देश रहे मात्र अरु कुराको चासो



  • अच्युतप्रसाद पौडेल ‘चिन्तन’

देश रहे सबैको भलो हुने हो । देश नरहे बाँकी कुरा सबै निरर्थक हुन्छन् । देश भन्नु केवल माटो मात्रै होइन, मुटु पनि हो । ढिँडो, पीठो खाएर पनि स्वाधीनतामा रमाउनुपर्छ भन्ने हाम्रो पुर्खाको मान्यता हो, गौरव हो । वीर गोर्खाली भनेर आज नेपाल सर्वत्र चर्चित छ । आजको दुनो मात्र सोझ्याउन लाग्दा अतीत मात्र नमेटिएला, वर्तमान र भविष्य पनि जोखिममा पर्ला । आज युक्रेन गम्भीर मोडमा पुगेको छ । त्यसैले हाम्रो पुर्खाले असंलग्न परराष्ट्र नीतिको अवलम्बन गरेका हुन् । ठूला दुई देशका बीच भौगोलिक दृष्टिले अत्यन्त संवेदनशील भई हामी रहेका छौँ । समुद्रको बाटो हामीसँग छैन । पानीजहाज, मोनो, मेट्रो रेलको कथाले देश समृद्ध हुन्न ।

भएका सार्वजनिक सवारीसाधनको राम्रो व्यवस्थापन भएको छैन । प्रदूषण र दुर्घटनाका सिकार बनेका छौँ हामी । पूर्व–पश्चिम आफ्नै क्षेत्रमा रेल गुडाउन सकिएको छैन । देशमा अभावै अभाव छ । नाना, खाना, छानाको समेत अभाव छ । त्यसैले धेरै नेपाली खाडीमा पुगेका छन्, कतिको सपना अधुरो छ, सिउँदो पुछिएको छ, लालाबालाहरु भोकै रहने स्थिति छ । कूटनैतिक चातुर्यताविना नै देश एमसीसीको रडाकोमा मुछियो, सार्वभौम संसद्कै प्रयोग गरियो । सन्धि ऐन अनुसार यसको समर्थनको अनेक तानाबाना बुनियो । जबकि सन्धि ऐन अनुसारको प्रोटोकल पालना गरेको देखिएन ।

अमेरिका खुशी होला तर चीनको मन कुँडिनुहुन्न । पहिले भौतिक निर्माणको काम एउटा निर्माण कम्पनी जसलाई एनसीसीएन भनिन्थ्यो, उसले गथ्र्यो । आगलागीपछिको सिंहदरबारसमेत उसैले बनाएको हो । पुराना कुरा कथा बने, नयाँ–नयाँ चिन्तनमा छौँ हामी अहिले । बुटवल बनबासा खण्डको सडक निर्माण कार्य बाँकी थियो । ग्लोबल टेन्डरमा चीनले बनाउने गरी पास भयो । बोर्डरमै चीन आउने भयो भनी यो खण्डको बाटो पूरै भारतले त्यो पनि सित्तैमा बनाइदिने भन्यो । त्यति बेला चीनको मन कुँडियो । अहिले सित्तै बिजुली लाइन हालिदिन एमसीसीमार्फत अमेरिका आउने भयो ।

चीन र अमेरिकाको शीतयुद्ध छ । यसमा चीनको मन कुँडियो भने के अवस्था होला ? नेपालजस्तो कोमल भूमि सैन्य रणनीतिमा पुग्यो वा दुवैतिरको निशाना बन्यो भने यहाँको अवस्था के होला ? पछिल्लोपल्ट सैन्य रणनीतिमा नेपाल नपरेको सूची सार्वजनिक भए पनि दोधारे अवस्था भए के होला ? त्यसै पनि पछिल्लो राजनीतिक परिवर्तनसँगै देशले खर्चबर्च धान्न सकेको अवस्था छैन । यहाँको नेतृत्व वर्गमा नै फाटो छ । कम्युनिस्ट हौं भन्ने र खाँटी प्रजातन्त्रवादी हौं भन्नेहरु यहाँ धेरै छन् तर व्यवहारमा देखिन्नन् । विदेशी रिझाउन दुई जिब्रा भएका शेषनागहरुको पनि कमी छैन । आफैँ बोक्सी आफैँ झाँक्री भएको अवस्था छ । त्यसैले त देश गन्जागोलको अवस्थामा छ । एमीसीसीका विषयमा आन्तरिक कारणले बानेश्वर रणभूमि बन्यो ।

भोलि बाह्य कारणले देशै रणभूमि भयो भने कसले सम्हाल्ने ? स्वीकति, त्यो पनि संसद्बाटै दिइसकेपछि कसले रद्द गर्न सक्ला ? पहिले जानिएन, सम्झौता गरियो होला, अहिले जनविरोध भयो, बुझियो पनि, हामीले स्वीकार्न सकेनौँ भनिदिन किन नसकेको ? केहीबेर रिसाउँथ्यो होला, पछि ठीक भइहाल्थ्यो । काम नै नभई एमसीसीको नाममा लालपुर्जा आएको प्रचारमा आएको देखियो । यो के भएको हो अचम्म ? घर जल्दा छिमेकीले दमकल बोलाउनुपर्छ, ८ हजार माइल टाढाको महाशक्ति राष्ट्र कसरी आइपुग्ला ? १० बर्से जनयुद्धको परिणाम यही हो त ? सबै निराश छन् अहिले । प्रचण्ड जो आफूलाई महानायक भन्न रुचाउँथे, उनी आफैँ कहिले सूर्यको छहारी त कहिले रुखको छहारी खोज्छन्, दर्जनौं सुरक्षाकर्मीबीच रहेका उनी अहिले एमसीसीको छहारी खोजे र त सभामुखलाई टेबुल गर्न दिए ।

सबैलाई थाहा छ चीन कम बोल्छ, धेरै काम गर्छ, अब्बल छ ऊ सबै विषयमा । भारत, अमेरिका धेरै बोल्छन् । उत्तर कोरियाको स्थिति थाहा छ, अफगानी राष्ट्रपति घानी परिवार छोडेर भागे । अमेरिका महाशक्ति राष्ट्र हो । नजिकको भारत उदीयमान छ । हामीभन्दा कता हो कता अगाडि छ । पौँठाजोरी खेल्ने अवस्था छैन । त्यसैले नन् अलायन्मेन्टको अवधारणा आएको हो । एमसीसीले गर्दा अब दुई देश ध्र्र्रुवमा रहनुपर्ने अवस्था हुन्छ । राजनीति पनि त्यस्तै छ । पक्ष र विपक्ष हुँदाहुँदै देश धु्रवीकरणमा जान सक्छ ।

अहिले नै कमजोर भइसकेको छ । संघीयताले देश चिराफारा भएको छ, जातीय नारा छ, धर्म–संस्कृतिको पृथकताको आभास हुँदै छ । दल, नेता, कार्यकर्ता नै झन् विभाजित छन् अब, देश गृह युद्धतिर लम्कँदै छ । यसरी अहिले नै देशलाई छिन्नभिन्न गराउने, राष्ट्रिय एकतामा विष छर्ने काम विदेशीहरुले गरेका छन् । जनमत संग्रहविना नै संघीयता लादियो, धर्म निरपेक्षता भनियो । पछिल्लो संविधान तय गर्ने र यी कामका अगुवाहरु विदेशी हुन् । नेताजीहरु भूमिगत हुँदा विदेशीले पाले, हातहतियारको आपूर्ति गरिदिए र डिजाइन अनुसारको संविधान पनि तयार भयो । सत्तामा पुगे नेताहरु । सुशासन भनियो । संविधानमा मौलिक हक र मानव अधिकारको मनग्गे चर्चा भयो । देशको अर्थतन्त्र नाजुक छ अहिले ।

श्रम गर्नेहरु विदेश पछारिएका छन् । भूमि बाँझो र बिचौलियाको हातमा, शिक्षा, स्वास्थ्य त्यस्तै, अन्धकारको कालो चश्मा लगाएर समृद्धिको अलाप गरिँदै छ । नेताहरु सार्वजनिक बसका यात्रु प्रतीक्षालयमा बसेका देखिएका छन् । गन्तव्य स्पष्ट छैन । पहिले गाडी जतातिरको आउँछ, त्यतै जान तरखरमा छन् । एउटा सिद्धान्त, एउटा निष्ठा र नैतिकता अनि इमानदारिता छैन । कहिले कम्युनिस्ट भन्दै हातेमालो गर्छन्, समाजवाद भन्दै अरुको पछि पनि लाग्छन्, आफ्नो दलले हार्ला भनेर अदालतलाई समेत पकडमा राख्ने प्रयास गर्छन् ।

न्यायालयमा राजनीति, प्रशासनक्षेत्र, प्रहरी, संस्थान सबैतिर राजनीति । राजदूतदेखि सबै नियुक्तिमा भागवण्डा । संसद् एकै दलको कब्जामा, अध्यदेशबाट देश सञ्चालन, सार्वभौम संसद्मा सधैँ नाराबाजी, कहिले वर्ष दिनमै दुईपल्ट त्यो पनि कोमामा पुर्याइदिने अनेकानेक भएभरको खेलले विकास पछि परेको छ । जनता वाकदिक भएको अवस्था छ । अविधेशन र चुनावबाहेक नेताको अरु काम नै नहुने भएको छ । विकास खर्च गर्न सकिएन, बैँकहरुमा तरलताको अभाव छ, देशभित्र रोजगारी छैन, उद्योग कलकारखानाहरु रुग्ण भए, विदेशीले भात ल्याएर दिनुपर्ने अवस्था छ ।

थाहा छैन, विदेशीले बुट बजारे भने देशमा के होला ? सहायताको नाममा देश काबुल वा सिरिया भइदेला । थाहा छैन, देश महान् होला वा मसान, रोजगारी होला वा रुवाबासी । नेताहरु गाउँबेसी धाउनुभन्दा एम्बेसी धाउन व्यस्त छन्, घरघरै राजदूतहरु छिर्छन्, कति माया भएको यो देशप्रति ? कुनै बेला टिष्टा, काँगडा यतैको थियो, चम्पारण विहारको सुगौलीको सन्धिले शारदामा खुम्च्याइदियो । वारि–पारि भन्दाभन्दै कालापानी, लिपुलेकको हालत खराब छ, अधिकांश सीमा नाकामा समस्या छ । यता जनसंख्या थोरै उता धेरै, भूगोलको परिवेश यस्तो छ । देश भन्छ– महाकालीको स्रोत लिम्पियाधुरा हो, जहाँ छिमेकीले बाटो बनाउँदै छ । भारत भन्छ– लिपुलेक यताको मात्र हो ।

संविधानमा विदेशीले खेले बुच्चे नक्सा बनाएर, पछि नक्सा चुच्चे भयो तर कागजमा मात्र । आँखा–आँखा जुधाएर कुरा कसले गर्ने ? १२ बुँदेको सहाराले सिट पाइएको छ, गुम्ला भन्ने डर छ सबैको । अब त टाढाको सम्भ्रान्त देश पनि नजिक आइसक्यो, नेपालीको भविष्य के होला ? देशको चिन्ता कसले लिने, देशभक्तिभन्दा दलभक्ति बढी छ यहाँ । केही दलहरुले मिलिजुली काम गरेका भए त राम्रो हुन्थ्यो होला तर सधैँ पानी बाराबार छ । आफूलाई चाहिँदा यी एकै हुन्छन् पनि । सेवा–सुविधा, मस्ती मार्ने विषयमा एकै हुन्छन् । अघि–पछि मारामार छ । पिल्सिने नेपाली नागरिक हुन्, हिजो पनि पिल्सिने यिनै थिए, क्रान्तिमा भुटिने यिनै हुन् । नेताजीका स्वार्थका लागि हजारौँ शहीद भए, महँगीको मार, करको पीडामा छन् बाँकीहरु । बन्दुक उठाउने खाडीमा पुगे, अरु पुगे या बालुवाटार बा सिंहदरबार, शीतल निवास । जनता हिजोकै परिवेशमा छन् । बोलेर पेट भरिन्न, समृद्धिको यात्रा नाम मात्रको छ ।

घरका धारामा पानी आउँदैन, शहरमा फोहोर उठ्दैन, बाटो हिलो, सडक जाम, इन्धनको मूल्यमा आधाभन्दा बढी कर नै असुली गरिन्छ । आयात मनग्गे र निर्यात शून्यझैँ, हालत खराब छ यहाँको । ठूलाबडाले पढ्ने स्कुल बनाउन चीन आउँछ, पाटन–काठमाडौं जोड्ने पुल बनाउन भारत आउँछ । यहाँकाले असारे र डोजरे विकास गर्छन् । पाखापखेरीमा डोजर चल्दा भूमि पग्लेको छ, बस्ती उठेको छ । शहर गाउँतिर पसेको छ । सिंहदरबारको सिंहको नङ्ग्राले गाउँ चिथोरेको छ । यहाँ सुशासन सिकाउन कहिले डेनमार्क, नर्बे, स्वीडेन, अनि कहिले चीन आउनुपर्छ । मानव अधिकारको कुरा गर्न अमेरिका नै आउनुपर्छ । बिजुलीको खम्बा गाड्न कि त जापान आउनुपर्ने, कि अमेरिका ।

नेपालीले किन गर्न नसकेको ? विदेशीको बुई चढेर कति दिन खाने ? विदेशमा राखेको यहाँको पैसा नेपाल ल्याएर लगानी गर्न किन नहुने ? उपचार खर्च भन्दै राष्ट्रिय ढुकुटीमा किन हात हालेको ? महँगा गाडी किन चढ्नुपरेको, आलिसान महल किन चाहिएको ? भाइ, भतिजा, साला, सालीलाई पद किन दिनुपरेको, लोकतन्त्रको धज्जी उड्ने गरी मतपत्र च्यातेर पनि सत्ता किन चाहिएको ? यति सानो देशलाई ७ खण्डमा किन बाँडेको ? यतिका समय भइसक्दा पनि देशको मुहार किन नफेरिएको र मेलम्ची किन नआएको ? राजनीतिक स्थिरता र इमानदारिता, सुशासन र जवाफदेहिता, जिम्मेवारीबोध खोइ त ? देश रहे मात्र अरु कुराको चासो हुन्छ, मुलुक बचाउने कुरातिर किन ध्यान नगएको हो ?

प्रतिक्रिया दिनुहोस्