धनगढीलाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका लागि समिति गठन

0
Shares

काठमाडौं ।

सुदूरपश्चिम प्रदेशको कैलाली स्थित धनगढीको गेटा विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको विमानस्थल निर्माणका लागि गृह कार्य सुरु भएको छ । आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा मन्त्रालयमा बसेको एक बैठकले गेटा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका लागि आवश्यक सल्लाह तथा सुझाव सङ्कलन गर्न एक समितिसमेत गठन गरेको छ ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता डा टोकराज पाण्डेको संयोजकत्वमा गठन भएको पाँच सदस्य रहेको समितिमा मन्त्रालयका उपसचिव टेकनारायण पौडेल सदस्य सचिव तथा पर्यटन वोर्डका सिनियर निर्देशक हिक्मतसिंह ऐर, नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर निलविक्रम थापा र विशेषज्ञका तर्फबाट सुरेन्द्र बोहरा सदस्य रहनुभएको मन्त्रालयले जनाएको छ ।
उक्त समितिले गेटा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका लागि स्थलगत अध्ययन गर्ने तथा सो क्षेत्रमा रहेका स्थानीयवासी, नागरिक समाज लगायतसँग छलफलसहित परामर्श गरी प्रतिवेदन बुझाउने निर्णय भएको समितिका संयोजक डा पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त समितिले गेटा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका लागि सामाजिक, आर्थिक तथा प्राविधिक विषयमा विभिन्न निकाय, समाजसेवी तथा स्थानीयसँग छलफल गरी १५ दिनभित्रमा मन्त्रालयमा आफ्नो प्रतिवेदन पेस गर्नेछ । उक्त विमानस्थललाई क्षेत्रीयस्तरको विमानस्थल निर्माणका लागि यसअघि नै मन्त्री आलेले एक अर्ब रुपियाँ बजेट विनियोजन गरिसक्नुभएको छ ।