तीन पालिकामा तालमेल, सातमा प्रतिस्पर्धा हुने



बैतडी ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बैतडीका ३ पालिकामा मात्रै चुनावी तालमेल हुने भएको छ । गठबन्धनमा रहेका दलहरूबीच सोमबार सदरमुकाममा भएको छलफलमा यस्तो निर्णय भएको हो । १० पालिकामध्ये ३ वटामा तालमेल र अन्य सात पालिकामा प्रतिस्पर्धा गर्ने सहमति भएको छ ।

यसअघि आइतबारको छलफलबाट २०७४ सालको निर्वाचनमा एमालेले जितेका ३ पालिकामा तालमेल गर्ने सहमति भएको थियो ।छलफलमा सहभागी नेपाली कांग्रेसका जिल्ला सचिव देवराज जोशीका अनुसार तीन पालिकामा भएको तालमेललाई राम्रोसँग कार्यान्वयन गर्ने र अन्य सातमा मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय भएको हो । उहाँले भन्नुभयो– ‘सहभागी सबै दलले बाँकी सात पालिकाको हकमा आ–आफ्नो अडान नछाडेपछि हाललाई प्रतिस्पर्धा गर्ने टुंगोमा पुगेका हौं । अझै सबैले आवश्यकता ठाने पालिकास्तरबाटै तालमेल हुन सक्छ ।’

यसअघि आइतबार भएको छलफलपछि डिलाशैनी गाउँपालिका, दोगडाकेदार गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा चुनावी तालमेल गर्ने सहमति गरिएको थियो । सहमतिअनुसार पञ्चेश्वरमा कांग्रेसलाई अध्यक्ष, समाजवादीलाई उपाध्यक्ष, दोगडाकेदार गाउँपालिकामा कांग्रेसलाई अध्यक्ष, माओवादीलाई उपाध्यक्ष र डिलाशैनी गाउँपालिकामा माओवादीलाई अध्यक्ष, कांग्रेसलाई उपाध्यक्ष दिने सहमति भएको थियो ।

सहमति भएका पालिकाका वडाको हकमा सम्बन्धित पालिकाका नेताहरुको रायअनुसार निर्णय लिइने बताइएको छ । छलफलमा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्द, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक शंकर भण्डारी, नेकपा एकीकृत समाजवादीका नेता परमानन्द भट्टलगायका नेताहरू सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्