विकटका जनप्रतिनिधिले त्यागे सरकारी सुविधा

0
Shares

हेटौंडा (नेस) ।

आगामी निर्वाचनमा दोहोरिन सक्ने सम्भावित जनप्रतिनिधिले कार्यकालको अन्तिमतिर आउँदै गर्दा आफूहरुले पाउँदै आएको सरकारी सुविधा त्यागेको घोषणा गरेका छन् । मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाका जनप्रतिनिधिले वडा–९ स्थित गैजुराङमा शनिबार अन्तिम कार्यपालिका बैठक बस्दै जनप्रतिनिधि भएबापत् आफूहरुलाई प्राप्त सरकारी सवारी तथा तलबभत्ता त्याग गरेको घोषणा गरेका हुन् ।

पालिका अध्यक्ष, उपाध्यक्ष, ९ वटै वडाका अध्यक्ष, कार्यपालिका सदस्यसहित बैठकले आफूहरु अब आ–आफ्नो पार्टीको चुनाबी प्रचार–प्रसारमा व्यस्त हुनुपर्ने भएकाले नैतिकताका आधारमा सरकारी सुविधा त्याग गरेको घोषणा गरेका हुन् । सरकारले वैशाख ३० गतेका लागि स्थानीय तह निर्वाचन मिति घोषणा गरेसँगै दलहरुमा निर्वाचनको चटारो शुरु भइसकेको अवस्थामा जनप्रतिनिधिले यस्तो निर्णय गर्नुलाई अर्थपूर्णरूपमा लिइएको छ ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट विजयी अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष निर्मला हिमडुङसहित कांग्रेस र अन्य दलबाट निर्वाचित वडाध्यक्ष र कार्यपालिका सदस्यबीच अन्तिम कार्यपालिका बैठकमा एकअर्कालाई फूलमाला र अबिर लगाएर बिदाबारी भएका थिए ।

‘हामी राजीनामा दिएर पनि चुनावमा होमिन सक्थ्यौं । तर, त्यसो गर्दा जनताका काम प्रभावित हुने देखिएकाले कार्यालयबाट हुने जनताको काम गर्ने तर, सरकारी सुविधा त्याग गर्ने निष्कर्षमा पुगेका छौं’, पालिका अध्यक्ष मल्लले भन्नुभयो– ‘अर्कोपटक पनि पार्टीले टिकट दिए तथा जनताले पत्याए पुनः पालिकाको कामकारबाही सम्हाल्न दिए पुनः दोहोरिन सक्छौं ।’

करिब ५ वर्षसम्म सँगै यात्रा गर्दा कार्यपालिका सदस्यहरुबाट धेरै सहयोग प्राप्त भएको र आफूहरुले सोचेभन्दा धेरै काम गर्न सफल भएको अध्यक्ष मल्लले स्मरण गर्नुभयो । ‘हामी फरक पार्टीबाट निर्वाचित भएर आएका थियौं । फरक पार्टी र फरक विचार हुँदा काम गर्न अप्ठेरो भएका अन्य स्थानीय तहका धेरै उदाहरण छन् । तर, हाम्रोमा कुनै दिन त्यस्तो विवाद भएन । जनताको काममा हामी एक मन भएर लाग्यौं ।’ अध्यक्ष मल्लले आफ्नो कार्यकाल सफल बनाउन भूमिका खेल्ने सबै क्षेत्रका व्यक्तित्व र संघ–संस्थाप्रति धन्यवाद र आभार व्यक्त गर्नुभयो ।

बैठकमा पालिका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले जनप्रतिनिधिलाई बिदाइ गर्दै आगामी निर्वाचनबाट जोसुकै निर्वाचित भएर आए पनि कानुन, विधि र प्रक्रियामा रहेर आफूहरु सहयोग गर्न तयार रहेको बताउनुभयो ।