हेटौंडामा एमालेबाट पौडेल र काफ्ले, गठबन्धनबाट लामा र बानियाँ



हेटौंडा । 

सत्ता गठबन्धनका तर्फबाट हेटौंडा उपमहानगर मेयरमा मीना कुमारी लामा र उपमेयरमा राजेश बानियाँले उम्मेदवारी दर्ता गराउनुभएको छ । सोमबार दिउँसो करिब ३ बजे निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उहाँहरूले उम्मेदवारी दर्ता गराउनुभएको हो । सत्तारुढ दलबिचको सहमतिमा नेकपा (एकीकृत समाजवादी) बाट लामा मेयर उम्मेदवार बन्नुभएको हो भने नेपाली कांग्रेसबाट बानियाँ उपमेयर उम्मेदवार बन्नुभएको हो । सत्ता गठबन्धनबिच हेटौंडा उपमहानगरका वडा तहमा पनि तालमेलको प्रयास भएको छ । कतिपय वडामा गठबन्धनबिच तालमेल भएको छ भने कतिपय वडामा तालमेल हुन सकेको छैन ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले स्थानीय तह निर्वाचनका लागि हेटौंडा उपमहानगरमा मेयर/उपमेयरसहित १९ वटै वडाध्यक्ष र सदस्यको उम्मेदवारी दर्ता गरेको छ । एमालेका तर्फबाट उपमहानगर मेयरमा अनन्तप्रसाद पौडेल तथा उपमेयरमा सुमित्रा काफ्लेले उम्मेदवारी दर्ता गर्नुभएको हो । एमालेका तर्फबाट मेयरमा उम्मेदवारी दिनुभएका पौडेलको प्रस्तावकमा वर्तमान मेयर हरिबहादुर महत तथा समर्थकमा जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलाल हुनुहुन्छ । उपमेयर काफ्लेका प्रस्तावकमा एमाले नेतृ आरती पाठक तथा समर्थकमा सीता विष्ट हुनुहुन्छ ।

एमाले जिल्ला पार्टी कार्यालय हेटौंडाबाट र्‍यालीसहित उम्मेदवारी दर्ताका लागि उम्मेदवार तथा कार्यकर्ता मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । हेटौंडा उपमहानगरमा नेकपा एमालेले बहुदल प्राप्तपछिका सबै स्थानीय तहका निर्वाचनमा मेयर/उपमेयरमा जित हासिल गरेको छ । संघीयतापछि भएको स्थानीय तह निर्वाचन २०७४ मा पनि एमालेले माओवादी–कांग्रेस गठबन्धनलाई पराजित गर्दै मेयर र उपमेयरसहित १९ मध्ये १२ वडाका अध्यक्ष जितेको थियो । एमालेबाट मेयरमा हरिबहादुर महत तथा उपमेयरमा मीना लामा विजयी हुनुभएको थियो ।

यस पटक एमालेले दुवै नयाँ अनुहारलाई पाँच दलीय गठबन्धनविरुद्ध खडा गरेको छ । एमालेबाट मेयरका प्रत्याशी संविधानसभा सदस्यसमेत रहनुभएका पौडेल अनुभवी नेता हुनुहुन्छ । उहाँ एमाले मकवानपुरका पुराना तथा सङ्गठनमा भिजेका नेताका रूपमा चर्चित हुनुहुन्छ । एमालेले उपमेयरमा टिकट दिएकी काफ्ले युवा नेतृ हुनुहुन्छ । उहाँ हाल नेकपा एमाले जिल्ला सचिवालय सदस्य एवम् अखिल नेपाल महिला संघ जिल्ला अध्यक्ष रहनुभएको छ ।

हेटौंडा–१ नम्बर वडा अध्यक्षमा उत्तम प्रसाद पौडेल, २ नम्बरमा हरिबहादुर राउत, ३ नम्बरमा रामकुमार पुडासैनी, ४ नम्बरमा नवीन सिग्देल र ५ नम्बर वडामा सुशील घिमिरेले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

६ नम्बर वडामा विश्वराज राई, ७ मा राजन थापा, ८ मा बोलबहादुर कार्की, ९ मा लक्ष्मणप्रसाद भण्डारी र १० मा फुर्वा दोर्जे लामाले उम्मेदवारी दर्ता भएको छ । उपमहानगरको ११ नम्बर वडामा जुना दाहाल, १२ मा राजेश नगरकोटी, १३ मा पेम्बा लामा, १४ मा दीपक खड्का, १५ मा सुनिल मोक्तान, १६ मा बसन्तप्रसाद लामिछाने, १७ मा लक्ष्मण खुलाल, १८ मा अनिलकुमार बानियाँ र १९ मा नरनाथ सुबेदीले वडाध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपकबहादुर सिंहले हेटौंडा उपमहानगर मेयरमा उम्मेदवारी दर्ता गराउनुभएको छ । मनोनयन दर्ताको अन्तिम दिन सोमबार सिंहले राप्रपाबाट हेटौंडाको मेयरमा उम्मेदवारी दिनुभएको हो ।

कांग्रेसमा ‘बागी’ को लर्को
टिकट नपाएपछि हेटौंडामा कांग्रेसका युवाहरु ‘बागी उम्मेदवार’ बनेका छन् । हेटौंडा वडा नम्बर–२ मा कांग्रेसका युवा नेता सुदीप राजबाहकले वडा अध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएको छ । कांग्रेसका बागी उम्मेदवार उहाँले ‘स्वतन्त्र उम्मेदवार’ का रूपमा आफूलाई अगाडि बढाएको बताउनुभयो ।

निर्वाचन कार्यालय पुगी आफ्नो उम्मेदवारी दर्ता गराएको उहाँले बताउनुभयो । राजबाहक यसअघि कांग्रेसबाट एक मात्र वडा सदस्य निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ । युवामाझ लोकप्रिय नेताका रूपमा पछिल्लो समय राजनीतिमा होमिनुभएका राजबाहक कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारका रूपमा प्रस्तुत हुनुभएको हो । उम्मेदवारी दर्तापछि राजबाहकले वडा सदस्य हुँदा जनताको काममा निरन्तर लागिपरेको बताउँदै विकासका केही अधुरा काम पूरा गर्न अध्यक्षमा उम्मेदवारी दिएको बताउनुभयो ।

हेटौंडा–२ मा टिकटको विषयलाई लिएर विवाद बढेको छ । विवाद बढेसँगै कांग्रेसका ३ नेताले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसका तर्फबाट २ जनाले टिकट पाएपछि विवाद बढेको अवस्थामा अघिल्लो स्थानीय तह निर्वाचनमा वडा सदस्यमा निर्वाचित राजबाहकले उम्मेदवारी दिनुभएको हो । कांग्रेसले विष्णु गोपाल महर्जन र रवीन्द्र घिमिरेलाई टिकट दिएपछि विवाद बढेको थियो ।

दुवै जनाले आफू आधिकारिक उम्मेदवार रहेको दाबी गर्दै निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गर्नुभएको छ । टिकटको विषयलाई लिएर कांग्रेस हेटौंडा–२ मा लामो समयदेखि विवाद जारी थियो । करिब एक दर्जनले वडाध्यक्षको दाबी गरेपछि विवाद टुङ्ग्याउने जिम्मेवारी पार्टीको माथिल्लो निकायलाई दिइएको थियो ।

कांग्रेस नेता निरञ्जन दाहालले हेटौंडा–१६ अध्यक्षमा ‘बागी उम्मेदवारी’ दर्ता गराउनुभएको छ । कांग्रेसबाट वडाध्यक्षको टिकट नपाएपछि दाहालले वडाध्यक्षका लागि बागी उम्मेदवारी दर्ता गराउनुभएको हो । पार्टी गुटबन्दी र गलत बाटोमा हिँडेको बताउँदै दाहालले आफूले बागी उम्मेदवारी दिनुपरेको बताउनुभयो ।

जनप्रतिनिधिविहीन बन्यो वडा
थाहा नगरपालिका वडा नम्बर–२ का वडा अध्यक्षसहित पाँचै जना जनप्रतिनिधिले राजीनामा दिएपछि वडा जनप्रतिनिधिविहीन बनेको छ । थाहा–२ मा वडा अध्यक्ष गुप्त बहादुर कार्की र सदस्यहरू बमबहादुर सिन्तान, जानुका ढकाल, विष्णुबहादुर थापा र सिर्जना बिकले राजीनामा दिनुभएको हो । जनप्रतिनिधिविहीन भएपछिको अवस्थामा स्थानीय सरकार सञ्चालन ऐनबमोजिम पालिकाका एक कर्मचारीलाई वडाध्यक्षको कामकाज गर्न तोक्न सकिने व्यवस्था छ ।

बाहिरियो जसपा
हेटौंडा उपमहानगरपालिकामा ५ दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएको छ । हेटौंडाको मेयरमा जसपा नेपालका तर्फबाट मेयरमा दीपा लामा र उपमेयरमा हरिहर खतिवडाले उम्मेदवारी दर्ता भएसँगै गठबन्धनबाट जसपा बाहिरिएको हो ।

एमालेद्वारा पालिकाहरूमा उम्मेदवारी दर्ता
नेकपा एमालेले थाहा नगरपालिका मेयर र उपमेयरसहित वडा अध्यक्ष तथा सदस्यहरूमा उम्मेदवारी दर्ता गराएको छ । एमाले नगर इन्चार्ज विष्णुप्रसाद ढकालको प्रस्ताव र नगर सहइञ्चार्ज सुरेन्द्रमान प्रधानको समर्थनमा अच्युतम्प्रसाद ढकालले थाहाको मेयरमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

रीता ठकुरीको प्रस्ताव र उत्तम लामिछानेको समर्थनमा कल्पना बलामीले उपमेयरमा उम्मेदवारी दर्ता गराउनुभएको छ । सर्वदलीय बैठकमा सहमतिअनुसार एमालेले र्‍याली र नाराजुलुस नगरी शान्तिपूर्वक उम्मेदवारी दर्ता गराएको हो ।

एमालेले अधिकांश वडामा युवा उम्मेदवार खडा गरेका छ । १ नम्बर वडामा प्रदीप प्रधान, २ मा गुप्त बहादुर कार्की, ३ मा सुजनकुमार रायमाझी, ४ मा रामराजा केसी, ५ मा विष्णुबहादुर गुरुङ र ६ मा मनहरी भट्टले वडा अध्यक्षमा उम्मेदवारी दर्ता गर्नुभएको छ । वडा नम्बर–७ मा शम्भुबहादुर खत्री, ८ मा हेम थिङ, ९ मा रामकृष्ण बस्नेत, १० मा हीराबहादुर गमाल, ११ मा धनबहादुर गोले र १२ मा युवराज गोलेले उम्मेदवारी दर्ता गर्नुभएको छ । कुल ६२ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

मकवानपुरको मनहरी र कैलाश गाउँपालिकामा नेकपा एमालेले उम्मेदवारको मनोनयन दर्ता गरेको छ । पालिका अध्यक्षमा एकराज उप्रेती र उपाध्यक्षमा सुजिता थिङले मनोनयन दर्ता गराउँदा १ नम्बर वडा अध्यक्षमा भीमसेन अधिकारी, २ नम्बर वडा अध्यक्षमा निमा लामा, ३ नम्बर वडा अध्यक्षमा मानबहादुर बल, ४ नम्बर वडा अध्यक्षमा रविन ढकाल, ५ नम्बर वडा अध्यक्षमा किशोर बर्तौलाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

६ नम्बर वडा अध्यक्षमा गोपी लामा, ७ नम्बर वडा अध्यक्षमा नारायणसिंह घिसिङ, ८ नम्बर वडा अध्यक्षमा पुष्कर सुबेदी र ९ नम्बर वडा अध्यक्षमा लक्ष्मण उप्रेतीले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत पूर्णबहादुर दर्जीले बताउनुभयो ।

बागमती र इन्द्र सरोवरमा एमालेका उम्मेदवारद्वारा मनोनयन दर्ता गरिएको छ । नेकपा एमाले बागमती गाउँपालिकाले अध्यक्ष र उपाध्यक्षसहित सबै पदमा उम्मेदवारी दर्ता गरेको छ । अध्यक्षमा खेमराज जर्गामगर तथा उपाध्यक्षमा धनमाया स्यांतानसहित सबै वडाध्यक्ष र वडा सदस्यहरूले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

नेकपा एमाले इन्द्र सरोवर गाउँपालिकाले अध्यक्ष र उपाध्यक्षसहित सबै पदमा उम्मेदवारी दर्ता गरेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर एमालेका तर्फबाट अध्यक्षमा देवकृष्ण पुडासैनी तथा उपाध्यक्षमा उमाकुमारी लामासहित वडाध्यक्ष र वडा सदस्यहरूले उम्मेदवारी दर्ता गर्नुभएको हो । २०७४ को निर्वाचनमा इन्द्र सरोवरमा एमालेबाट जीवन लामा तथा उपाध्यक्षमा एमालेकी उमाकुमारी लामा विजयी हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्