तनहुँ ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जनप्रतिनिधिले अनावश्यक कुरामा खर्च गरेकाले बजेटको सही सदुपयोग हुन नसकेको बताउनुभएको छ । आइतबार बन्दीपुर गाउँपालिका–२ स्थित सिमलटार लिफ्टिङ खानेपानी आयोजनाको उद्घाटन गर्दै उहाँले अत्यावश्यक र उत्पादनमूलक क्षेत्रमा मात्रै बजेट खर्च गर्नुपर्ने बताउनुभएको हो ।
‘पहाडमा भ्यु टावर बनाउने र तराईमा गेट बनाउने होडबाजी जस्तै देखिएको छ । अग्लो ठाउँमा भ्यु टावर बनाउनुको अर्थ छैन भने गेट बनाउँदा जनताको हातमा आम्दानी हुँदैन, यस्ता कार्य आगामी दिनमा नर्गन विनम्र आग्रह गर्न चाहन्छु ।’ –कोइरालाले भन्नुभयो ।
भ्यु टावर बनाउन गरिने खर्च अस्पताल, विद्यालय, खानेपानीको लागि उपयोग गर्छौं भनेर अब चुनावमा उठ्दा प्रतिवद्धता जनाउनसमेत उहाँले सम्भावित उम्मेदवारहरूलाई आग्रह गर्नुभएको थियो । नेपाली समाज अहिले पनि पधेँरोको पानी भरेर डोकोमा बोकी घरमा पुर्याउने अवस्थामा हुनुभनेको विडम्बना भएको र यसले देश कस्तो अवस्थामा गुज्रिरहेको छ भन्ने सोचेर फजुल खर्च गर्न नहुने कोइरालाको भनाइ थियो ।
शिक्षा, अस्पताल, खानेपानी र सडक जस्ता जनतासँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्रमा विकास बजेट विनियोजन गर्न निरन्तर प्रयास गर्ने र त्यसका लागि आवश्यक सहयोग गर्ने उहाँको कथन छ । त्यस्तै, नेपाली कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईले देशको विकास गर्ने र विकासको नीति निर्माण गर्ने पार्टी नेपाली कांग्रेस भएको उल्लेख गर्दै देशको आम्दानी कम भएकाले अन्तर्राष्ट्रिय सहयोग जुटाउने र वैदेशिक रोजगारीको ढोका खोल्ने काम पनि कांग्रेसले नै गरेको बताउनुभयो ।
बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापा, नेपाली कांग्रेस बन्दीपुरका सभापति कर्णबहादुर खत्री, कांग्रेसका जिल्ला नेता प्रेमबहादुर बानियाँलगायतले विकासका लागि आग्रह र पूर्वाग्रही नगरी आवश्यकताको आधारमा हुनुपर्नेमा जोड दिएका थिए । आफूले भोट पाएको क्षेत्रमा मात्रै माया गरेर विकास र रोजगारीलाई प्राथमिकता दिने नगरी सबैलाई समेटेर विकास गरिनुपर्नेमा उनीहरुको जोड थियो ।
स्थानीयवासीको जनश्रमदान ३३ प्रतिशत र बाँकी संघीय सरकारको गरी १ करोड ५० लाख रुपियाँको लागतमा गिदेरी खोलाको पानी तानेर घर–घरै धारा वितरण गरिएको सिमलटार खानेपानी तथा सरससफाइ उपभोक्ता समितिका अध्यक्ष रोजन बानियाँले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँमा ८५ वटा धारा वितरण गरिएको र २४सै घण्टा पानी आउनेछ ।
त्यस्तै, स्थानीयवासी उजेली आचार्यले झोको ग्राग्री बोकेर बिहान झिसमिसे अँध्यारोमा नै उठेर पानी लिन जानुपर्ने बाध्यताको अन्त्य भएकोमा खुसी लागेको बताउनुभयो । पानीको अभावले बस्ती छाडेर जानेहरु बढ्दै गएको र हाल पानी अभावको समाधान भएकाले फर्कने क्रम शुरु भएको बानियाँले जानकारी दिनुभयो ।
कार्यक्रममा खानेपानीको बजेट विनियोजन गर्न पहल गर्नुहुने नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई, योजनाका लागि सहयोग गर्नुहुने खानेपानी तथा सरसफाई कार्यालयका इन्जिनियर वामदेव पौडेल र प्राविधिक टेकबहादुर थापा, जग्गादाता तुलबहादुर विक, टेकबहादुर कुँवर, नन्दलाल भट्ट, दिव्यज्योति निर्माण सेवाका दीपेन्द्र बस्नेतलाई सम्मान गरिएको थियो ।











प्रतिक्रिया