सरकारी सेवाबाट टाढिँदै जनप्रतिनिधि



तनहुँ ।

स्थानीय तहको निर्वाचन हुन २४ दिनमात्रै बाँकी छ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै तनहुँका जनप्रतिनिधिहरुले उपयोग गरिरहेका सवारीसाधन फिर्ता गर्न थालेका छन् ।

जिल्लाका १० स्थानीय तहका जनप्रतिनिधिले सवारीसाधन फिर्ता नगरे पनि शुरुआत भने भएको छ । शुक्लागण्डकी नगरपालिकाका प्रमुखले आफूले प्रयोग गर्दै आएको सवारी सुविधा फिर्ता गर्नुभएको छ । आइतबार शुक्लागण्डकीका प्रमुख किसान गुरुङले प्रयोग गर्ने ग१झ ३२८ नम्बरको सवारीको चाबी प्रमुख प्रशासकीय अधिकृत लीलाबल्लभ न्यौपानेलाई हस्तान्तरण गरेसँगै सुविधाबाट टाढिनुभएको हो ।

आसन्न स्थानीय तहको निर्वाचन नजिकिएसँगै तनहुँमा आफूले चढ्दै आएको सवारी फिर्ता गर्ने नगर प्रमुख गुरुङ पहिलो जनप्रतिनिधि हुनुहुन्छ । नगर प्रमुखका रूपमा प्राप्त हुने तलबको आधा गरिब तथा सामाजिक सेवामा गुरुङले सहयोग गर्दै आउनुभएको थियो । उहाँले फेरि नगर प्रमुखमा दोहोरिनका लागि पार्टीमा आकांक्षा व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेस शुक्लागण्डकी नगर कार्यसमितिले नगर प्रमुखका लागि उहाँसहित १० जना आकांक्षीको नाम जिल्ला कार्यसमितिलाई सिफारिस गरेको छ ।

अब शुक्लागण्डकी नगरपालिकाको उम्मेदवार नभए पनि सरकारी सवारीको प्रयोग नगर्ने नगर प्रमुख गुरुङले उद्घोष गर्नुभएको थियो । निर्वाचन आचारसंहिता शुरु भएलगत्तै सवारी फिर्ता गर्न चाहे पनि कार्यालयको कामका कारण ढिलाई भएको उहाँले बताउनुभयो ।

‘निर्वाचनको मिति नजिकिएकाले अब नगरपालिकाको सवारी प्रयोग नगर्ने गरी फिर्ता गरेको छु, अब नगर प्रमुखको उम्मेदवार भए पनि नभए पनि नगरपालिकाको सवारीको सुविधा लिन्न ।’ –उहाँले भन्नुभयो । निर्वाचनको प्रक्रियामार्फत निर्वाचित भएर जनताको सेवक बन्ने अवसर पाएर सरकारले दिएको सुविधामध्ये सवारी सुविधा फिर्ता गरेको गुरुङले बताउनुभयो ।

त्यस्तै, शुक्लागण्डकी नगरपालिकाकी उपप्रमुख सविता रसाइलीले पनि आफूले लिँदै आएको सवारी सुविधा फिर्ता गर्नुभएको छ । उहाँले प्रयोग गर्ने ग१झ ८४९७ नम्बरको गाडी र चाबी प्रमुख प्रशासकीय अधिकृत लीलाबल्लभ न्यौपानेलाई सोमबार हस्तान्तरण गर्नुभएको छ । चुनाव केन्द्रित गतिविधिमा सामेल हुने भएकाले नगरपालिकाले दिएको सवारी उपयोग नगर्ने उहाँले बताउनुभयो । शुक्लागण्डकी–९ का वडाध्यक्ष लोकनारायण श्रेष्ठले पनि उपयोग गर्दै आएको सवारी सोमबार नै फिर्ता गर्नुभएको छ ।

नगर प्रवक्ता खिमबहादुर कुमाल र वडा नम्बर ४ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले पनि मोटरसाइकल फिर्ता गरेका छन् । जनप्रतिनिधिहरुले अब चुनाव केन्द्रित गतिविधिमा संलग्न हुने भएकाले सरकारी सवारी चढ्नु अनुचित हुने भएकाले फिर्ता गर्न थालेका हुन् । त्यसै गरी, भिमाद नगरपालिका–९ का वडाध्यक्ष इमानबहादुर थापाले आफूले प्रयोग गर्दै आएको सरकारी मोटरसाइकल फिर्ता गर्नुभएको छ । उहाँले उपयोग गर्दै आएको ग१ब १०६९ नम्बरको मोटरसाइकल प्रमुख प्रशासकीय अधिकृत टेकनाथ दाहाललाई फिर्ता गर्नुभएको हो ।

राजनीतिक दल, निर्वाचन केन्द्रित प्रचारप्रसारमा संलग्न हुनुपर्ने भएकाले पनि स्थानीय तहका जनप्रतिनिधिहरुले सवारी फिर्ता गर्न थालेका हुन् । निर्वाचन आयोगले आइतबार मात्रै निर्वाचन केन्द्रित कार्यमा सरकारी सवारी प्रयोग नगर्न अनुरोध गरिएको थियो । वैशाख ११/१२ गतेसम्म उम्मेदवारी मनोनयन गर्ने समय भएकाले केही जनप्रतिनिधिले भने उपयोग गरिरहेको सवारी फिर्ता गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्