डोटीमा माओवादी केन्द्र र एकीकृत समाजवादीबिच चुनावी तालमेल 


डोटी ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि डोटीमा नेकपा (माओवादी केन्द्र) र (एकीकृत समाजवादी) बिच तालमेल गर्ने सहमति भएको छ ।

दुई नगरपालिका र सात गाउँपालिकासहित नौ वटा स्थानीय तह रहेको डोटीमा नेकपा माओवादी केन्द्रले दिपायल सिलगढी नगरपालिका, सायल, आदर्श, केआइसिंह तथा बोगटान फुड्सिल गाउँपालिका गरी पाँच स्थानीय तह लिएको छ भने एकीकृत समाजवादीले शिखर नगरपालिका, जोरायल, बडिकेदार, पूर्वीचौकी गाउँपालिका गरी चार स्थानीय तह लिएको एकीकृत समाजवादीका जिल्ला अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिनुभयो ।

यसअघि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र तथा एकीकृत समाजवादीबिच गठबन्धन गर्ने निर्णय गरिएको भए पनि कांग्रेस कार्यकर्ताको विरोधपछि अहिले माओवादी केन्द्र र एकीकृत समाजवादीबिच गठबन्धन भएको माओवादी केन्द्रका डोटी जिल्ला अध्यक्ष शिवसिंह ओलीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सत्तारुढ दलबिच गठबन्धनका लागि गए राति सहमति भएको थियो, कांग्रेसका जिल्ला तहका नेता कार्यकर्ताले नमान्दा कांग्रेससँग सहमति भएन हामी दुई समाजवादी र माओवादीले गठबन्धन गरेर जाने निर्णय गर्‍यौँ ।”

डोटीमा नेकपा माओवादी केन्द्र तथा एकीकृत समाजवादीबिच सहमति भएपछि आफूले पाएका स्थानीय तहमा आजै उम्मेदवारी दर्ता गर्ने तयारी भएको एकीकृत समाजवादीका डोटी उपाध्यक्ष शिवराज खड्काले जानकारी दिनुभयो ।

उता सत्तारुढ दल नेपाली कांग्रेस भने डोटीमा एक्लै चुनावमा जाने भएको छ । डोटीमा कांग्रेस एकल रुपमा निर्वाचन जाने र नौवटै स्थानीय तहका लागि आजै उम्मेदवारी दिइने कांग्रेस जिल्ला सभापति नरेन्द्रबहादुर सिंहले बताउनुभयो ।  उहाँले भन्नुभयो, “कांग्रेस, माओवादी र एकीकृत समाजवादीबिच गठबन्धनका लागि निकै प्रयास गरेका थियौँ, विविध कारणले सहमति हुन सकेन, हामी एक्लै निर्वाचनमा जान्छौँ ।”

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।