ताक्षर रहेको छ ।

यद्यपि, प्रजापतिले भने सो बैठकले गरेको निर्णय आफूलाई जानकारी नदिइएको र त्यस्तो निर्णय गर्नुअघि स्पष्टीकरण सोध्नुपर्नेमा त्यसो पनि नगरिएको बताउनुभयो ।प्रजापतिविरुद्ध कर्मचारीले आन्दोलन गर्दा, उहाँले गर्नुभएको कार्यबारे छानबिन समिति गठन गरिँदा र छानबिन कार्य अघि बढाइँदा स्थापित काठमाडौं महानगरपालिकामा मेयर हुनुुहुन्न थियो । स्थापित वि.सं. २०६० असोज १२ गते मनोनीत मेयरका रूपमा महानगरपालिका दोस्रोपटक प्रवेश गर्नुभएको थियो । मेयरका उम्मेदवार स्थापितले भन्नुभयो– ‘प्रजापतिलाई कारबाही गर्ने निर्णय म जानुभन्दा अघि नै भइसकेको थियो । त्यसको कार्यान्वयन मात्रै म गइसकेपछि गरिएको देखिन्छ ।’

स्थापित त्यतिबेला केवल ९ महिना मात्रै कामपाका मेयर हुनुभएको थियो । उहाँले २०६१ जेठ ८ गते मेयरबाट राजीनामा दिनुभएको थियो । यसअघि उहाँ २०५४ देखि २०५९ सम्म निर्वाचित मेयर हुनुहुन्थ्यो ।यही वैशाख १५ गते काठमाडौंको एक कलेजमा भएको कार्यक्रममा स्थापितलाई यौन दुव्र्यवहारसम्बन्धी प्रश्न सोधिएको थियो । प्रश्नकर्तालाई लक्षित गरेर स्थापितले दिएको आपत्तिजनक अभिव्यक्तिका सम्बन्धमा उजुरी परेपछि आयोगले स्पष्टीकरण सोधेको हो ।

मेरो गल्ती थिएन: रश्मिला प्रजापति

काठमाडौं महानगरपालिकाकी पूर्व कर्मचारी रश्मिला प्रजापतिले केशव स्थापितको निर्देशनमा २०६० सालको असारमा सम्पूर्ण सफाइ कर्मचारीलाई ३ दिनसम्म आन्दोलित गराइएको दाबी गर्नुभएको छ । नेपाल समाचारपत्रसँगको कुराकानीमा उहाँले भन्नुभयो– ‘सत्यतथ्य बाहिर आउला भनी मैले मेरो मातहतको जुन ड्राइभरलाई गाली गर्यो भनिएको थियो, त्यो ड्राइभरलाई आन्दोलनभर लुकाइयो । मैले आफैं राजीनामा गर्ला भनी मलाई बेइज्जत गर्न त्यस्तो गराएको थियो तर मेरो गल्ती थिएन । त्यसैले राजीनामा गरिनँ । पछि राजाको नियुक्तिमा दोस्रोपटक मेयर भएर आएपछि स्थापितले पहिलो निर्णयमै मलाई हटाएको हो ।’ उहाँले भन्नुभयो – ‘यदि मैले अनियमितता गरेको भए मलाई हटाइएको पत्रमा किन त्यो कुरा उल्लेख भएन ? किन त्यो बेला ममाथि केही कारबाही गरिएन ?’

स्थापितलाई आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले सोमबार काठमाडौं महानगरपालिकाका मेयर पदका उम्मेदवार केशव स्थापितलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।स्थापितले व्यक्त गरेका कतिपय शब्दहरूबारे आयोगमा उजुरी आएकाले त्यसअनुसार के भएको हो सोबारे २४ घण्टाभित्र स्पष्टीकरण दिन भनिएको आयोगका सहप्रवक्ता सूर्य प्रसाद अर्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्