एसियाली खेलकुदका लागि खेलाडी छनोट



काठमाडौं ।

एसियाली खेलकुदका लागि भारोत्तोलनबाट समान ८ पुरुष-महिला गरी १६ खेलाडीको प्रारम्भिक छनोट सम्पन्न भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् हातामा भएको छनोट प्रतियोगिताबाट पुरुष ६१ केजीमा नेपाल आर्मीका तुलाराम महतो, ६७ केजीमा नेपाल प्रहरीका प्रकाश केसी, ७३ केजीमा आर्मीका राजु चौधरी र कञ्चनपुरका अशोकसिंह भण्डारी, ८१ केजीमा कञ्चनपुरका विकास भट्ट, ९६ केजीमा प्रहरीका विशालसिंह विष्ट, १०९ केजीमुनि कञ्चनपुरका सुभाष उपाध्याय तथा १०९ केजीमाथि प्रहरीका सागर भण्डारी छनोट भए ।

नेपाल भारोत्तोलन संघद्वारा आयोजित प्रतियोगिताको महिला ४९ केजीमा प्रहरीकी संगीता राई र आर्मीकी मनीषा रानाभाट, ५५ केजीमा बाँकेकी सन्जु चौधरी, ६४ केजीमा आर्मीकी कमला श्रेष्ठ र आर्मीकै शारदा चौधरी, ७६ केजीमा प्रहरीकी जुनुमाया छन्त्याल, ८७ केजीमुनि प्रहरीकी तारादेवी पुन तथा ८७ केजीमाथि प्रहरीकी विद्या राई छानिए ।प्रतियोगितामा क्लिन एन्ड जर्क, स्न्याच र कुलमा गरी पुरुष-महिलामा ७–७ गरी १४ नयाँ राष्ट्रिय कीर्तिमान बने । पुरुषमा विकास भट्ट र सागर भण्डारीले एक–एक, विशालसिंह विष्टले दुई र सुभाष उपाध्यायले तीन कीर्तिमान बनाए । महिलामा सन्जु चौधरीले एक तथा तारादेवी पुन र विद्या राईले समान ३–३ राष्ट्रिय कीर्तिमान रचे ।

कुस्ती:
कुस्तीमा ७ पुरुष र ८ महिला गरी १५ खेलाडी पहिलो चरणलाई छनोट भएको छनोट समितिका संयोजकसमेत रहेका कुस्तीका पूर्व मुख्य प्रशिक्षक खगेन्द्रबहादुर बस्नेतले जनाएका छन् ।सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको छनोट प्रतियोगिताको पुरुष ८६ केजीमा आर्मीका आदित्यराज यादव, प्रहरीका दीपेश राउत कंकर र आर्मीका वीरेन्द्रसिंह साउद तथा ७४ केजीमा आर्मीका सुरेश चुनारा, प्रहरीका गंगाराम चमार, बाँकेका फजिल राउत अहिर र प्रहरीका धर्मेन्द्रप्रसाद यादव सफल भए ।महिला ६२ केजीमा आर्मीकी सुशीला चन्द, आर्मीकै निर्मला जागरी, कञ्चनपुरका कोमल खत्री र विमला सुनार तथा ५७ केजीमा आर्मीकी शिवाङ्गी दुवे, एपीएफकी अम्बिका भण्डारी, कञ्चनपुरकी मनीषा सिंह र आर्मीकी लक्ष्मी तामाङ पहिलो चरणमा प्रवेश गरे ।

ब्याडमिन्टन
चीनको हाङझावमा भदौ २५ देखि असोज ९ गतेसम्म हुने १९औं एसियाली खेलकुदका लागि भएको ब्याडमिन्टनको छनोट सम्पन्न भएको छ ।नेपाल ब्याडमिन्टन संघले वैशाख १५ गतेदेखि तीन दिन सम्म ललितपुरको रिभाईभ लिजर पार्कको कभर्डहलमा गरेको छनोटबाट उच्च १० वरीयता प्राप्त खेलाडीबाट पुरुष र महिलातर्फ ७, ७ खेलाडीको चयन गरेको संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले जानकारी गराए । उनले कोटा निर्धारणपश्चात् यही छनोट भएका खेलाडीबाट एसियाली खेलकुदका लागि वरीयताका आधारमा खेलाडी छनोट गर्ने जानकारी गराए ।

छनोट प्रतियोगिताबाट पुरुष तर्फ प्रथम स्थानमा विश्व जुनियर नम्बर १ खेलाडी प्रिन्स दाहाल रहेका छन् । यस्तै दोश्रो नम्बरमा नवीन श्रेष्ठ, तेश्रोमा प्रफुल महर्जन, चौथोमा राष्ट्रिय च्याम्पियन तथा पहिलो वरीयताका दिपेश धामी, पाँचौमा बिष्णु कटुवाल, छैटौँमा साजन कृष्ण ताम्राकार र सातांैमा सुदीप सेढाईं रहेका छन् ।यस्तै, महिलातर्फ राष्ट्रिय च्याम्पियन रशिला महर्जन पहिलो, नङ्गशल तामाङ दोश्रो, जेशिका गुरुङ्ग तेश्रो, अनुमाया राई चौथो, निता लम्साल पाँचौं, सुनयना मुखिया छैटौं र शोभा गौचन सातौं रहेका छन् ।

कराते
आगामी १९औं एसियाली खेलकुद (एसियाड) को बन्द प्रशिक्षणका लागि करातेका ३२ खेलाडी छनोट भएका छन् । लैनचौरस्थित टेबलटेनिस हालमा शनिबार सम्पन्न छनोटमा ८ इभेन्ट्समा सेमिफाइनल पुग्ने समान ४ खेलाडी एसियाडको बन्द प्रशिक्षणका लागि छनोट भएका हुन् । जसमा महिला र पुरुषतर्फ एकल काता र कुमुतेका ३ इभेन्ट्स रहेका थिए ।
१३औं सागका कुमुतेतर्फका स्वर्ण पदक विजेता विप्लभलाल श्रेष्ठ, नवीन रसाइली, सुनीता महर्जन, अनुपमा मगर, कुसुम खड्कालगायतका खेलाडी एसियाडका लागि छनोट भएका हुन् । छनोटमा ८४ केजी मुनि र माथीको तौल समूहमा विप्लवले, ७५ केजी मुनिमा नवीन विजयी भए । सुनीता महर्जन, कुसुम भने फाइनलमा पराजित भए ।अहिले छनोट भएका ३२ खेलाडी एसियाडको लामो सूचीमा पर्नेछन् । बन्द प्रशिक्षकपछि हरेक समूहका समान १ खेलाडी एसियाडका लागि अन्तिम छनोटमा पर्नेछन् । एसियाडको करातेमा नेपालले पुरुष र महिलातर्फ समान ४ इभेन्ट्समा भाग लिने बताइएको छ ।

महिलातर्फ एकल कातामा निर्मला तामाङ (पुलिस), चञ्चल दनुवार (पुलिस), सरु कार्की (पुलिस) र संगीता मगर (गण्डकी), ४०–४५ केजी सविना श्रेष्ठ (पुलिस), कुसुम खड्का (आर्मी), पर्सिया चौधरी (मधेस) र मिस्ली श्रेष्ठ (आर्मी) बन्द प्रशिक्षणमा परेका छन् ।यस्तै, महिलातर्फ नै५५–६१ केजी सोनी राई (पुलिस), एस्तर राई (एपीएफ), अर्मिला डीसी (पुलिस) र रोजिता ढुंगेल –बागमती), ६८ केजीमाथि सनी तामाङ (आर्मी), सुनीता महर्जन (पुलिस), विनिता श्रेष्ठ (बागमती), अनुपमा मगर (एपीएफ) पनि बन्द प्रशिक्षणका लागि छनोट भए ।पुरुषतर्फ एकल कातामा स्वर्णिम मानन्धर (एपीएफ) प्रवीण मानन्धर (आर्मी), महशुस मोक्तान पुलिस र यानुज महर्जन (बागमती), ६० केजीमा विजय श्रेष्ठ (एपीएफ), सोनाम लामा (पुलिस), सन्तोष श्रेष्ठ (बागमती) र साजन मोक्तान (पुलिस) बन्द प्रशिक्षणका लागि छनोट भए ।

यस्तै, ७५ केजी मुनि नवीन रसाइली (पुलिस), गंगाराम कुसवहा (पुलिस), ईश्वर धन राई (प्रदेश १) र प्रदीप घर्तीमगर (मधेश प्रदेश), ८४ केजी मुनि र माथि विप्लव लाल श्रेष्ठ (पुलिस), आशिष थापा (बागमती), रोजन खड्का (प्रदेश १) र विपिनराज सिंह दर्जी (आर्मी) बन्द प्रशिक्षणका लागि छनोट भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्