न्युज अफ नेपाल, पर्वत ।
पर्वतका पाँच वटा राजनीतिक दलहरूले जिल्लाका सबै सात वटै स्थानीय तहमा चुनावी तालमेल गर्ने निर्णय लिएका छन्। पर्वतका पाँच राजनैतिक दलले पत्रकार सम्मेलन गरेर चुनावमा साझा उम्मेदवार बनाएर जाने सहमति सार्वजनिक गरेका हुन ।
नेपाली काँग्रेसका सभापति युवराज जोशीको अध्यक्षतामा भएको पाँच दलीय गठबन्धनको बैठकले पालिका र वा तहमा नै साझा उम्मेदवार तय गर्ने सहमति गरेको नेपाली काँग्रेसका सभापति युबरा जोशीले बताउनुभयो । गठबन्धनले चुनावी तालमेल गर्न जिल्ला स्तरीय संयन्त्र समेत निर्माण गरेका छन् । संयन्त्रमा नेपाली काङ्ग्रेसबाट युवराज जोशी, नेकपा माओवादी केन्द्रबाट केशव कुँवर, नेकपा(एकीकृत) समाजवादीबाट मोतीप्रसाद पौडेल, जनता समाजवादीबाट ढाकाराम गौतम र राष्ट्रिय जनमोर्चाबाट गोविन्द पौडेल रहेका छन् ।
यसै गरी जिल्लामा मात्रै नभई सबै निर्वाचन क्षेत्र, पालिका र वडा तहमा समेत संयन्त्र बनाउने निर्णय पनि गठबन्धनमा सामेल दलहरूले गरेका छन् । यस्तो संयन्त्रमा सबै तहका सम्बन्धित पार्टीका प्रमुख वा प्रतिनिधि रहने व्यवस्था गरिएको छ । पर्वत जिल्लामा २०७४ सालको स्थानीय निर्वाचनमा जिल्ला समन्वय समिति सहित फलेबास नगरपालिका, मोदी, बिहानी र महाशिला गाउँपालिका तथा ६१ मध्ये ३७ वडामा एमाले विजयी भएको थियो । कुस्मा नगरपालिका, जलजला र पैंयु गाउँपालिका सहित २० वडामा नेपाली कांग्रेस विजयी भएको थियो । यस्तै माओवादी केन्द्रले भने ४ वडामा जित हासिल गरेको थियो ।
गठबन्धनमा सामेल दलहरूका बिचमा चुनावमा वडा तहमा तालमेल गर्ने निर्णय गरे पनि कार्यान्वयन गर्न भने कठिन देखिएको छ । नेपाली कांग्रेसले आफुले जितेका सबै पालिकाको नेतृत्व आफैले गर्ने तथा एमालेले जितेका पनि दुई पालिकामा दाबी गरेको छ । माओवादी केन्द्रले कम्तीमा दुई पालिका र अन्य पालिकामा उपमेयरको दाबी गरेको छ । भने एकीकृत समाजवादीले एक पालिकामा प्रमुख र दुई पालिकामा उपमेयरको दाबी गरेको छ । एकीकृत समाजवादीले फलेवासको प्रमुख मागेको छ भने माओवादीले मोदी, जलजला र पैंयुमा पालिकाको नेतृत्व पाउनुपर्ने दाबी गरेको छ । मोदीमा माओवादीलाई छाड्न र फलेवासमा समाजवादीलाई छाड्न काँग्रेसका केही नेताहरू सहमत भएपनि स्थानीय नेतृत्व भने कुस्मा, जलजला र पैंयु तथा फलेबास र बिहादीमा कुनै पनि हालतमा माओवादी वा समाजवादीलाई दुवै पद छाड्न तयार भएका छैनन् ।











प्रतिक्रिया