चुनावअघि नै देशैभरका सुकुम्बासीले जमिन पाउने

सरकारले बाँड्न थाल्यो भूमिहीनलाई लालपुर्जा

0
Shares

सिन्धुली ।

देशैभरका सुकुम्बासीलाई चुनावअघि नै जमिन दिने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले बताउनुभएको छ । आइतबार सिन्धुलीको दुधौली नगरपालिका–९ लखिमा दोकानडाँडाका भूमिहीन दलित मुसहर समुदायलाई लालपुर्जा वितरण गरेपश्चात् उहाँले सो बताउनुभएको हो ।

प्रक्रिया मिलेका सबै ठाउँमा आगामी स्थानीय तहको चुनावको आचारसंहिता लाग्नुअघि नै लालपुर्जा वितरण गर्ने मन्त्री श्रेष्ठको कथन छ । आफू मन्त्री भएदेखि नै संविधानले मौलिक हकअन्तर्गत रहेका भूमिहिन सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको उहाँले बताउनुभयो । ‘संविधानमै लिपिबद्ध गरिएको भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेहरुलाई लालपुर्जा वितरण गर्ने यो सरकारको राष्ट्रिय प्राथमिकताको काम हो’, उहाँ भन्नुहुन्छ– ‘भूमिहीनलाई लालपुर्जा वितरण सिन्धुलीबाट शुरु गरेका छौं, चुनावअघि नै देशैभरका सुकुम्बासीले जमिन पाउँछन् ।’

प्रक्रिया मिलेका सबै ठाउँमा आगामी स्थानीय तहको चुनावको आचारसंहिता लाग्नुअघि नै लालपुर्जा वितरण गर्ने मन्त्री श्रेष्ठको कथन छ । उहाँले केपी ओली नेतृत्वको सरकारले तीन वर्ष सम्म लालपुर्जा वितरणको काममा सिन्को नभाँचेको आरोपसमेत लगाउनुभएको थियो ।

त्यस्तै, कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य गणेश पहाडीले भूमिहीनलाई लालपुर्जा वितरण अभियान शुरु गरेर सरकारले संविधानको सफल कार्यान्वयको लय पक्रेको बताउनुभएको थियो । त्यस्तै, यसअघिको सरकारले बनाएको भूमि आयोगले सुकुम्बासीको नाममा भ्रष्टाचार र स्रोत साधनको दुरुप्रयोग गरेको बागमती प्रदेशसभा सदस्य लेखनाथ दाहाल ‘राजन’को पनि आरोप छ ।

दुधौली नगरपालिका–९ लखीमा दोकानडाँडाका कुल १ सय ६ जना मुसहरलाई जमिनको स्वामित्वसहित लालपुर्जा वितरण गरिएको छ । वागमती प्रदेश सरकारले लखीमा दोकानडाँडामा गएको एक वर्षअघि एकीकृत बस्ती निर्माण गरी मुसहर समुदायहरुको बसोबासको व्यवस्था गरेको थियो । मुसहरबस्तीमा जमिनको भोगचलन गर्दै आएका दलित मुसहरहरुलाई न्यूनतम एक कट्ठादेखि पाँच कट्ठासम्म जमिनको स्वामित्व लालपुर्जा वितरण गरेको राष्ट्रिय भूमि आयोग सिन्धुलीका अध्यक्ष रामकुमार पौडेलले बताउनुभयो । सरकारले सोही मुसहरबस्तीमा बसोबास गर्दै आएका १ सय ६ जना मुसहर र सुकुम्बासीलाई लालपुर्जा वितरण गरेको हो ।

त्यसै गरी, ६७ वर्षको उमेरसम्म भूमिहीन भएर जीवन बिताएका लखिमा दोकानडाँडाका भोला सदा मन्त्रीको हातबाट लालपुर्जा पाउँदा हर्षले सीमा नाघेको बताउनुहुन्छ । उहाँ वागमती सरकारले बनाएको मुसहर बस्तीमा बस्दै आउनुभएको छ । ‘पाँच पुस्तासम्म पनि हामीले लालपुर्जा पाएनौं । तर, अहिले आएर लालपुर्जा पाउँदा निकै खुसी लागेको छ ।’ –उहाँले भन्नुभयो ।

६० वर्ष उमेरसम्म पनि आफ्नो नाममा एक टुक्रा जग्गा नभएकी सोही ठाउँकी फेकनी सदा पनि लालपुर्जा पाएपछि हर्षित हुनुहुन्छ । ‘हामीलाई जहिले पनि कहिले उठाएर कहाँ पठाउँछ भन्ने डर हुन्थ्यो’, उहाँ भनुहुन्छ– ‘हामीलाई मान्छेले तिमीहरुलाई यहाँबाट हटाउछ भन्थे तर अहिले लालपुर्जा पायौं । घर पनि बनाइदिएको यो सरकारलाई धन्यवाद छ ।’
वर्षौंदेखि बानीबुतो र ज्याला मजदुरी गरेर जीवन गुजारा गर्दै आएका उनीहरु जस्तै लालपुर्जा पाएका मुसहर समुदायका दलित मुसहरहरु हर्षित यतिखेर दंग छन् ।