नेपाल बैंकको सर्वसुलभ आवास कर्जा योजना सार्वजनिक


काठमाडौं ।

नेपाल बैंक लिमिटेडले आफ्नो ९०औँ वार्षिकोत्सवको अवसरमा विशेष सुविधासहितको ‘नेबैंलि सर्वसुलभ आवास कर्जा योजना’ सार्वजनिक गरेको छ। बैंकले ९० दिनका लागि ल्याएको यस योजनामा आधार दरमा शून्य दशमलव पाँच प्रतिशत प्रिमियम ब्याजदरबाट कर्जा उपलब्ध गराउने जनाएको छ।

बैंकका अनुसार योजनाअन्तर्गत घर खरिद, घर निर्माण, मर्मतसम्भार तथा अपार्टमेन्ट खरिदका लागि कर्जा लिन सकिनेछ। कर्जाको अवधि अधिकतम २५ वर्षसम्म रहनेछ भने सेवा शुल्क शून्य दशमलव २५ प्रतिशत मात्र लाग्नेछ।

यस योजनाअन्तर्गत कर्जा लिने ग्राहकले पाँच लाख रुपैयाँसम्मको आजीवन निःशुल्क क्रेडिट कार्ड सुविधा प्राप्त गर्न सक्नेछन्। साथै, बैंकको लकर सुविधाको वार्षिक शुल्कमा ५० प्रतिशत छुटसमेत उपलब्ध गराइने बैंकले जनाएको छ।

बैंकले यो कर्जा योजना २०८३ कात्तिक १५ गतेदेखि माघ १५ गतेसम्म लागू हुने जनाएको छ। योजनाको अवधि ९० दिन रहनेछ।

नेपाल बैंक लिमिटेड आगामी कात्तिक ३० गते आफ्नो स्थापनाको ९०औँ वर्षमा प्रवेश गर्दैछ। सोही अवसरलाई लक्षित गरी बैंकले ग्राहकलाई आवास कर्जामा सहुलियत उपलब्ध गराउने उद्देश्यले योजना सार्वजनिक गरेको हो।

नेपालको पहिलो बैंकका रूपमा परिचित नेपाल बैंकले देशभरका २३१ शाखा, २५० एटीएम तथा ५८ विस्तारित काउन्टरमार्फत करिब ३० लाख ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ।

बैंकले आधुनिक बैंकिङ प्रविधिको प्रयोग, ग्राहक सेवामा सुधार र दक्ष जनशक्तिमार्फत देशभर वित्तीय सेवा विस्तार गर्दै आएको जनाएको छ।