पाथीभरा दर्शनार्थीलाई राष्ट्रिय फूलको स्वागत

0
Shares

ताप्लेजुङ ।

फराकिलो पदर्माग । दायाँ–बायाँ छन् राताम्य राष्ट्रय फूल लालीगुराँस । फुलेको गुराँसको रस चुस्न झुमिएको अनेक थरीका चरा अनि मौरी । ती चराका आवाजले संगीतमय यात्रा । यो दृश्य हो पाथीभरा मन्दिर जाने पदमार्गको ।

ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा जाने पदमार्गमा कुनै विशिष्ट व्यक्ति वा दुलाहीको स्वागत गर्नका लागि बसेको जस्तै अहिले पदर्मागको दायाँ–बायाँ विभिन्न प्रकारका लालीगँरासका फूलले सजिएको छ । गाडीबाट ओर्लिने बितिकै मनमोहक राष्ट्रिय फूल लालीगुराँसको स्वागतले तीर्थयात्रीले एक प्रकारको ऊर्जा प्राप्त गर्दछन् । फागुनको अन्त्यतिर कोपिला लाग्न शुरु हुने लालीगुराँस माघदेखि नै फुल्न थालेको छ । मौसम परिवर्तनको असरका कारण यस वर्ष चाँडै गुराँस फुल्न थालेको स्थानीयबासी बताउँछन् ।

पाथीभरा जाने पदर्मागमा ढकमक्क गुराँस फुलेपछि तीर्थयात्रीको पनि संख्या बढ्दै गएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । ढकमक्क फुलेको लालीगुराँस देख्दा सबैको मन लोभ्याएर आनन्दित तुल्याउने गरेको छ । आजकल म त लालीगुराँस भएछु वनैभरि फुलिदिन्छ, गुराँस फूल्दा वनै रामाइलो, कोइली बोल्दा वनै रामाइलो, गुराँसको फेदमुनि, टिप्नु हुन्न फूल जस्ता गीतहरु गुनगुनाउँदै पाथीभराको दर्शन गर्न जाने र फर्कने तीर्थयात्री बाटोमा प्रशस्त भेटिन्छन् ।

विशेष गरी नवरात्रको समयमा पाथीभरा क्षेत्रमा पूजापाठ गर्ने गरिन्छ । यसै समयमा प्राकृतिक सुन्दरतासँगै विभिन्न प्रजातिका गुराँस फुल्न थालेकाले पाथीभराको दर्शनसँगै गुराँस फुलेको मनोरम दृश्यको अवलोकन गर्न सकिने भएकाले पाथीभरा क्षेत्रमा तीर्थयात्रीको भीड बढेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताउनुभयो । गत शनिबार मात्र ६ हजार ८ सय ७७ जना तीर्थयात्री पाथीभरा क्षेत्रमा पुगेको उहाँको भनाइ छ । त्यस्तै, आइतबार ३ हजार ८ सय तीर्थयात्रीले पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गरेका थिए ।

नेपालमा पाइने ३२ प्रजातिका गुराँसमध्ये पाथीभरा क्षेत्रमा मात्र २६ प्रजातिका पाइने पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । विश्वमा दुर्लभ वन्यजन्तु रेडपाण्डाको बासस्थान पाथीभरा क्षेत्रमा पर्दछ । कालो भालु, मृग, घोरलका साथै नेपालमा मात्र पाइने काँडेभ्याकुर, कालिज, नेपालको राष्ट्रिय पन्छी डाँफेलगायत पन्छी पनि उहाँ छन् ।

पर्यटन मन्त्रलयको आर्थिक सहयोगमा पाथीभरा क्षेत्रमा गुराँस उद्यान क्षेत्रको घोषणसमेत गरिएकाले गुराँसको संरक्षण गर्ने काम भइरको छ । यस क्षेत्रमा सुनपाती, रातो चिमाल, चियाफुले गुराँस, नीलो चिमाल, पहेंलो चिमाल, जुँगे चिमाल, सानो चिमाल, लहरे चिमाल जातका गुराँस पाइन्छ । यस्तै, कोर्लिङ, चिमाल, ठेकी झार, प्रजातिका गुराँस पाइन्छ । यस क्षेत्रमा पात्ले कोर्लिङ, सेतो चिमाल, गुलाबी कोर्लिङ जस्ता प्रजाति पनि रहेका छन् ।