अपाङ्गले पाए घरमै परिचयपत्र

0
Shares

डोटी, (नेस) ।

डोटीको दिपायल सिलगढी नगरपालिकाले अशक्तलाई घरैमा र अन्यलाई वडा कार्यालयमा गएर अपाङ्गता परिचयपत्र वितरण गर्न थालेको छ । नगरपालिकाले घुम्ती शिविरको आयोजना गरी वडामै गएर परिचयपत्र वितरण गर्न थालेको हो ।

स्थानीय सरकारका जनप्रतिनिधिहरुले वडामै आएर अपाङ्गता परिचयपत्र वितरण गर्न थालेपछि आफूहरुलाई निकै राहत पुगेको दिपायल सिलगढी नगरपालिका–९ की स्थानीय तथा अपाङ्गता भएकी जुनकिरी साउदले बताउनुभयो । ‘अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र लिनका लागि निकै समस्या थियो, अहले वडा कार्यालयमै दिने व्यवस्था मिलाएकाले सहज भएको छ, दुःख पनि घटेको छ ।’ –उहाँले भन्नुभयो ।

शारीरिक तथा मानसिक रूपमा अशक्त भएका उक्त वडाका ५ जनालाई एकैसाथ वडा कार्यालयमै परिचयपत्र दिइएको वडाध्यक्ष धर्म साउदले जानकारी दिनुभयो । परिचयपत्र लिनका लागि अपाङ्गता भएका व्यक्तिलाई नगरपालिकासम्म आउने समस्या भएको जानकारी पाएपछि आफूहरुले कार्यालयमा गएर परिचयपत्र लिन नसक्ने अशक्तहरूलाई उनीहरूको घरमै गएर परिचयपत्र वितरण गरेको दिपायल सिलगढी नगरपालिका उपप्रमुख शिवराज खड्काले कताउनुभयो ।