कृषि गणनाको तयारी तीव्र



बैतडी (नेस) ।

बैतडीमा यही वैशाख ६ गतेदेखि शुरू हुने सातौं राष्ट्रिय कृषि गणनाको तयारी तीव्र पारिएको छ । गणनाका लागि बैतडीमा १२ सुपरीवेक्षक र ५० गणक गरेर ६२ जनाको जनशक्ति परिचालन गरिनेछ । परिचालन गरिने गणक तथा सुपरीवेक्षकका लागि सञ्चालन गरिएको छ ।

गत चैत २५ गतेबाट गणक तथा सुपरीवेक्षकको तालिम शुरू भएको र तालिममा गणना के कसरी गर्नेबारे अध्ययन गराइरहेका बताएका छन् । तालिमपश्चात् ४५ दिनसम्म हुने मूल गणनाको कार्य वैशाख ६ गते जेठ १९ सम्म हुने कार्यालय प्रमुख सुरेन्द्रप्रसाद पन्तले बताउनुभयो ।

गणनाअन्तर्गत जिल्लामा १४४ क्षेत्रमा कृषि गणना गरिने भएको छ । जिल्लामा दश स्थानीय तहमा रहेका ८४ वटै वडाका १४४ क्षेत्रमा गणना गरिने भएको जिल्ला कृषिगणनाका कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख पन्तका अनुसार सबैभन्दा बढी डिलाशैनी गाउँपालिकाका १७ स्थानमा कृषि गणना गरिने भएको छ । दोगडाकेदार गाउँपालिका, पुर्चौडी, दशरथचन्द, पाटन नगरपालिकाका १६, मेलौली नगरपालिका र सिगास गाउँपालिकाका १५, सुर्नया, पञ्चेश्वर गाउँपालिकाका १२ र शिवनाथ गाउँपालिकाका ९ स्थानमा गणना कार्य हुने जनाइएको छ । गणनाका क्रममा कृषकले भोगचलन गरेको जग्गाको आकार, जग्गाको उपभोग र उपयोग बाली लागेको जग्गाको क्षेत्रफल, मुख्य बालीको उत्पादन र सिँचाइको विवरण लिइने छ ।

यस्तै, कृषि सामग्री र औजारको उपयोग, पशुपन्छीको संख्या, आहारसम्बन्धी विवरण, कृषि कार्यमा संलग्न जनशक्ति, लिङ्गका आधारमा कृषि जग्गाको स्वामित्वको अवस्थाबारे गणकले तथ्याङ्क सङ्कलन गर्ने छन् ।

कृषि वन, कृषि ऋण, बिमा अनुदान, कृषि कार्यमा जलवायु परिवर्तनका प्रभाव, हरितगृह पद्धतिको प्रयोग माटो परीक्षण कृषि बजारसम्मको पहुँच, कृषि अवशेष र फोहोरको व्यवस्थापनजस्ता विषयमा तथ्याङ्क सङ्कलन गरिने कार्यालयले जनाएको छ । बैतडीमा चैत १ गतेबाट जिल्ला सदरमुकाममा जिल्ला कृषि गणना कार्यालयको स्थापना गरेर काम शुरू भएको थियो । नेपालमा २०१८ सालदेखि प्रत्येक दश वर्षमा कृषि गणना हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्