मुगु, (नेस) ।
नेपाल सरकारले अभियानकै रूपमा देशभर आगामी २५ गतेदेखि वैशाख ८ गतेसम्म टाइफाइडविरुद्धको खोप दिने भएको छ । सो क्रममा दुर्गम मुगु जिल्लाका २८ हजार ७ सय ८३ बालबालिकालाई खोप लगाइने भएको हो ।
जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुको आयोजनामा जिल्ला सदरमुकाम गमगढीमा आयोजित जिल्लास्तरीय खोप समन्वय समिति र सञ्चारकर्मीको अभिमुखीकरण तथा अन्तरक्रियात्मक कार्यक्रममा आगामी यसका बारेमा जानकारी गराइएको थियो । मुगुमा २१ हजार १ सय १६ विद्यार्थी र ७ हजार ६ सय ६७ विद्यालय बाहिरका बालबालिका रहेका छन् । १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन लागिएको स्वास्थ्य सेवा कार्यालय प्रमुख उमेश गौतमले बताउनुभयो ।
बालबालिकालाई दिइँदै आएको नियमित १२ वटा खोपमा थप १ टाइफाइडविरुद्धको थपेर अबदेखि नियमित खोप दिइनेछ । राष्ट्रिय अभियानका बेला जिल्लाका १ सय ५८ विद्यालय र बाँकी स्वास्थ्य संस्था गरी जिल्लाभर १ सय ७० वटा खोप केन्द्रबाट खोप दिइने खोप सुपरभाइजर दीपक रावत बताउनुहुन्छ । उहाँका अनुसार स्थानीय तहअनुसार छायाँनाथ रारा नगरपालिकामा १० हजार ३ सय ३४ जना, मुगुम कार्मारोङ गाउँपालिकामा २ हजार ८७, सोरु गाउँपालिकामा ८ हजार १ सय ९८ र खत्याड गाउँपालिकामा ८ हजार १ सय ६४ जना बालबालिकालाई टाइफाइडविरुद्ध खोप लगाइनेछ ।
मुख्य गरी सरसफाइको कमी र झिँगाका कारण फैलिने टाइफाइडका बिरामी संख्या पछिल्लो समयमा बढ्दै गएपछि सरकारले अभियान नै चलाएर खोप दिन लागेको हो । अभियान सफल बनाउन सरोकारवाला सबै लाग्नुपर्ने र खोप लगाउन कोही पनि छुट्न नहुने प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत बताउनुहुन्छ ।
यो खोप शतप्रतिशत सफल रहेको र प्रतिलाखमा १ जनालाई सामान्य असर देखिन सक्ने बताइएको छ ।
लमजुङमा पनि टाइफाइडविरुद्ध खोप अभियान
आगामी चैत २५ गतेदेखि लमजुङमा टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । राष्ट्रिय कार्यक्रमअन्तर्गत १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकाका लागि टाइफाइड (म्यादे ज्वरो) विरुद्धको खोप अभियान जिल्लामा सञ्चालन हुने भएको हो ।
स्वास्थ्य कार्यालय लमजुङका अनुसार चैत २५ देखि वैशाख १८ गतेसम्म खोप अभियान सञ्चालन हुने भएको छ । सबै स्थानीय तहका खोप केन्द्रमार्फत १५ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकामा खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ । टाइफाइड ज्यानै जोखिममा पार्ने संक्रामक रोग हो । टाइफाइड रोगको जीवाणु स्वस्थ व्यक्तिमा दूषित खाना वा पानीको माध्यमबाट सर्दछ । यो रोग सवै उमेर समूहका व्यक्तिहरुमा लाग्ने भए पनि १५ वर्षमुनिका बालबालिकामा धेरै हुने गरेको तथ्यांकले देखाएको छ ।
टाइफाइड भएको अवस्थामा उच्च ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, पसिना आउने र जिब्रोमा समेत सेतो लेत लाग्ने स्वास्थ्यर्कीहरुले बताएका छन् । चिकित्सकका अनुसार टाइफाइड भएको अवस्थामा कसैकसैलाई पेट दुख्ने, पखला लाग्ने, वाकवाकी लाग्ने, भोक नलाग्ने, शरीरमा रातो बिमिरा आउने जस्ता लक्षण पनि देखिन्छन । टाइफाइड भएपश्चात् केही व्यक्तिमा शरीरका विभिन्न भागमा संक्रमण फैलने, सानो आन्द्रामा घाउ हुने, प्वाल पर्ने र मस्तिष्कसम्वन्धी जटिल समस्यासमेत हुन सक्ने चिकित्सकको भनाइ छ ।
अभियानका क्रममा १५ महिनादेखि १५ वर्ष उमेर समूहमा परे पनि यसअघि खोप लगाउँदा गम्भीर समस्या देखिएका वा एलर्जी भएका व्यक्तिहरुले टाइफाइडविरुद्धको खोप नलगाउन स्वास्थ्यकर्मीहरुको सुझाव छ । सोबाहेक एचआईभी एड्सका लक्षण भएका, खोप लगाउने बेला उच्च ज्वरो आएको वा सिकिस्त भएका बिरामीहरुले पनि उक्त खोप लगाउन नहुने चिकित्सकहरुको भनाइ छ ।
सरकारले पहिलापटक टाइफाइड खोप अभियान–२०७८/७९ सञ्चालन गरेको हो । खोप अभियान शुरु गरेसँगै सरकारले टाइफाइड विरुद्ध नियमित खोप सेवासमेत प्रवाह गर्ने भएको छ । यसअघि १५ महिना पुगेका बालबालिकालाई दिँदै आएको दादुरा रुवेलाविरुद्धको खोपसँगै टाइफाइडविरुद्धको खोप पनि नियमित दिने भएको हो ।











प्रतिक्रिया